१९ कात्तिक, तेह्रथुम । उमेरले ६६ वर्ष पुगेका तेह्रथुम लालीगुराँस नगरपालिका–७ का खड्कबहादुर राना मगरको दैनिकी मौरीको स्याहारसुसारमै बित्छ । बिहानदेखि साँझसम्म मौरीका घारको हेरचाह, मह उत्पादन र घार निर्माणमा व्यस्त रहने उनले मौरीपालनबाटै परिवारको आर्थिक अवस्था सुधार गर्दै आएका छन् ।
१४ वर्षको उमेरमा एउटा घारबाट सुरु गरेको उनको मौरीपालन अहिले परिवारकै आम्दानीको भरपर्दाे आधार बनेको छ ।
बाल्यकालदेखि नै मौरीपालनमा रुचि राख्ने राना मगरसँग अहिले २० घार मौरी छन् । अन्नबाली र तरकारी खेतीसँगै मौरीपालनलाई अघि बढाएका उनले परम्परागत अभ्यासलाई आधुनिक प्रविधिसँग जोडेर व्यवसाय विस्तार गरेका छन् ।
कुनै समय घरायसी प्रयोजनका लागि मात्रै मौरी पाल्ने राना मगरले अहिले मह बिक्री गरेर वार्षिक लाखौं रुपैयाँ आम्दानी गरिरहेका छन् ।
विगत सम्झिँदै उनी भन्छन्, ‘त्यतिबेला गाउँमा मह बिक्री हुँदैनथ्यो । मह काढेर आफैं खाने र आफन्त तथा छिमेकमा बाँड्ने चलन थियो । कहिलेकाहीँ मौरी मरेर घार रित्तिन्थ्यो भने कहिले आफैं मौरी आउने–जाने गर्थे ।’
परम्परागत घारमा मौरी पाल्दै आएका राना मगरले केही समययता मौरीपालनलाई व्यावसायिक रूप दिन थाले । तर व्यवसाय विस्तार गर्ने क्रममा ठूलो क्षति पनि बेहोर्नुपर्यो ।
तोरी फुल्ने समयमा प्रशस्त मह उत्पादन हुने अपेक्षा गरेका बेला एकैपटक सबै मौरी मरेपछि उनी निराश भए । गाउँमा तरकारी खेतीमा अत्यधिक रासायनिक मल तथा विषादी प्रयोग हुने गरेकाले त्यसको असर मौरीमा परेको हुनसक्ने उनको अनुमान थियो ।
त्यतिबेला उनी आफैं पनि अन्य किसान जस्तै तरकारी खेतीमा रासायनिक मल र विषादी प्रयोग गर्थे । केही समय उत्पादन बढे पनि यसको असर मानव स्वास्थ्य र वातावरणमा पर्नुका साथै मौरीपालनमा समेत समस्या देखिएको उनको अनुभव छ ।
व्यवसायमा नोक्सानी भएपछि उनले क्रमशः रासायनिक मल तथा विषादीको प्रयोग घटाउँदै गए । त्यसपछि फेरि एउटा घारमा मौरी आफैं आएर बसे । अनि, उनलाई मौरीपालनप्रति मोह जाग्यो ।
राना मगरको मौरीपालन यात्रामा नयाँ मोड भने २०७६ सालमा आयो । दलित सचेतना समाज (ड्यास) ले एक्सन एड नेपालको सहयोगमा सञ्चालन गरेको सातदिने मौरीपालन तालिममा सहभागी भएपछि उनले मौरीपालनका आधुनिक विधि, घार व्यवस्थापन र मह उत्पादनसम्बन्धी ज्ञान तथा सिप प्राप्त गरे । तालिममार्फत आधुनिक घारसमेत उपलब्ध भएपछि परम्परागत तरिकाले भन्दा कम श्रम र मिहिनेतमा पनि राम्रो आम्दानी लिन सकिने उनले बुझे ।
तालिमपछि मौरीका घार थप्दै गए । सुरुका दिनमा मह बिक्रीबाट १५ हजार रुपैयाँ आम्दानी भएपछि व्यवसायप्रतिको उत्साह झन् बढ्यो । एक्सन एड नेपालको सहयोगमा ड्यासको समन्वयबाट मौरीपालनका लागि १० हजार रुपैयाँ नगद सहयोगसमेत पाएपछि उनलाई व्यवसाय विस्तार गर्न थप सहज भयो ।
अहिले राना मगरले उत्पादन गरेको मह प्रतिकिलो एक हजार ५०० रुपैयाँका दरले बिक्री भइरहेको छ । गत वर्ष मात्रै मह बिक्रीबाट एक लाख ६० हजार रुपैयाँ आम्दानी गरेका उनले यस वर्ष वैशाखदेखि मंसिरसम्ममा दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखेका छन् ।
उत्पादित मह घरबाटै बिक्री हुने गरेको छ भने स्थानीय लसुने, वसन्तपुर र म्याङलुङ बजारका साथै धरान, विराटनगर र काठमाडौंसम्म पुग्ने गरेको छ ।
मौरीपालनबाट हुने आम्दानीले श्रीमती, छोराछोरीसहित ६ जनाको परिवारको खर्च धान्न सहयोग पुगेको छ । उनका लागि यो व्यवसाय आम्दानीको माध्यम मात्रै होइन, गाउँमै बसेर आफ्नै मिहिनेत र सिपबाट आत्मनिर्भर बन्न सकिने उदाहरणसमेत बनेको छ ।
राना मगर भन्छन्, ‘ड्यासले सञ्चालन गरेको तालिममा सहभागी नभएको भए सायद म व्यावसायिक मौरीपालनमा लाग्ने थिइनँ । सातदिने त्यही तालिमले मलाई मौरीपालनको ज्ञान र सिप दियो । अहिले यही व्यवसाय मेरो परिवार धान्ने आधार बनेको छ ।’
मह उत्पादनमा मात्रै सीमित नरहेका राना मगरले घार निर्माण गरेर बिक्री गर्ने कामसमेत सुरु गरेका छन् । उनले तयार पारेको एउटा घार १० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । यसबाट मह बिक्रीबाहेक थप आम्दानीको अवसर सिर्जना भएको छ ।
रासायनिक मल र विषादीको अत्यधिक प्रयोग हुँदा मौरी मर्ने र मह उत्पादन घट्ने समस्या भोगेका उनी अहिले कृषि प्रणालीमा आएको परिवर्तनप्रति आशावादी छन् । खेतीपातीमा विषादीको प्रयोग घटाउँदै वातावरणमैत्री कृषि अभ्यास अपनाउन सके मौरीपालनलाई थप व्यवस्थित र दिगो बनाउन सकिने उनको अनुभव छ ।
एउटा घारबाट सुरु भएको उनको यात्रा अहिले २० घारसम्म पुगेको छ । अब भने घारको संख्या बढाएर १०० पु¥याउने लक्ष्य उनले राखेका छन् । सामान्य हेरचाह र नियमित व्यवस्थापनबाट पनि राम्रो आम्दानी लिन सकिने भएकाले बाँकी जीवन मौरीपालन व्यवसायलाई नै विस्तार गर्दै बिताउने उनी बताउँछन् ।
प्रतिक्रिया 4