
२५ कात्तिक, काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ दिंदै काठमाडौंवासीले पनि छठ पर्व समापन गरेका छन् ।
काठमाडौंका गौरीघाट, कमलपोखरी, गहनापोखरी, नागपोखरी तथा वाग्मती, नख्खु र विष्णुमती नदी किनारबाट व्रतालुले उदाउँदो सूर्यलाई अर्घ दिएर छठको पूजाविधि समाप्त गरेका हुन् ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व सोमबारदेखि शुरु भएको थियो । छठको मुख्य दिन बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो ।
छठमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने जनविश्वास रहिआएको छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।
छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही व्रतालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याज लगायत तामसी खाद्यपदार्थ नखाई सात्विक भोजन गर्दछन् ।
प्रतिक्रिया 4