+
+
Shares

पत्रकार पक्राउ गरेर समाचारको सत्य मार्न सकिंदैन : आङ्देम्बे

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १४ गते १३:०२

१४, कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरेर प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजिएको भन्दै सरकारको आलोचना गरेका छन् ।

शनिबार प्रेस वक्तव्य जारी गर्दै उनले पत्रकारलाई पक्राउ गरेर समाचारको सत्य दबाउन नसकिने बताएका हुन् । बालेन नेतृत्वको सरकारको कार्यशैलीले प्रेस स्वतन्त्रता र कानुनी राज्यको अवधारणामाथि प्रहार गरेको उनको आरोप छ ।

‘पत्रकारलाई पक्राउ गरेर न त समाचारको सत्य मार्न सकिन्छ, न त प्रेसलाई कुनै निरंकुशताका सामु घुँडा टेकाउन नै,’ आङ्देम्बेले वक्तव्यमा भनेका छन् ।

पछिल्लो समय समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने, सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गर्ने र समाचार कक्षमै प्रहरी प्रवेश गराएर पत्रकारलाई त्रसित बनाउने गतिविधि भइरहेको भन्दै उनले आपत्ति जनाएका छन् ।

अदालतमा विचौलियामार्फत सेटिङ भएको प्रकरणमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, न्यायाधीश तथा सत्तापक्षीय सांसदको नाम जोडिएका समाचार सार्वजनिक भइरहेका बेला पत्रकारमाथि धरपकड हुनु गम्भीर विषय भएको उनको भनाइ छ ।

पक्राउ पुर्जीबिनै पत्रकारलाई नियन्त्रणमा लिने र कतिपयलाई साइबर ब्युरोमा बोलाउने घटनाले समाचार लेख्ने स्वतन्त्रता संकुचित हुँदै गएको उनले उल्लेख गरेका छन् ।

सरकारका कमजोरी औंल्याउने पत्रकारलाई पक्राउ गर्ने प्रवृत्तिले सरकार आफूलाई जनताका प्रश्नभन्दा माथि राख्न खोजेको सन्देश दिएको आङ्देम्बेको टिप्पणी छ ।

प्रधानमन्त्रीको सचिवालय बेखबर, गृह प्रशासन अनभिज्ञ र प्रहरी प्रवक्ता स्वयं घटनाबारे बुझ्दै गरेको बताइरहेका बेला पक्राउ परेका पत्रकारले भने प्रधानमन्त्री कार्यालयकै दबाबमा आफूलाई पक्राउ गरिएको प्रहरी अधिकारीले बताएको दाबी गरेको उनले वक्तव्यमा उल्लेख गरेका छन् ।

‘प्रधानमन्त्रीको निर्देशन र सरकारका प्रत्येक कार्य कानुनसम्मत हुनुपर्छ,’ आङ्देम्बेले भनेका छन्, ‘कानुनी राज्यको पालना र सम्मान गर्नु प्रधानमन्त्रीको समेत कर्तव्य हो ।’

आङ्देम्बेले राज्यका निकायलाई कानुनअनुसार काम गर्न र स्थापित छानबिन निकायलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउन आग्रह गरेका छन् ।

दशकौंको संघर्षबाट प्राप्त वाक् तथा प्रकाशन स्वतन्त्रता र कानुनी राज्यको सर्वोच्चतालाई कमजोर बनाउने गतिविधि स्वीकार्य नहुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?