+

‘रात्रिकालीन ड्युटी गर्नेको मुटुमा आउन सक्छ परिवर्तन’ अध्ययन रिपोर्ट

२०८३ मंसिर  १३ गते १४:५४ २०८३ मंसिर १३ गते १४:५४
‘रात्रिकालीन ड्युटी गर्नेको मुटुमा आउन सक्छ परिवर्तन’ अध्ययन रिपोर्ट

नियमित रूपमा रात्रिकालीन ड्यूटी गर्ने मानिसहरूको मुटुको संरचना र मुटुका मांसपेशीहरूको कार्यप्रणालीमा परिवर्तन आउन सक्ने कुरा एक अध्ययनले देखाएको छ।

अनुसन्धानकर्ताहरूले नियमित रूपमा रात्रिकालीन सिफ्टमा काम गर्ने व्यक्तिहरूमा मुटुको आकार, मुटुका मांसपेशीहरूको खुम्चिने क्षमता, र मुटु तथा रक्तनलीसम्बन्धी स्वास्थ्यसँग जोडिएका रगतका केही सूचकहरूमा भिन्नता फेला पारेका छन् ।

यद्यपि, यी परिवर्तनहरू निकै सामान्य छन् र यसको अर्थ रात्रिकालीन सिफ्टमा काम गर्ने सबैलाई मुटुसम्बन्धी रोग लाग्छ भन्ने होइन ।

४२ हजार बढीमा गरिएको थियो अध्ययन

यो अध्ययन चीनस्थित झेङझाउ विश्वविद्यालयको ‘पिपुल्स हस्पिटल’ का अनुसन्धानकर्ताहरूले गरेको यो अनुसन्धानको रिपोर्ट ‘युरोपियन हर्ट जर्नल- कार्डियोभास्कुलर इमेजिङ’ मा प्रकाशित भएको छ ।

उक्त अध्ययन प्रतिवेदनअनुसार रात्रिकालीन सिफ्टमा काम गर्नु र मुटुको स्वास्थ्यबीचको सम्बन्ध बुझ्नका लागि ‘कार्डियाक एमआरआई’ र रगतका सूचकहरूको विश्लेषण गरिएको थियो । अनुसन्धानकर्ताहरूले ‘युके बायोबैंक’ मा रहेका ४२ हजार ६७१ जनाको तथ्याङ्क विश्लेषण गरेका थिए । अध्ययनमा सहभागीहरूको औसत उमेर ५२ वर्ष थियो ।

मुटुका भित्ताहरू केही बाक्लो पाइयो

नियमित रूपमा रात्रिकालीन सिफ्टमा काम गर्ने व्यक्तिहरूमा मुटुको मुख्य पम्पिङ कोठाका भित्ताहरू, उक्त कोठाको आकारको तुलनामा केही बाक्लो रहेको ‘कार्डियाक म्याग्नेटिक रेजोनेन्स इमेजिङ’ ले के देखायो । मुटुका कोठाहरू पनि केही साना पाइए । मुटुका मांसपेशीहरू खुम्चिने प्रक्रियासँग सम्बन्धित मापदण्डमा पनि सामान्य भिन्नताहरू देखिए । ‘इजेक्सन फ्र्याक्सन’ (मुटुको पम्पिङ क्षमता) जाँच गर्दा प्रत्येक धड्कनमा मुटुले बाहिर फाल्ने रगतको मात्रामा भने कुनै उल्लेखनीय भिन्नता पाइएन ।

रगतमा पनि परिवर्तनका संकेतहरू भेटिए

अध्ययनमा रात्रिकालीन सिफ्टमा काम गर्ने मानिसहरूको रगतमा ‘डीएचए’ को मात्रा कम पाइएको छ । ‘डीएचए’ एक प्रकारको ओमेगा-३ फ्याटी एसिड हो, जुन मुटु र रक्तनलीहरूको स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसका साथै, उनीहरूको रगतमा ट्राइग्लिसराइड्स र शरीर सुन्निने समस्यासँग सम्बन्धित सूचकहरूको मात्रा बढी पाइएको छ ।

जैविक घडीमा गडबडीले प्रभाव

राति काम गर्दा शरीरको प्राकृतिक जैविक घडी र सामान्य सुत्ने-उठ्ने चक्र बीचको तालमेल बिग्रन सक्छ । यसले शरीरको मेटाबोलिजमसम्बन्धी प्रक्रियाहरू, रक्तचापको नियमन र रक्तनलीहरूको कार्यप्रणालीमा असर पार्न सक्छ । यही कारणले गर्दा रात्रिकालीन सिफ्टमा काम गर्नुलाई मुटुरोग र यससँग सम्बन्धित मृत्युको जोखिम बढाउने कारकका रूपमा हेरिन्छ ।

रात्रिकालीन सिफ्टमा काम गर्नेहरूलाई मुटुको ख्याल राख्न सुझाव

अध्ययनको रिपोर्टका लेखक डा. मुवेई ली का अनुसार, नियमित रूपमा रात्रिकालीन सिफ्टमा काम गर्नेहरूले आफ्नो मुटु तथा रक्तनलीको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ ।

धूमपान नगर्न, शारीरिक रूपमा सक्रिय रहन, सन्तुलित खानेकुरा खान, स्वस्थ तौल कायम राख्न र पर्याप्त निद्रा लिन अत्यन्त आवश्यक रहेको अध्ययनले सुझाव दिएको छ । सुत्ने र उठ्ने समय निश्चित राख्न तथा रक्तचाप, कोलेस्टेरोल र रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न पनि सुझाव दिइएको छ ।

मुटु रात्रीकालीन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

आल्मुनियम पेपरमा तातो खानेकुरा राख्नु हानिकारक हुन्छ ?

आल्मुनियम पेपरमा तातो खानेकुरा राख्नु हानिकारक हुन्छ ?

घरमै मिर्गौला सफा गर्ने प्रविधि : के नेपालमा पेरिटोनियल डायलाइसिस सुरक्षित छ ?

घरमै मिर्गौला सफा गर्ने प्रविधि : के नेपालमा पेरिटोनियल डायलाइसिस सुरक्षित छ ?

रोग प्रतिरोधि क्षमता बलियो बनाउन दैनिक अपनाउनुहोस् यी ६ बानी

रोग प्रतिरोधि क्षमता बलियो बनाउन दैनिक अपनाउनुहोस् यी ६ बानी

महिनावारी : शरीरको मौन कथा, रगतको सहज भाषा

महिनावारी : शरीरको मौन कथा, रगतको सहज भाषा

स्नायु उपचारमा फड्को मार्दै नेपाल, अब खाँचो राष्ट्रिय स्नायु केन्द्रको

स्नायु उपचारमा फड्को मार्दै नेपाल, अब खाँचो राष्ट्रिय स्नायु केन्द्रको

संक्रमण परीक्षणको दायरा विस्तार नगरी प्रतिजैविक प्रतिरोध नियन्त्रण असम्भव

संक्रमण परीक्षणको दायरा विस्तार नगरी प्रतिजैविक प्रतिरोध नियन्त्रण असम्भव