+
+
सम्बन्ध :

एउटा अबोध प्राणीसँगको नाताले फरक पर्दछ जिन्दगीमा

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०८० माघ २७ गते १५:००

लामो भ्रमणको तयारी गरिरहेकै बेला अचानक एउटा दशा आइलाग्यो । घरमा पालेको आफ्नै कुकुरले ठीक त्यहीबेला टोक्यो, जतिबेला म चीनको उहानतर्फ लाग्ने तारतम्य मिलाउँदै थिएँ । यस्तो हतारोमा म भने टेकू अस्पताल धाउनुपर्ने भयो, रेबिज विरुद्धको सुई लगाउन ।

अत्यन्त माया गरेर पालेको कुकुरले टोकेपछि म भित्रभित्रै मुर्मुरिएको थिएँ । त्यसो त मलाई मात्र होइन, घरका अन्य दुई सदस्य अरुणा र अभिषलाई पनि युजीले आफ्ना धारिलो दाँत गाडिसकेका थिए ।

जसोतसो चीन गइयो । एकदिन पत्रकार गोकर्ण भण्डारी र म चु नदी आसपास टहल्दै थियौं, एउटा पसलको साजसज्जाले हाम्रो ध्यान खिच्यो । त्यो पसलमा आकर्षक ढंगले कुकुरहरू राखिएका थिए । बिक्रीका लागि राखिएका ती अबोध तर अनमोल कुकुरहरू देखेर मलाई आफ्नै घरमा पालेको कुकुरको याद आयो ।

अरूले ‘कुकुर’ भने पनि हामीलाई त्यसरी सम्बोधन गर्न मन लाग्दैन । हामी उसलाई उसैको नामले बोलाउँछौं, युजी ।

००० ०००

युजीले टोकेको घाउको खत विस्तारै पुरिंदै थियो, अनि मनमा युजीको स्नेह र आँखामा युजीको अबोध उछलकुदका छायाँ–चित्र तैरिंदै थिए । मैले वी–च्याट मार्फत घरमा सम्पर्क गरें र धीतमरुन्जेल युजीलाई हेरें ।

कुकुरसँगको माया पनि कति प्रगाढ र निश्छल ? जहाँ गए पनि पछ्याइरहने !

चिरञ्जीवी मास्के

युजीसँग मेरो दैनिकी असाध्यै प्रेमिल छ । घरमा हुँदा कम्मर मर्काउँदै अघि–पछि गर्ने युजी म बाहिर निस्कने बेला अँध्यारो अनुहार बनाएर ठुस्किन्छ । युजीको ठुस्काइमा मन अमिलो हुन्छ, अनि उसको मायाले मनलाई मोहित गरिदिन्छ ।

पशु र मानिसको यो प्रेमभावले मलाई जीवनसँगको नाता बोध गरिदिएको छ । हामी अलिकता निकट भएपछि मानिस–मानिस मात्र हैन पशुपक्षी, वनस्पति सबैलाई यसैगरी स्नेह गर्छौं किनभने पृथ्वीको चराचर जगतमा जीवन छ, त्यसैले स्नेह छ ।

छोरा अभिषले एक महिनाको उमेरमा युजीलाई काठमाडौंबाट ल्याएको हो । जापनिज नाम युजी, अर्थात् आफू स्वयम्, दयालु, समय रफ्तार ! अभिषले भन्दैथियो– जापनिज कार्टुन हेर्दै गर्दा युजी नाम सुनेपछि उसको न्वारान गरिएको हो, ‘युजी’ ।

००० ०००

कुकुर र मानिसको सम्बन्ध एकाध वर्षको हैन, झण्डै १२ हजार वर्ष अघिदेखि कुकुर र मानिस निकट छन् । एक अध्ययन रिपोर्ट अनुसार मध्यपूर्वको फर्टाइल (हालको इराक, सिरिया, लेबनान, जोर्डन, इजरायल, इजिप्ट) भनिने उर्बर भूमिबाट खेती–किसानी सुरु भएको हो ।

त्यतिखेर हन्टर ग्यादररु भनिने घुमफिर र शिकार गरेर पेट पाल्ने मानव जाति विस्तारै एकैठाउँमा बस्न थाले । अनि उनीहरूले गहुँ, जौ, कोसा, दाल जस्ता खेती गर्न थाले । साथै जङ्गली भेडा, गाई, सुँगुर, कुकुरलाई घरपालुवा बनाउन थाले । खासमा ग्रे ब्वाँसो परिवारबाट कुकुर भएको इतिहास पढ्न पाइन्छ । हन्टर ग्यादररु मानवजातिले जङ्गली जनावरलाई रत्याएर पाल्ने क्रममा ग्रे ब्वाँसोलाई पनि पालेको र त्यही कालान्तरमा कुकुर भएको इतिहास छ ।

झण्डै १२ हजार वर्षअघि हन्टर ग्यादररुहरू मध्ये पूर्वको फर्टाइलबाट युरोप र एशियातर्फ बसाइँ सर्ने क्रममा ग्रे ब्वाँसो परिवारको कुकुर पनि सँगै आएका हुन् । अझ धार्मिक मान्यता र किंवदन्तीहरूमा त द्वापरयुगमा नै युधिष्ठिर र कुकुरको घनिष्ठताको चर्चा छ । कुकुरको निष्ठा, समर्पण, स्नेह र इमानको चर्चा द्वापर युगबाटै हुने गरेको छ ।

००० ०००

कुकुरलाई वर्जित गरेपछि युधिष्ठिरले स्वर्ग जाने इन्द्रको प्रस्तावलाई नै अस्वीकार गरिदिएको किंवदन्ती छ । द्वापर युगमा युधिष्ठिरलाई एउटा कुकुरले असाध्य धेरै माया ग¥यो । हरेक पल युधिष्ठिरको साथमा रह्यो । कुकुरप्रति युधिष्ठिरको स्नेह पनि त्यही अनुसारको थियो । स्वर्ग जाने क्रममा हिमालय पर्वतमा पुगेपछि युधिष्ठिरका भाइहरू र द्रौपदी समेतको निधन भयो । त्यही कुकुर र युधिष्ठिर मात्र बाँकी रहे ।

यस्तो अवस्थामा इन्द्रले युधिष्ठिरलाई स्वर्ग लैजाने प्रस्ताव राखे । युधिष्ठिरले भाइहरू र द्रौपदी विना स्वर्ग जान नसक्ने बताए । इन्द्रले भने– तिम्रा भाइहरू र द्रौपदी स्वर्ग पुगिसकेका छन्, अब तिमी हिंड । युधिष्ठिरले कुकुरतिर देखाउँदै भने– म यसलाई समेत नलिई स्वर्ग जान सक्दिनँ । यदि यसलाई पनि स्वर्ग जाने अनुमति छ भने म जान तयार छु ।

इन्द्रले कुकुरलाई स्वर्ग जाने अनुमति नभएको कुरा सुनाए । उनले भने– तिम्रा भाइहरू आफ्नो मानव शरीर त्यागेर स्वर्ग गएका छन्, तर तिमी मानव शरीर समेतै स्वर्ग जान पाउनेछौ, त्यसैले कुकुर लैजाने हठ नगर । उनले सम्झाउँदै भने– तिमीले ठूलो अमरत्व प्राप्त गरेका छौ, पूर्ण लक्ष्मी र ठूलो सिद्धि प्राप्त गरेका छौ, अन्यथा कुरा नगर ।

युधिष्ठिरले जवाफ फर्काउँदै भने– देवराज मलाई भक्तको त्याग गरेर प्राप्त हुने पूर्ण लक्ष्मी र अमरत्वको लालच छैन, म कुकुरलाई छोडेर एक्लै स्वर्ग जान सक्दिनँ । उनी पृथ्वीमै फर्कन तयार भए ।

वास्तवमा कुकुर नै युधिष्ठिरको धर्म थियो, सत्य थियो । यमराजले नै कुकुरको रूपमा युधिष्ठिरको परीक्षण गरेका थिए । युधिष्ठिर सत्य र धर्मको परीक्षणमा पास भए । यमराजले युधिष्ठिरको लागि स्वर्गको ढोका खोलिदिए । र, युधिष्ठिर मानव शरीर सहित स्वर्ग जान सके ।

००० ०००

कुकुरसँग हाम्रो सम्बन्ध यति धेरै पुरानो छ, यति धेरै स्नेहपूर्ण र भावनात्मक छ तर अझै हामीले कुकुरको भावना बुझ्न सकेका छैनौं । उनीहरूसँग निकट त छौं तर उनीहरूको भावना बुझ्न नसक्दा कहिलेकाहीं उनीहरूको आक्रोशको शिकार हुनपुग्छौं र कहिलेकाहीं उनीहरूलाई अपहेलना, हिंसा र दुव्र्यवहार गर्न पुग्छौं ।

युजीले म लगायत परिवारको सदस्यलाई बेलाबेलामा आक्रोशित भएर टोक्यो किनभने हामीले उसको भावना, उसको पीडा, उसको अपेक्षा र समस्या बुझ्न सकेनौं । युजी परिपक्व र बलिष्ठ भएपछि बल्ल हामीले बुझ्यौं– त्यतिबेला उसलाई टोक्ने ऊभन्दा बलियो कुकुरबाट हामीले उसको प्रतिरक्षा गर्न नसकेको आक्रोश थियो, त्यो ।

अब उसले हामीलाई टोक्दैन किनभने ऊ आफैं आफ्नो प्रतिरक्षा गर्ने अवस्थामा छ । त्यति मात्र हैन अब उसले हाम्रो सुरक्षा समेत गर्छ । हामीसँग कसैले ठूलो स्वरमा कुरा ग¥यो भने सहँदैन, घरको सामान कसैले बाहिर लैजान खोज्यो भने दिंदैन ।

विश्वमा ४० करोडभन्दा बढी कुकुर रहेको अनुमान गरिन्छ । ती सबै कुकुरहरू पाल्तु छैनन् । धेरै कुकुरहरू सडकपेटीमा आफ्नो गुजाराको लागि फोहोर, दुर्गन्धित, सडेगलेका खानाको लागि आपसमा लडिरहेको देखिन्छ ।

कतिपय घरमा पालिएकै कुकुरले पनि आफ्नो चाहना अनुसारको व्यवहार पाउन सकेको देखिंदैन । यस्तो अवस्थामा ती कुकुरहरू बेलाबखत आक्रोशित हुने गर्छन् । उनीहरूको त्यो आक्रोशमा हामी उनीहरूको पीडा देख्दैनौं र हामी उनीहरूलाई कुकुर भनेर अपहेलना गर्दै विभिन्न तरिकाले यातना दिने गर्छौं । यही नै हामी मानव जातिको समस्या हो । अलिकता तल–माथि पर्नासाथ आफ्नो निकटलाई नै पनि जाइलाग्ने । त्यो निकटको भावना, समस्या, पीडा, चाहनाको हामीलाई मतलबै हुँदैन ।

मानिससँग यति धेरै घनिष्टता र असाध्य पुरानो सम्बन्ध रहेको कुकुरलाई मानिसले सत्यवादी युधिष्ठिरकै तहमा स्नेह, सम्मान र संरक्षण गर्नु जरूरी छ । त्यो घरपालुवा होस् वा सडकपेटीकै किन नहोस् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?