५ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७८ को बजेट पास हुन नसकेपछि सरकारको खर्च रोकिएको ५ दिनको अवधिमा २१ करोड रुपैयाँ बजेट खर्च भएको छ । बजेट पास नभएको अवस्थामा पनि संघीय सञ्चित कोषमाथि व्ययभार हुने रकम सरकारले निरन्तर खर्च गर्न पाउने प्रावधान छ ।
यसबीचमा राजस्व संकलनको काम भने प्रभावित भएको छैन । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार बजेट खर्च गर्न पाउने दिन भदौ ३० सम्म कुल बजेट खर्च ८९ अर्ब ७३ करोड ५ लाख रुपैयाँ रहेको थियो । त्यसयताको ५ दिन (सोमबारसम्म)मा बजेट खर्च २० करोड ९७ लाख रुपैयाँ खर्च भई कुल ८९ अर्ब ९४ करोड २ लाख रुपैयाँ बजेट खर्च पुगेको छ ।
अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न करीब ३ प्रतिशत हाराहारी कार्यक्रम चलाएर वर्तमान सरकारले २५ भदौमा प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेको थियो । यो विधेयक सोमबार प्रतिनिधिसभाबाट पारित भई मंगलबार राष्ट्रिय सभामा पेश भएको छ । राष्ट्रिय सभाबाट पारित भई पुनः प्रतिनिधिसभा, सभामुख हुँदै राष्ट्रपति कहाँ पुगेर प्रमाणाीकरण भएपछि मात्र बजेट कार्यान्वयनमा आउने छ । त्यसअवधि भित्र सरकारले संवैधानिक दायित्व बाहेकका क्षेत्रमा खर्च गर्न नपाउने प्रावधान रहेको छ ।
बजेट होलिडे चलिरहेको समयमा पनि सरकारले राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा, प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश र न्यायपरिषदका सदस्यको पारिश्रमिक र सुविधा, सवैधानिक निकायका प्रमुख र पदाधिकारीको पारिश्रमिक र सुविधा भने रोकिन्न ।
यसबीचमा प्रदेश प्रमुखको पारिश्रमिक र सुविधा र माथि उल्लेखित निकायका कार्यालयको प्रशासनीक खर्च, नेपाल सरकारको दायित्व ऋणसम्बन्धी व्ययभार र नेपाल सरकारविरुद्ध अदालतबाट भएको फैसला/आदेश अनुसारको भुक्तानी दिनुपर्ने रकम समेत खर्च हुन्छ ।
यो विधेयक पास भएपछि ३१ भदौपछि भएका सबै खर्चले वैधानिकता पाउने छ । सरकारले चालु आवमा ल्याएको अध्यादेश बजेटबाट चालु खर्चमा केही कटौती र पुँजिगत खर्च बढाउँदै प्रतिस्थापन विधेयक ल्याएको छ ।
साढे ११ अर्ब राजस्व संकलन
५ दिनको अवधीमा सरकारले ११ अर्ब ५८ करोड ९५ लाख रुपैयाँ राजस्व संकलन गरिसकेको छ । बजेट होलिडेको अन्तिम दिन ३० भदौसम्म चालु आवमा सरकारले कुल १ खर्ब ६४ अर्ब ६६ करोड ८३ लाख रुपैयाँ राजस्व उठाएको थियो । यसमा कर र गैरकर दुबै राजस्वको हिस्सा समावेश छ । त्यसपछिको ६ दिन (सोमबारसम्म) भने राजस्व १ खर्ब ७६ अर्ब २५ करोड ७८ लाख रुपैयाँ संकलन भएको । यसमा समेत कर र गैरकर दुवै प्रकारको राजस्व समावेश छ ।
बजेट होलिडे शुरु भएपछि राजस्व र बजेट खर्च
शीर्षक | ३० भदौ २०७८ (रु.) | ४ असोज (रु.) |
राजस्व संकलन | १ खर्ब ६४ अर्ब ६६ करोड ८३ लाख | १ खर्ब ७६ अर्ब २५ करोड ७८ लाख |
चालु खर्च | ५८ अर्ब ३९ करोड ४२ लाख | ५८ अर्ब ५९ करोड ७८ लाख |
पुँजिगत खर्च | २ अर्ब ६० करोड ४० लाख | २ अर्ब ६१ करोड १ लाख |
वित्तीय व्यवस्था | २८ अर्ब ७३ करोड २३ लाख | २८ अर्ब ७३ करोड २३ लाख |
कुल बजेट खर्च | ८९ अर्ब ७३ करोड ५ लाख | ८९ अर्ब ९४ करोड २ लाख |
विधेयक पारित भएपछि निजी क्षेत्रको स्वागत
प्रतिस्थापन विधेयक प्रतिनिधिसभाबाट पास भएको अवस्थाले अन्यौलता चिरेको भन्दै निजी क्षेत्रले स्वागत गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै अब अर्थतन्त्रलाई अगाडि बढाउन सहयोग पुग्ने बताएको छ ।
कोभिड महामारीबाट नागरिकको जीवन रक्षा गर्ने र शिथिल अर्थतन्त्र पुनरुत्थान गरी उच्च दरको आर्थिक वृद्धि हासिल गर्ने बजेटका उद्देश्यले निजी क्षेत्र उत्साहित बनेको भन्दै महासंघले स्वागत गरेको हो । निजी क्षेत्रलाई आर्थिक विकासको सम्बाहकका रुपमा परिभाषित गर्दै अनुकुल व्यवसायिक वातावरण सिर्जना गर्ने घोषणालाई समेत महासंघले सकारात्मक भनेको छ ।
प्रतिक्रिया 4