१३ मंसिर, काठमाडौं । सर्वोच्च शिखर सगरमाथा रहेको स्थानीय तह खुम्बु पासाङल्हामु गाउँपालिकाले आइतबारको बिदा खारेज गरेको छ ।
शनिबार बसेको गाउँपालिकाको १२१औं बैठकले यो निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईका अनुसार गाउँपालिका अन्तर्गत सम्पूर्ण कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थामा आजबाटै लागु हुने गरी आइतबार समेत कार्यालय सञ्चालन गर्ने निर्णय भएको हो ।
उनका अनुसार गाउँपालिकाको भौगोलिक वनावट र सञ्चालित सवारीसाधनमा पेट्रोल–इन्धन प्रयोग अन्य सहरी क्षेत्रको तुलनामा अत्यन्त न्यून रहने हुँदा इन्धन बचत उद्देश्य सान्दर्भिक नदेखिएको गाउँपालिकाको निर्णय छ ।
स्वास्थ्य संस्थाहरूमा आइतबार बिदा दिँदा दुर्गम क्षेत्रका बिरामी उपचारबाट वञ्चित हुने र आकस्मिक सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको समेत गाउँपालिकाको निर्णय छ ।
नागरिकको प्रशासनिक कार्य र सार्वजनिक सेवा प्रवाह छिटो छरितो र प्रभावकारी बनाउन समेत यो निर्णय गरिएको गाँउपालिकाले जनाएको छ ।
यस गाउँपालिकामा अब आइतबारका दिन समेत बिहान १० देखि साँझ ५ बजेसम्म कार्यालय खुला रहने छ । शुक्रबार भने १० देखि ३ बजेसम्म र जाडोयाममा भने बिहान १० देखि ४ बजेसम्म खुला रहने छ ।
प्रतिक्रिया 4