आजकालको व्यस्त दैनिकीमा हामीलाई रेस्टुरेन्टमा बसेर खाना खाइरहने फुर्सद नहुन सक्छ । घरमा आफ्नै खाना, खाजा बनाउने समय पनि हुँदैन । यस्तो अवस्थामा खानेकुरा प्याक गरेर घर, अफिस लैजाने गरिन्छ । प्याकिङ खाना मगाउने गरिन्छ । अहिले त अनलाइनबाटै खान अर्डर गर्ने प्रचलन पनि ह्वात्तै बढेको छ ।
यसरी खाना ल्याउँदालैजाँदा तात्तातो आल्मुनियमको फोइलमा बर्ने तथा प्याकेटमा राख्ने गरिन्छ । तर के यसरी खानेकुरा प्याक गरेर राख्नु स्वास्थ्यका दृष्टिकोणले सुरक्षित छ त ?
के तातो खानामा आल्मुनियम मिसिन्छ ?
अनुसन्धानका अनुसार आल्मुनियमका भाँडा वा फोइलमा खाना राख्दा आल्मुनियमको केही मात्रा खानामा पुग्न सक्छ, जसलाई ‘लिचिङ’ भनिन्छ । यद्यपि, यो कति मात्रामा घुल्छ भन्ने कुरा खानाको तापक्रम, खानाको प्रकृति, फोइलमा खाना राखिने समय र त्यसमा प्रयोग भएका सामग्रीहरूमा निर्भर गर्दछ ।
त्यसैले फोइलमा राखिएको हरेक तातो खाना हानिकारक नै हुन्छ भन्नु सही होइन, तर केही विशेष परिस्थितिमा आल्मुनियम खानामा मिसिने सम्भावना बढ्न सक्छ।
यी खानेकुरासँग आल्मुनियमको असर बढ्न सक्छ
अनुसन्धानमा बताइएअनुसार खानाको अम्लीयपन र त्यसमा रहेको नुन वा अर्गानिक एसिडले आल्मुनियम चुहिने प्रक्रियालाई प्रभाव पार्छ ।
फोइलमा राख्न नहुने त्यस्ता खानेकुराहरू के-के हुन सक्छ न् ?
–गोलभेँडा र गोलभेँडाबाट बनेका परिकारहरू
–कागती र अमिलो खालका खानेकुराहरू
–अमिलो अचारहरू
–धेरै नुन भएका खानेकुराहरू
–अमिलो र नुनिलो मिश्रण भएका परिकारहरू
समय र तापक्रमले कति प्रभाव पार्छ ?
अनुसन्धानका अनुसार खाना कति बेरसम्म तताइएको छ र कति समयसम्म आल्मुनियममा रहन्छ भन्ने कुराले पनि खानालाई असर गर्छ । अत्यधिक तापक्रम र लामो समयसम्मको सम्पर्कले गर्दा आल्मुनियम बढी मात्रामा खानामा पुग्न सक्छ । यसको अर्थ तातो खानालाई लामो समयसम्म फोइलमा बेरेर राख्नु राम्रो हुँदैन।
आल्मुनियम शरीरमा जम्मा हुन्छ कि बाहिर निस्कन्छ ?
अनुसन्धानमा उल्लेख भएअनुसार एक स्वस्थ मानिसको पाचन प्रणालीबाट खानाको माध्यम हुँदै भित्रिएको आल्मुनियमले शरीरमा निकै कम असर गर्छ र मिर्गौला मार्फत बाहिर निस्कन्छ । यद्यपि, जसको मिर्गौलाले राम्ररी काम गर्दैन, उनीहरूका लागि शरीरमा आल्मुनियम जम्मा हुनु चिन्ताको विषय बन्न सक्छ । त्यसैले मिर्गौलासम्बन्धी रोगसँग जुधिरहेका व्यक्तिहरूले आल्मुनियमको प्रयोग कम गर्नुपर्छ ।
के आल्मुनियम पेपरको प्रयोग पूर्ण रूपमा बन्द गर्नुपर्छ ?
अनुसन्धानले हरेक मानिसले आल्मुनियम फोइलको प्रयोग पूर्ण रूपमा बन्द गर्नुपर्छ भनेको छैन । चिकित्सकहरूका अनुसार सामान्य मानिसमा यसको प्रयोगले ‘आल्मुनियम टक्सिसिटी’ (विषाक्तता) हुने कुनै खतरा हुँदैन । यद्यपि, खानाको प्रकृति र प्रयोग गर्ने तरिकामा ध्यान दिनु आवश्यक छ । बिना सोचविचार फोइलको प्रयोग गर्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ।
आल्मुनियम फोइल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू
–खाना पकाएपछि वा तताएपछि थोरै सेलाउन दिनुहोस् र मात्र फोइलमा प्याक गर्नुहोस्। यसो गर्दा बाफ फोइलभित्र थुनिँदैन र खानामा आल्मुनियमको असर पर्दैन।
–फोइलमा अमिलो खानेकुराहरू प्याक गर्नबाट बच्नुहोस् र यदि राख्दै हुनुहुन्छ भने तातो अवस्थामा नराख्नुहोस्।
–खानालाई लामो समयसम्म भण्डारण गर्नका लागि सिसा वा स्टिलको भाँडा प्रयोग गर्नुहोस्।
आल्मुनियमका बेफाइदाहरू के-के हुन् ?
आल्मुनियमको प्रयोग खाना पकाउने भाँडा, पानीको बोतल, फोइल पेपर, फुड प्याकेजिङ र कतिपय औषधिहरूमा समेत गरिन्छ। यद्यपि, शरीरमा आल्मुनियमको अत्यधिक मात्रा पुग्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ:
–शरीरमा पुगेको आल्मुनियमलाई बाहिर निकाल्ने काम मिर्गौलाले गर्छ । यस्तो अवस्थामा यदि तपाईंलाई मिर्गौलाको कुनै रोग छ भने समस्या हुन सक्छ ।
–आल्मुनियमको धुलो वा धुवाँमा रहने मानिसहरूलाई श्वासप्रश्वाससम्बन्धी समस्या हुन सक्छ । विशेषगरी आल्मुनियम कारखानामा काम गर्ने मानिसहरूलाई यसको बढी जोखिम हुन्छ।
–आल्मुनियमको अत्यधिक प्रयोगले बालबालिकाको स्नायु प्रणाली र हड्डीको विकासमा हानि पुर्याउन सक्छ । त्यसैले धेरै आवश्यक नपरी फोइलको प्रयोग नगर्नुहोस्।
प्रतिक्रिया 4