+
+

प्रदेशको नामकरण गर्न नसकेकोमा पछुतो छ : शेरधन राई

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते १९:१७
फाइल तस्वीर

१० भदौ, विराटनगर । प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम राख्न नपाएकोमा आफूलाई पछुतो लागेको बताएका छन् । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नवनियुक्त मुख्यमन्त्रीलाई बधाई र निवर्तमान मुख्यमन्त्रीलाई बिदाई कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘मलाई अलिकति अफसोस छ, प्रदेशको नामकरण हामीले अहिलेसम्म गर्न सकेका छैनौं, तोक्न सकेका छैनौं । यो विषय प्रश्नैप्रश्नको एउटा विषय बनेको छ,’ उनले भने, ‘मुख्यमन्त्रीले प्रदेशको नाम तोक्न सकेन, राख्न सकेन, नालायक आदि इत्यादि । तर मैले नहिच्किचाइ जवाफ दिइरहेको छु, सार्वजनिक सञ्चारमाध्यम वा जुनसकै फोरमहरुमा ।’

प्रदेशको नाम राख्ने विषय मुख्यमन्त्रीले मात्रै चाहेर नहुने बताउँदै उनले भने, ‘प्रदेशको नाम तोक्ने कुरा मुख्यमन्त्रीको जिम्माको कुरा होइन । संविधानले त्यो अधिकार दिएको छैन, प्रदेशसभाको दुई तिहाई बहुमतको संख्या पुर्‍याउने विषय छ । हामीले प्रयास गर्‍यौं, तर अलिकति विषय संवेदनशील छ । अलिक समय लाग्छ । त्यसैले छलफल गरौं ।’

प्रदेश राजधानी तोक्दा नाम थाती राखेको उल्लेख गर्दै निवर्तमान मुख्यमन्त्री राईले कोरोना महामारीका कारण प्रदेशको नामकरण थप प्रभावित भएको बताए ।

‘म मुख्यमन्त्री बहाल भएको बेला नाम टुङगिएन,’ उनले अगाडि भने, ‘तर मलाई विश्वास छ मेरो नेता मुख्यमन्त्रीमा बहाल हुनुभएको छ, म उहाँकै दलको जिम्मेवार नेता हो । त्यसो हुँदा यो नामाकरणको विषयलाई हामी छिट्टै औपचारिक अनौपचारिक छलफल र परामर्श गरेर यही अधिवेशन वा विशेष अधिवेशन बोलाएर टुङ्गो लगाउन सकिन्छ ।’

उनले चुनौतीका बीच पनि आफ्नो नेतृत्वको प्रदेश सरकारले राम्रो काम गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?