+
+

महिला एसियन कप छनोट : ३२ वर्षपछि नेपालले हङकङसँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते ८:३६

५ असोज, काठमाडौं । चौथो पटक महिला एसियन कप खेल्ने लक्ष्यसहित उज्वेकिस्तान पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टिम पहिलो खेलमै फिलिपिन्ससँग पराजित भएपछि सुरुमै धक्का लाग्यो ।

समूह एफ अन्तर्गत त्यस खेलमा नेपालले सुरुमै अग्रता लिए पनि अन्तिममा समहाल्नि नसक्दा दुई गोल बेहोरेको थियो ।

तीन टिम मात्र सम्मिलित समूहमा नेपालले आज हङकङसँग खेल्दैछ । समूह विजेता बनेर एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न पनि नेपाललाई आज स्पष्ट जितको आवश्यकता छ ।

समूह विजेता मात्र अर्को वर्षको एसियन कपकमा छनोट हुने भएकोले नेपालको लागि आजको खेल महत्वपूर्ण छ ।

३२ वर्षपछि हङकङसँग खेल्दै

नेपालको राष्ट्रिय महिला फुटबल टिमले ३२ वर्षपछि हङकङसँग खेल्न लागेको हो । सन् १९८६ मा हङकङमै भएको एफसी वुमेन्स च्याम्पियनसिपमार्फत नेपाली महिला टिमले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको थियो । जहाँ पहिलो खेलमै नेपाल हङकङसँग १-० ले पराजित भएको थियो ।

त्यसको तीन वर्षपछि सन् १९८९ मा भएको एसियन च्याम्पियनसिपमा पनि नेपाल हङकङसँग ३-० ले पराजित भएको थियो । त्यसको ३२ वर्षपछि यी दुई टोली आमने-सामने हुन लागेका हुन् ।

मंगलबार उज्वेकिस्तानको तास्केन्दस्थित जेएआर रंगशालामा भेट हुँदा हङकङ पुरानै नतिजा दोहोर्‍याउने लक्ष्यमा हुनेछ भने पहिलो पटक हङकङलाई हराउन चाहन्छ । खेल नेपाली समयअनुसार ३:४५ बजे सुरु हुनेछ ।

राष्ट्रिय टिमले हङकङलाई नहराए पनि नेपालको एपीएफ टिमले भने मैत्रीपूर्ण खेलमा हङकङलाई ३-१ ले पराजित गरेको थियो । त्यस खेल खेलेका केही खेलाडी अहिले राष्ट्रियमा टिममा समेत छन् ।

राम्रो नतिजा ल्याउने आशा

पहिलो खेलमा फिलिपिन्सविरुद्ध जित नजिक पुगेर पनि हार बेहोर्दा नेपाली टिमसँगै मुख्य प्रशिक्षक ग्यारी फिलिप्स निराश थिए । एन्फाको प्राविधिक निर्देशकसमेत रहेका ग्यारीले नेपाली खेलाडीमा अन्तर्राष्ट्रिय म्याचको अनुभवको कमी भएको बताएका थिए ।

यस्तै गोलकर्ता विमला चौधरी र डिफेण्डर पुजा रानाको चोटले पनि नेपाललाई असर गर्‍यो ।

दोस्रो खेलमा भने प्रशिक्षक ग्यारीले पनि राम्रो नतिजा ल्याउने आश गरेका छन् । उनले नेपालले जितकै लागि खेल्ने भन्न खोजेका हुन् ।

यस्तै कप्तान रेनुका नगरकोटले पनि पहिलो खेलमा आफैं सम्हालिन नसक्दा गोल बेहोरेको र दोस्रो खेलमा त्यो कमजोरी सुधार गर्दै खेल्ने बताएकी छिन् ।

नेपालको महिला टिमले सन् १९८६ र १९८९ सहित १९९९ गरी तीन पटक एसियन च्याम्पियनसिप खेलेको थियो । त्यसबेला छनोट खेल्नु नपर्ने भएकोले नेपालले सिधै एसियन च्याम्पियनसिप खेलेको थियो ।

तर अहिले भने छनोट चरण खेल्नुपर्नेछ । महिला विश्वकपको लागि समेत एसियन कप छनोटको आधार रहेकोले एसियन कपमा छनोट नहुने टिम भने विश्वकप होडबाट स्वत: बाहिरिने छन् ।

नेपालले हङकङविरुद्ध जित हात पारे मात्र एसिया कप पुग्ने सम्भावना कायम रहन्छ । बराबरी वा हारले भने नेपाल समूह चरणबाटै बाहिरिनेछ ।

यदी नेपालले हङकङलाई राम्रो नतिजामा हराउने र हङकङले फिलिपिन्सलाई पनि हराएमा तीन वटै टोलीको समान तीन अंक हुनेछ । यस्तोमा नेपाल शीर्ष स्थानमा रहने सम्भावना पनि रहन्छ । तर त्यसका लागि आज नेपालले हङकङलाई हराउनैपर्नेछ ।

हङकङका लागि भने पहिलो खेल भएकोले जस्तो नतिजा आए पनि छनोटको सम्भावना कायमै हुन्छ । यस समूहको शीर्ष टोलीमात्र अर्को वर्ष भारतमा हुने एसिया कपमा छनोट हुनेछ ।

फोटो : एनएसजेएफ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?