+
+
Shares

स्वतन्त्रता नभएको भए बङ्गलादेश पाकिस्तानी सेनाको अधीनमा रहने थियो: शेख हसिना

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते १६:२८

१३ मङ्सिर, नयाँदिल्ली (रासस/एएनआई)। बङ्गलादेशकी अपदस्थ प्रधानमन्त्री तथा अवामी लिगकी अध्यक्ष शेख हसिनाले मुक्ति योद्धामाथि आक्रमण र हिरासतमा रहेका व्यक्तिको हत्याका घटना भइरहेको आरोप लगाउँदै सरकारको आलोचना गरेकी छन् । स्वतन्त्रता प्राप्त नभएको भए बङ्गलादेश पाकिस्तानी सेनाको अधीनमा रहने उनको भनाइ छ।

अवामी लिगको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै हसिनाले हिरासतमा रहेका व्यक्तिलाई यातना दिइएको, उपचारबाट वञ्चित गरिएको र परिवारलाई जानकारी नदिई हत्या गरिएको आरोप लगाइन्। उनले सन् १९७१ का मुक्ति योद्धा शेख हुसेन अलीको हत्या गरी शव रुखमा झुन्ड्याइएको घटनाको निन्दा गर्दै यसलाई देशको स्वतन्त्रता सङ्घर्षमाथिको प्रहार भएको बताइन्।

आफ्ना पिता तथा बङ्गलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानको स्मरण गर्दै उहाँ जीवित रहनुभएको भए स्वतन्त्रताको एक दशकभित्रै देश विकसित राष्ट्र बन्ने हसिनाको दाबी थियो ।

हसिनाको भनाइ अवामी लिगले दुईदिने देशव्यापी बन्द आह्वान गरेका बेला आएको हो । बन्दका क्रममा सडक अवरुद्ध र आगजनीका घटना भएपछि सरकारले थप प्रहरी तथा सीमा सुरक्षा बलका १२० प्लाटुन परिचालन गरेको छ ।

यसैबीच, नाराइल जिल्लामा बीएनपी समर्थित व्यक्तिहरूले अवामी लिगका नेता तथा कार्यकर्ताका घर र पसलमा आक्रमण तथा आगजनी गरेको ढाका ट्रिब्युनले जनाएको छ । घटनामा ५० भन्दा बढी आवासीय संरचना जलेर नष्ट भएको अग्नि नियन्त्रण सेवाले जनाएको छ ।

भारतमा निर्वासनमा रहनुभएकी हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेकी छन्। तर, प्रधानमन्त्री तारिक रहमान नेतृत्वको सरकारले उहाँलाई यात्रा कागजात नदिने र फर्किएमा पक्राउ तथा सुपुर्दगी प्रक्रिया अघि बढाउने जनाएको छ । भारतको विदेश मन्त्रालयले बङ्गलादेशको सुपुर्दगी अनुरोध स्थापित प्रक्रियाअनुसार परीक्षण भइरहेको बताएको छ । साथै, यात्रा कागजात लिएर स्वेच्छाले स्वदेश फर्किने विषय सुपुर्दगीभन्दा अलग रहेको स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?