News Summary
Generated by OK AI. Editorially reviewed.- ओमानले यूएईसँग ७ विकेटले हारे पनि नेट रन रेटका आधारमा आईसीसी लिग–२ को शीर्ष चारमा रहेर सन् २०२७ को विश्वकप छनोटमा सोझै स्थान पक्का गरेको छ।
- यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २२६ रन बनाएको खेलमा ओमानले ५० ओभरमा ९ विकेट गुमाएर १८४ रन मात्र बनायो।
- शीर्ष चारमा नपरेका नेपाल, नामिबिया, क्यानडा र यूएईले अब डिसेम्बर ४ देखि २१ सम्म नेपालमा हुने विश्वकप छनोट प्लेअफ खेल्नेछन्।
१८ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा लगातार सातौं हार बेहोरे पनि ओमान शीर्ष चारमा रहँदै सन् २०२७ को विश्वकप छनोटमा सोझै प्रवेश गरेको छ ।
यूएईविरुद्ध बुधबार भएको अन्तिम खेलमा हार बेहोरे पनि आवश्यक रनको सीमा पार गरेर नेट रन रेटमा नामिबिया भन्दा अगाडि रहँदै ओमानले शीर्ष चारमा स्थान पक्का गरेको हो ।
लिग–२ को २०२४–२०२६ चक्रअन्तर्गत अन्तिम खेलमा यूएईले दिएको २२७ रनको लक्ष्य पछ्याएको ओमानले ५० ओभरमा ९ विकेट गुमाएर १८४ रन बनायो । १०३ रन पूरा गरेपछि ओमान शीर्ष चारमा रहने निश्चित भएको थियो । खेलअघि ओमानलाई जित वा नेट रनरेटमा नामिबियाभन्दा अगाडि रहने गरी ठूलो अन्तरको हारबाट बच्नुपर्ने अवस्था थियो ।
पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २२६ रन बनाएको थियो । ओमानका शाकिल अहमदले १० ओभरमा ४२ रन खर्चेर तीन विकेट लिए । यूएईका लागि बासिल हमिदले सर्वाधिक ४३ रन बनाए ।
जवाफमा ओमानले खराब सुरुवात गर्दै ११औं ओभरसम्म २८ रन बनाउँदा तीन विकेट गुमाएको थियो । हम्माद मिर्जा र विनायक शुक्लाले इनिङ्स सम्हाल्ने प्रयास गरे पनि टोलीले नियमित अन्तरमा विकेट गुमायो ।
६८ रनमा पाँच विकेट गुमाएको ओमानका लागि मुजीबुर अली र नारायण सैशिवले महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई १०३ रनको सीमापारि पुर्याए ।
लिग–२ को शीर्ष चारमा अमेरिका, स्कटल्यान्ड र नेदरल्यान्ड्सले यसअघि नै स्थान पक्का गरिसकेका थिए । अमेरिका ४९ अंकसहित तालिकाको शीर्ष स्थानमा रह्यो । ओमानले अन्तिम स्थान सुरक्षित गरेसँगै यी चार टोलीले विश्वकप छनोटमा सोझै प्रवेश पाएका छन् ।
शीर्ष चारमा पर्न नसकेका नेपाल, नामिबिया, क्यानडा र यूएईले अब विश्वकप छनोट प्लेअफ खेल्नेछन् । उनीहरूसँगै च्यालेन्ज लिग समूहबाट छनोट भएका जर्सी, इटाली, कुवेत र युगान्डाले पनि प्लेअफमा प्रतिस्पर्धा गर्नेछन् ।
प्लेअफ प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म नेपालमा आयोजना हुनेछ । आठ टोलीबीच हुने प्रतियोगिताबाट चार टोलीले विश्वकप छनोटमा स्थान बनाउनेछन् । त्यसपछि छनोट प्रतियोगिताबाट सन् २०२७ को ओडीआई विश्वकपमा पुग्ने टोलीको टुंगो लाग्नेछ ।
प्रतिक्रिया 4