८ मंसिर, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मंगलबार नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग छलफल सुरु गरेका छन् ।
भविष्यमा एनपीएललाई ‘होम एण्ड अवे’ ढाँचामा सञ्चालन गर्ने तथा त्यसका लागि आवश्यक खेलकुद पूर्वाधार निर्माण र स्तरोन्नति गर्ने विषयमा केन्द्रित रहेर मन्त्री पोखरेलले मंगलबार सिंहदरबारमै फ्रेन्चाइज टोलीका सञ्चालकहरूसँग छलफल सुरु भएको हो ।
छलफलमा मन्त्रीका सल्लाहकार सिद्दि व्यन्जनकार, नेपाल क्रिकेट संघ (क्यान) सचिव पारस खड्का, आठवटै टोलीका सञ्चालक/प्रतिनिधि सहभागी छन् ।
शनिबार एनपीएलको तेस्रो संस्करण सम्पन्न भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले छैटौं संस्करणदेखि आठवटै टोलीको आफ्नै घरेलु मैदान हुने र फ्लडलाइटमा समेत खेल सञ्चालन गर्न सकिने गरी पूर्वाधार निर्माण गर्ने घोषणा गरेका थिए ।
यसै विषयमा सोमबार पनि मन्त्री पोखरेलको अध्यक्षतामा खेलकुद पूर्वाधार विकास, रंगशाला निर्माण तथा स्तरोन्नति र ‘होम एण्ड अवे’ प्रणालीमा खेल सञ्चालन गर्ने विषयमा छलफल भएको थियो ।
उक्त बैठकमा नेपालमा खेलकुद लिगहरूलाई होम एण्ड अवे ढाँचामा सञ्चालन गर्ने विषयमा आवश्यक गृहकार्य अघि बढाउनेबारे छलफल भएको थियो ।
बैठकमा रंगशाला निर्माणको लगानी मोडेल, लिज प्रक्रिया तथा प्राविधिक मापदण्डका विविध पक्षमाथि छलफल भएको थियो । मन्त्री पोखरेलले सरकार र निजी क्षेत्रको साझेदारीबाटै खेलकुद पूर्वाधार विकासलाई गति दिन सकिने बताएका थिए।
प्रतिक्रिया 4