१२ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–७ स्थित कञ्जभोजमा लिफ्ट सिँचाइबाट २०० हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुने भएपछि यहाँका किसान हर्षित भएका छन् ।
जोगबुढा नदीको पानी सौर्य लिफ्ट सिँचाइ मार्फत किसानको खेतमा पुगेपछि खेती गर्न सहज भएको स्थानीय देवीसरा सुनारले बताइन् । ‘यहाँ सिँचाइको आवश्यकता थियो, यसले यहाँका किसानलाई धेरै लाभ हुन्छ’, उनले भनिन्, ‘अब तरकारी खेती गर्न पनि सहज हुन्छ ।’
विगतमा यहाँका किसानले सिँचाइ समस्या झेल्दै आएको उनले बताइन् । महाकाली नदीबाट सिँचाइ सुविधा पुर्याउन सम्भव नभएपछि महाकाली सिँचाइ तेस्रो चरण आयोजनाले यहाँ सौर्य लिफ्ट सिँचाइ मार्फत खेतमा पानी उपलब्ध गराएको हो ।
‘यहाँ किसानको सङ्ख्या धेरै छ, सिँचाइ सुविधाले हामीलाई खेतीपाती गर्न सहज भएको छ’, स्थानीय ललितसिंह ठकुरीले भने ।
महाकाली सिँचाइ तेस्रो चरण आयोजना कार्यालयले आठ करोड ९ लाख रुपैयाँको लागतमा दोधारा–चाँदनीमा लिफ्ट सिँचाइ योजना निमार्ण गरेको हो । उक्त लिफ्ट सिँचाइबाट दोधारा–चाँदनीको २०० हेक्टरमा सिँचाइ सुविधा उपलब्ध भएको महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका प्रमुख गणेश मरासिनीले जानकारी दिए । उनका अनुसार दुई सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुने गरी सौर्य लिफ्ट सिँचाइका लागि २०७९ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो ।
५६.८५ वर्गकिलोमिटर क्षेत्रफल रहेको दोधारा–चाँदनीमा तीन हजार ६०० हेक्टरमा खेती हुँदैआएको छ । खेतीका लागि उपयुक्त माटो रहेको यस क्षेत्रमा सिँचाइ सुविधा नहुँदा यहाँका किसान समस्यामा पर्दै आएका छन् ।
यहाँ सिँचाइ सुविधा नहुँदा किसान पानी तान्ने मोटर प्रयोग गरेर प्रति घण्टा दुई सय तिरेर सिँचाइ गर्दै आएका थिए । महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाले महाकाली सिँचाइ मुल नहर निमार्ण बाहेक लिफ्ट सिँचाइ र वोरिङबाट समेत किसानका लागि सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ ।
महाकाली सन्धि अनुसार भारतले नेपाललाई दोधारा–चाँदनीमा सिँचाइका लागि ३५० क्युसेक पानी नहरमार्फत उपलब्ध गराउनुपर्ने छ । यसका लागि भारतले शारदा नहरबाट नेपाल सीमासम्म एक हजार एक सय मिटर नहर निर्माण गर्नुपर्ने भए पनि हालसम्म भारतीय पक्षले नहर निमार्ण गर्ने टुङ्गो लागेको छैन । नेपालले दोधारा–चाँदनीमा नहर निर्माणका लागि डिपीआर तयार गरेको छ ।
दोधारा–चाँदनीमा सिँचाइ सुविधाका लागि भारतले महाकाली सन्धि अनुसार शारदा बैराज (नहर)बाट ३५० क्युसेक पानी उपलब्ध गराउनुपर्ने छ । ‘दोधारा–चाँदनीमा नहर निमार्णका लागि डीपीआर बनेको छ, स्वीकृत भएको छ’, प्रमख मरासिनीले भने, ‘नहरबाट पानी उपलब्ध हुन नसकेकोे ठाउँमा लिफ्ट सिँचाइ र वोरिङबाट समेत किसानका लागि सिँचाइ उपलब्ध गराएका छौँ ।’
आर्थिक वर्ष २०६३/६४ देखी सुरु भएको महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाले २०८७ सालसम्म कैलालीको मालाखेतीसम्म मुल नहरसहित एक सय ५१ किलोमिटर नहर निमार्ण गर्ने लक्ष्य छ ।
यसबाट कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने बताइएको छ ।
प्रतिक्रिया 4