News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सभापति रवि लामिछानेले सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।
- चितवनमा उनले सरकार र पार्टीबीच समन्वयको कमी नभएको र कुनै अन्तरद्वन्द्व नरहेको बताए ।
- उनले विधिको शासन अनुसार चल्न र प्रहरी प्रशासन, अदालत तथा प्रेस काउन्सिललाई अझ बलियो बनाउनुपर्ने धारणा राखे ।
१९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन् ।
बिहीबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले सरकारले गर्ने काम र पार्टीले गर्ने काम दुवैमा स्पष्टता स्पष्ट रहेको भन्दै सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेका हुन् ।
‘राजनीतिमा त्यो अभ्यासको पक्षमा छैनौं, जतिबेला सरकार नै टिकाउनका लागि, पार्टीमा एकता नै कायम गर्नका लागि छेउमा प्रधानमन्त्रीले अर्को मान्छेलाई कुर्सीमा राखेर गर्ने पक्षमा छैनौं,’ उनले भने, ‘एब्सुलुट काम पार्टीले गर्छ । कहिलेकाहीँ प्रश्न आए, जिज्ञासा रहे क्लियारिटी चाहिए हामी बस्छौं, कुराकानी गरिराख्छौं ।’
सरकारले गर्ने काम र पार्टीले गर्ने काममा स्पष्टता र सुदृढतामा ध्यान दिइने भन्दै उनले दुवैले गरेका कामकारबाहीमा कहिलेकाहीँ प्रश्न वा जिज्ञासा आएमा बसेर छलफल हुने गरेको र समन्वयको कुनै कमी नरहेको बताए । सरकार र पार्टीबीच कुनै प्रकारको अन्तरद्वन्द्व नरहेको उल्लेख गरे ।
‘हामी धेरै भेट गरिरहन्छौं । समन्वयको कुनै पनि कमी छैन । खाली एउटै चिज के हो भने सरकारलाई मज्जाले काम गर्न दिनुपर्छ भन्ने पार्टीको धारणा हो,’ उनले भने ।
उनले सरकार र पार्टीबीच कुनै टसल नरहेको जिकिर पनि गरे । कुनै पनि संस्थाले गल्ती गरेमा त्यसलाई सच्याउने संस्थाहरू रहेकाले तथा प्रहरी प्रशासन, अदालत, र प्रेस काउन्सिल जस्ता संस्थाहरुलाई विश्वास गर्दै अझ बलियो बनाउनुपर्ने उनले बताए ।
सभापति लामिछानेले परिवक्व ढंगले अघि बढ्नुपर्ने जस्ता प्रश्न आउन नदिने गरि सरकारले विधिको शासन अनुसार चल्न ध्यान दिनुपर्ने धारणा राखे ।
प्रतिक्रिया 4