+
+
Shares

अब पञ्जीकरण विभागको विवरणबाट मतदाता नामावली अद्यावधिक गर्न सकिने

व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणालीको विवरण उपयोग गरी मतदाता नामावली अद्यावधिक गर्न सकिने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते १९:१३

१२ कात्तिक, काठमाडौं । व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणालीको विवरण उपयोग गरी मतदाता नामावली अद्यावधिक गर्न सकिने भएको छ । यसबारे निर्वाचन आयोग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच बिहीबार समझदारी भएको छ ।

समझदारी पत्रमा निर्वाचन आयोगका तर्फबाट सहसचिव राजेन्द्र कुमार केसी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक  कृष्ण पौडेलले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार मतदाता नामावली अद्यावधिक एवं विवरण प्रमाणीकरण गर्ने कार्यलाई थप सहज, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीमा रहेका व्यक्तिगत घटना दर्तासम्बन्धी विवरण उपयोग गरिनेछ ।

समझदारीअनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आफ्नो प्रणालीमा रहेका व्यक्तिगत घटना दर्तासम्बन्धी विवरणहरू सुरक्षित प्राविधिक माध्यमबाट निर्वाचन आयोगलाई उपलब्ध गराउनेछ ।

आयोगले प्राप्त विवरण मतदाता नामावली अद्यावधिक तथा विवरण प्रमाणीकरण गर्न उपयोग गर्नेछ । विवरणको सुरक्षित आदानप्रदान तथा उपयोगका लागि आवश्यक प्राविधिक प्रणाली विकास, तथ्याङ्कको सुरक्षा र गोपनीयता कायम गर्ने व्यवस्था मिलाइनुका साथै समझदारी कार्यान्वयनका क्रममा उत्पन्न हुने प्राविधिक विषयहरू सम्वोधन गर्न दुवै पक्षका प्रतिनिधि सम्मिलित संयुक्त प्राविधिक कार्यसमूह गठन गरिनेछ ।

यस समझदारीको कार्यान्वयनबाट व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीमा रहेका विवरणको उपयोगमार्फत मतदाता नामावली अद्यावधिक तथा प्रमाणीकरण कार्यलाई थप व्यवस्थित, विश्वसनीय र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसबाट मतदाता नामावलीमा शुद्धता कायम गर्न तथा निर्वाचन व्यवस्थापनसम्बन्धी कार्यमा सूचना प्रविधिको उपयोगलाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास आयोगले लिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?