+
+

शहरवासी कुकुर पाल्छन् कि यातना दिन्छन् ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३० गते १८:४२

घर–घरको गेटमा सूचित गरिएको हुन्छ, ‘कुकुरदेखि सावधान ।’ बुझ्न कठिन छैन, घरको सुरक्षार्थ यस्तो लेखिएको हो । यसबाट शहरियाको मनोविज्ञान के देखिन्छ भने उनीहरु कुकुरलाई आफ्नो सुरक्षाका खातिर पालिरहेका छन् । अर्थात कुकुर सुरक्षा गार्ड हुन् ।

शहरमा कुकुरलाई डोहो¥याउँदै हिँड्नेहरुको लस्कर बढ्दो छ । कतिले सौखको रुपमा कुकुर पालिरहेका छन् । कतिले देखासेखीमा । कतिले शान–शौकतका लागि । तर, यसमध्ये थोरै मात्र छन् जो वास्तवमै कुकुरलाई प्रेम गर्छन् । स्नेहपूर्वक हुर्काउँछन्, स्यहारसुसार गर्छन् ।

धेरै मान्छे भन्छन्, ‘मैले कुकुर पालेको छु ।’ तर उनीहरु कुकुर पालिरहेका छन् वा यातना दिइरहेका छन् ?

किनभने अधिकांशलाई कुकुरलाई पाल्ने उपयुक्त तौर–तरिका थाहा छैन । यसबारे उनीहरु जान्न पनि खोज्दैनन् । हामी देख्न सक्छौं, कतिपयले कुकुरलाई साङ्लामा बाँधेर राख्छन्, कतिले खोरमा थुनेर राख्छन् । यो त एक अबोध प्राणीलाई आजीवन कारागारमा थुने जस्तो भएन र ?

यदि कसैले कुकुरलाई आफ्नो घरमा ल्याएर राख्छन् भने उनीहरुले त्यसलाई सही वातावरण, खानपान र प्रेम पनि दिन सक्नुपर्छ । त्यो अबोध प्राणीलाई थाहा हुँदैन कि म कहाँ जाँदैछु, कसको घरमा बस्दैछु, के खाँदैछु । आफ्नो परिवार छाडेर उसले कसैको घरमा बस्नुछ । न उसले आफ्नो दुखेसो पोख्न सक्छ, न भोक–तिर्खा लागेको कुरा नै भन्न सक्छ । आफुलाई एक्लोपनले गाँजेको, पट्यार लागेको, थाकाइ लागेको कुरा पनि उनीहरु व्यक्त गर्न सक्दैनन् । उनीहरुको यावत् कुरालाई जसले बुझ्न सक्दैनन्, उनीहरुले आफ्नो घरमा कुकुर लग्नु भनेको एउटा प्राणीको जीवनलाई नर्कमय बनाइदिनु हो ।

मान्छेले दिनरात कुकुरलाई साङ्लामा बाँधेर राख्छन् । कुकुरको प्राकृतिक स्वभाव यस्तो होइन । उसलाई एउटै ठाउँमा बस्न गाह्रो हुन्छ, त्यो पनि पूर्ण नियन्त्रणमा । हाम्रा बालबच्चा जस्तै उनीहरु पनि खेल्न, उफ्रिन, दौडन रुचाउँछन् । अर्काले दिएको खानेकुरा खाएर मात्र उनीहरुलाई पुग्दैन ।

त्यसैले कसैले कुकुरलाई आफ्नो घरमा लगेर राख्छन् भने कुकुरको मनोविज्ञान र प्रवृत्ति बुझ्न जरुरी हुन्छ ।

पहिलो कुरा त उनीहरु यसमा नै स्पष्ट छैनन् कि के प्रयोजनका लागि उनीहरुले कुकुर पाल्दैछन् ? किनभने कुकुरको नश्ल, जात एवं स्वभाव अनुसार भिन्न भिन्नै कामका लागि कुकुर पाल्ने गरिन्छ ।

जस्तो,

सुरक्षाका लागि । पारिवारिक माहौलका लागि । सिकारका लागि ।

मान्छेहरु आफ्नो आवश्यक्ता नै नबुझी कुकुरको खोजीमा निस्कन्छन् । कुकुरको प्रवृत्ति, नश्ल आदि नबुझी आफ्नो घरमा लैजान्छन् । कसैले सस्तो खोज्छन्, कसैले हेर्दा राम्रो खोज्छन् । कसैले रौं नझर्ने त कसैले धेरै नखाने खोज्छन् ।

तर, कुकुर कुन प्रयोजनको लागि राख्न लागिएको हो भनेर स्पष्ट हुनुपर्छ । यदि गार्ड डग अर्थात सुरक्षाको लागि हो भने सोही किसिमको नश्ल एवं जात छनौट गर्नुपर्छ । घरभित्र राखेर खेल्नका लागि हो भने फेमेली डग अर्थात पारिवारिक कुकुर खोज्नुपर्छ । शिकारको लागि वा अरु कुनै प्रयोजनका लागि हो भने सोही अनुसारको गुण, स्वभाव भएको कुकुर खोज्नुपर्छ ।

कुकुरको नश्ल एवं जात र प्रवृत्ति अनुसार सही कुकुर छनौट गर्नुपर्छ ।

कुकुरलाई घरमा लगेपछि उसका लागि पनि समय दिनुपर्छ । कुकुरलाई खान दिएर मात्र पुग्दैन । उसलाई प्रेम, स्पर्श पनि चाहिन्छ । कुकुर बोल्न सक्दैन । तर, हामीले उनीसँग कुरा गर्नुपर्छ । यस्ता थुप्रै कुरा छन्, जुन कुकुर पाल्ने व्यक्तिले जान्नैपर्छ ।

कुकुरलाई घरमा ल्याएपछि उचित सरसफाई गरिदिने, नुहाइदिने, नङ काटिदिने, रौं कोरिदिने गर्नुपर्छ । हरेक दिन घर बाहिर डुलाउनुपर्छ । निश्चित समयमा खानेकुरा दिनुपर्छ । आवश्यक्ताभन्दा धेरै वा थोरै खानेकुरा दिनु हुँदैन । कुकुरसँग कुरा गर्ने, खेल्ने गर्नुपर्छ ।

कुकुरले तपाईंलाई एक्लोपनबाट मुक्त गराउँछ । कुकुरसँग खेल्दा, रमाउँदा तपाईं मानसिक रुपले स्वस्थ रहनुहुन्छ । त्यही कारण विश्वका कतिपय मुलुकमा एक्लोपनबाट मुक्त हुन कुकुर पाल्ने गरिएको छ ।

कुकुरले तपाईंलाई सक्रिय र जाँगरिलो बनाउँछ । कुकुर पालेपछि बिहान साँझ घर बाहिर डुलाउनुपर्ने हुन्छ । यसले तपाईंको शारीरिक सक्रियता बढाइदिन्छ ।

कुकुरले बालबच्चालाई खुसी र सक्रिय राख्छ । उनीहरु कुकुरसँग रमाउँछन् खेल्छन् । अहिले धेरैजसो परिवारले एक्लो बच्चा हुर्काइरहेका छन्, यस्तो अवस्थामा उनीहरुले कुकुरलाई आफ्नो साथी बनाउन सक्छन् ।

कुकुरले घरको सुरक्षा गर्छ । घरको माहौल रमाइलो बनाउँछ ।

कुकुरले कहिल्यै गुनासो गर्दैन । दुःख सुनाउँदैन । थोरै खानेकुरा दिए पनि खुसी हुन्छ । आफ्नो मालिकप्रति सधै वफदार रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?