+
+
Shares

अर्नबको असर कमजोर, बंगालको खाडीमा अर्को प्रणाली विकसित

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालले भने, ‘यसले खासै असर गर्ने जस्तो देखिँदैन । यस्तो भइरहन्छ । त्यस्तो धेरै इम्प्याक्ट गर्ने जस्तो देखिँदैन ।’ 

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १५ गते ९:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बंगालको खाडीमा विकसित नयाँ न्यून चापीय प्रणाली नोभेम्बर ३ को बिहान दक्षिण आन्ध्र प्रदेशको तटीय क्षेत्रनजिक पुगेर जमिनमा प्रवेश गर्ने अनुमान छ ।
  • भारतीय मौसम विज्ञान विभागले आँधी जमिनमा प्रवेश गर्दा हावाको गति १०० देखि ११० किलोमिटर प्रतिघण्टा र झोक्कासहित १२० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने जनाएको छ ।
  • स्काईमेटले यो प्रणाली अर्नब चक्रवातभन्दा कमजोर रहेको र नेपालमा यसको खासै असर नदेखिने मौसमविद्हरूले बताएका छन् ।

१५ कात्तिक, काठमाडौं । अर्नब चक्रवातको असर न्यून हुँदै गएका बेला बंगालको खाडीमा अर्को न्यून चापीय प्रणाली विकसित भएको छ । यो नयाँ प्रणाली भने अर्नब भन्दा कमजोर देखिएको छ ।

भारत मौसम विज्ञान विभागका अनुसार अक्टोबर ३१ अर्थात् कात्तिक १४ गतेसम्म २२ किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिम–उत्तरपश्चिम दिशातर्फ सरेको थियो । अक्टोबर ३१ को राति ११ः३० बजे भारतीय समयअनुसार यो बंगालको खाडीको दक्षिणपूर्वी क्षेत्रमा १०.९ डिग्री उत्तरी अक्षांश र ८७.५ डिग्री पूर्वी देशान्तरमा केन्द्रित थियो।

त्यतिबेला यो चेन्नईबाट ८३० किलोमिटर पूर्व–दक्षिणपूर्व, विशाखापट्टनमबाट ८८० किलोमिटर दक्षिण–दक्षिणपूर्व, मछलीपट्टनमबाट ९०० किलोमिटर दक्षिणपूर्व र ओङ्गोलबाट ९५० किलोमिटर पूर्व–दक्षिणपूर्वमा रहेको थियो।

भारतीय मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार यो प्रणाली नोभेम्बर १ अर्थात् कात्तिक १५ को दिउँसोसम्म बंगालको खाडीको दक्षिणपश्चिमी तथा त्यससँग जोडिएको दक्षिणपूर्वी क्षेत्रमा गहिरो न्यून चापीय प्रणालीमा परिणत हुनेछ । नोभेम्बर १ को मध्यरातसम्म चक्रवाती आँधी र नोभेम्बर २ मा पश्चिममध्य बंगालको खाडीमा शक्तिशाली चक्रवाती आँधीमा विकसित हुने सम्भावना छ ।

यो आँधी नोभेम्बर ३ को बिहान सबेरै दक्षिण आन्ध्र प्रदेशको तटीय क्षेत्रनजिक पुग्ने र बिहान नेल्लोर तथा नरसापुरबीचको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने अनुमान गरिएको छ ।

आँधी जमिनमा प्रवेश गर्ने समयमा हावाको गति प्रतिघण्टा १०० देखि ११० किलोमिटरसम्म पुग्न सक्ने तथा झोक्कासहितको अधिकतम गति १२० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने विभागको पूर्वानुमान छ ।

यसअघि अक्टोबर ३१ को साँझ ५ः३० बजे भारतीय समयअनुसार सार्वजनिक गरिएको विवरणमा उक्त प्रणाली पछिल्लो ६ घण्टामा ३० किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिम–उत्तरपश्चिम दिशातर्फ सरेको जनाइएको थियो । त्यसबेला यो १०.५ डिग्री उत्तरी अक्षांश र ८८.६ डिग्री पूर्वी देशान्तरमा केन्द्रित थियो ।

पछिल्लो अद्यावधिक विवरणमा प्रणालीको केन्द्र पश्चिम–उत्तरपश्चिमतर्फ सरेर यसको अवस्थिति परिवर्तन भएको देखिएको छ । विभागले आँधीको विकासक्रम र सम्भावित मार्गबारे निरन्तर निगरानी गरिरहेको जनाएको छ।

अर्नब भन्दा कमजोर

अहिलेको न्यून चापीय प्रणाली अर्नब चक्रवात भन्दा कमजोर छ । अर्नब चक्रवात बंगालको खाडीबाट जमिनसम्म पुग्न सात दिन लागेको थियो । यो अवधिमा धेरै जलवाष्पयुक्त हावा बटुलेर अर्नब शक्तिशाली बनेको थियो ।

तर अहिलेको प्रणाली तीन दिनमै जमिनमा पुगेकाले यसले अर्नबको तुलनामा कम जलवाष्प बोकेको भारतको मौसम तथा जलवायु विश्लेषण गर्ने निजी संस्था स्काईमेटले जनाएको छ ।
त्यसैले यसले अर्नब जस्तो धेरै पानी नपार्ने विश्लेषण गरिएको छ ।

नेपालमा असर पर्ला ?

अर्नबको असरले नेपालमा पनि कात्तिक १२, १३ र १४ गते वर्षा र हिमपात गराएको थियो । तर, अर्नब पछाडिको नयाँ प्रणालीको असर नेपालमा कहिले पर्छ वा असर नै पर्दैन भन्नेबारे अहिले निश्चित भइसकेको छैन ।

भारतका मौसमविदले नेपालसँग सिमाना जोडिएको उत्तर भारतको बिहार राज्यसम्म यसको असर देखिने जनाएका छन् ।

नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदले पछिल्लो मौसमी प्रणालीलाई नजिकबाट नियालिरहेको जनाएका छन् । त्यसको नेपालमा खासै असर नदेखिने मौसमविद्हरूको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालले भने, ‘यसले खासै असर गर्ने जस्तो देखिँदैन । यस्तो भइरहन्छ । त्यस्तो धेरै इम्प्याक्ट गर्ने जस्तो देखिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?