 
																			३१ असोज, पाल्पा । रामपुरमै पहिलो पटक खुलेको ‘चिल्ड्रेन फनपार्क’मा यतिखेर सबैको आकर्षण बढेको छ । बालबालिकालाई लक्षित गरी हालैमात्र रामपुर नगरपालिका–५ स्थित बेझाड खेतमा सुरु गरिएको फनपार्क अहिले पर्यटकको गन्तव्यस्थल बन्न थालेको छ ।
विशेषगरी यहाँ साँझपख आन्तरिक पर्यटकको भीड लाग्ने गरिन्छ । दिनभरको कार्यालयको थकान मेट्ने र बालबालिका भुलाउने माध्यम बनेको छ, फनपार्क । विद्यालय बिदाको समय र दसैँपर्व भएकाले पनि अहिले यहाँ बालबालिकाको भीड लागेको छ ।
पार्कभित्र विभिन्न प्रकारका पिङ, चिप्लेटी, जम्पिङलगायत एक दर्जनभन्दा बढी मनोरञ्जनात्मक खेलका सामग्री उपलब्ध छन् । खेलकूदका लागि प्रतिव्यक्ति रु ५० र अवलोकनका निम्ति रु २० प्रवेश शुल्क तोकिएको छ ।
स्थानीयवासी गोविन्द पाण्डे र शोभा पाण्डेले यहाँको पर्यटन विकास र बालबालिकालाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले करिब रु ४० लाखको लगानीमा सो फनपार्क सञ्चालनमा ल्याउनुभएको छ । एक महिनाअघि देखि सुरु भएको पार्कमा दैनिक दुई सयदेखि पाँच सयसम्म बालबालिका आउने गरेका छन् ।
रामपुरमा जनघनत्व बढ्दै गएको अवस्थामा पर्यटन विकास गर्न र यहाँको आवश्यकतालाई मध्यनजर गर्दै बालबालिकालाई लक्षित गरी फनपार्क सञ्चालनमा ल्याएको सञ्चालक गोविन्द पाण्डेले बताए । ‘बालबालिकालाई बिदाको समय घुम्ने र खेल खेल्ने ठाउँ नहुँदा उनीहरुलाई दृष्टिगत गर्दै कमसेकम विभिन्न मनोरञ्जन दिन सकियो भने मानसिक विकास हुनेछ भन्ने मनसायले पार्क सञ्चालनमा ल्याइएको छ’, उनले भने ।
अहिले सुरुआती चरणमा बालबालिकालाई लक्षित गरी विभिन्न खेलजन्य मनोरञ्जनका सामग्री प्रयोगमा ल्याइएको छ भने अब युवायुवतीलाई पनि मनोरञ्जन प्रदान गर्ने खालका सामग्रीको बन्दोबस्त गर्ने उनको भनाइ छ । एघार वर्षसम्म बहराइनमा बस्नुभएका पाण्डेले विदेशको अनुभव र यहाँको प्रचुर सम्भावना देखेर पार्कको अवधारणा ल्याएका हुन् ।
बालबालिका मात्रै नभएर सबै उमेर समूहका व्यक्ति अवलोकनका निम्ति यहाँ आउने गरेको सञ्चालक शोभा पाण्डेले बताए । दशवर्ष सम्मका लागि चार रोपनी जग्गा भाडामा लिएर पार्कको पूर्वाधार तयार पारी सञ्चालनमा ल्याइएको छ । हाललाई एक वर्षको भाडा रु एक लाख २५ हजार छ ।
विद्यालय छुट्टीको समय बेला बेलामा पार्कमा आएर खेल खेल्दा धेरै रमाइलो लागेको विधान सिग्देलले अनुभव सुनाए । रामपुरमा पहिलो पटक बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको फनपार्कले बिदाको समय बच्चाबच्ची भुलाउने माध्यम बनेको स्थानीयवासी इन्द्रराज सिग्देलले बताए।
‘विद्यालय बिदाको बेला बच्चाबच्चीले घुम्न जान मन गर्ने, नजिक घुमाउने खालको मनोरञ्जनको ठाउँ नहुँदा उनीहरुको रहर पूरा गर्न सकिएको थिएन, अहिले बच्चाबच्चीलाई लक्षित गरी विभिन्न मनोरञ्जन प्रदान गर्न पार्कमा ल्याउन पाइएको छ”, उनले भने ।
विशेषगरी विद्यालय बिदाको समय बालबालिकाले अन्यन्त्र घुम्न जान मन गर्छन् । मनोरञ्जनकै लागि उनीहरुले भनेको समयमा बाहिर लिएर जान कहिलेकाहीँ अभिभावकलाई समय मिल्दैन भने कतिलाई अन्यत्र लैजान आर्थिक समस्या हुन्छ ।
यसकारण पनि यहाँ बालबालिकालाई मनोरञ्जन दिलाउन सञ्चालन गरिएको पार्कले रामपुरको पर्यटन विकासमा ठूलो योगदान दिने रामपुर नगरपालिका-५ का सदस्य विष्णुप्रसाद बस्यालले बताए । उनले भने, ‘रामपुरको पर्यटन क्षेत्रको विकासका लागि फनपार्कको आवश्यकता थियो । यहाँको पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । महिना दिन अघिमात्रै सुरु गरिएको पार्कमा दिनहुँ भीड लागिरहेको छ।’
राम्रै धान उत्पादन हुने खेतलाई पार्क बनाइएको छ । यो पार्क अहिले बालबालिका मात्रै नभइ सबै उमेर समूहको आकर्षण बनेको छ । बालबालिकालाई बिदाको समय मनोरञ्जनका खेल सामग्री खेलाउन बुटवल, पोखरालगायतका सहरमा लैजानुपर्ने बाध्यता टरेको छ ।
यहाँभित्र बालबालिकाका लागि विभिन्न मनोरञ्जनका खेल सामग्री, फोटो खिचाउनका लागि विभिन्न दृश्य छन् । यसले गर्दा पनि बालबालिका मात्रै नभइ युवायुवती पनि फोटो खिचाउन र अवलोकनका निम्ति यहाँ पुग्ने गरेका छन् । रामपुरमै पहिलो पटक सुरुवात भएकाले पनि यसले सबैको मन तानिरहेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4