
३० कात्तिक, काठमाडौं । नारायणहिटीको पृष्ठभूमिमा उभिएको दरबारमार्ग दिनभर जाग्छ । त्यसैगरी रातभर पनि जाग्राम बस्छ । मध्य शहरको यो एक यस्तो क्षेत्र हो, जो हरदम व्यस्त र मस्त हुन्छ । कोभिड मत्थर हुँदै जाँदा दरबारमार्गको यो चमकदमक अरु प्रगाढ बन्दैछ ।
दरबारमार्गको आफ्नो बेग्लै शान-सौकात छ । ब्राण्डेड लत्ताकपडा किनमेलका लागि होस् वा विश्वभरका व्यञ्जनका स्वाद लिन, सौखिनहरु त्यहाँ पुग्छन् ।
खाना पारखीको लागि दरबारमार्गले नयाँ–नयाँ मेनु पस्कँदैछ । यसैमा थपिएको छ, ‘हार्ड रक क्याफे’ । बाहै्रमास व्यस्त सपिङ कम्प्लेक्स शेर्पा मलको दोस्रो तला उक्लिएपछि हार्ड रक क्याफे भेटिन्छ । यहाँ एक आउटलेट छ, हार्ड रकको ।
यहाँ त्यस्ता बान्कीका पहिरन लगायतका एक्सेसरिज उपलब्ध छन्, जो हार्ड रक ब्रान्डको हो । हार्ड रकको लत्ताकपडासहित अन्य एक्सेसरिज पनि यहाँ देख्न सकिन्छ । भनिहालौं, हार्ड रकको इतिहास यस्तै अमूल्य उपहारहरुको संग्रहबाट शुरु भएको थियो ।
‘हार्ड रक’ ब्राण्डले समय र स्थान अनुसार सीमित संस्करण मात्र निकाल्ने भएकाले पनि यसको महत्व बढी हुने बताइन्छ । क्याफेमा पहिरनको चर्चा सुनेर तपाईं अलमलमा पर्नुभयो होला । खासमा यो खानपानकै गन्तव्य हो । त्यसमा पनि बर्गरको । अब दुई तलामाथि उक्लिनुपर्छ, जहाँ हामीलाई हार्ड रक क्याफेले स्वागत गर्नेछ ।
हार्ड रकको टेबलमा पुग्नुअघि यसको बारेमा थोरै जानकारी लिऔं ।
विश्व फन्को लगाउने मेनु
हार्ड रक एक अन्तर्राष्ट्रिय फ्रेन्चाइज हो, जसको स्थापना अमेरिकामा भएको थियो । सन् १९७१ मा । पिटर मार्टन र आइज्याक टाइग्रेटले हार्ड रक क्याफे थिमको यो रेष्टुरेन्ट शुरु गरेका थिए । सन् १९९७ मा यसले आफूलाई थप परिमार्जन गर्दै रक एण्ड रोललाई पनि समावेश गर्यो । अन्ततः यसले आफ्नै विशिष्ट व्यञ्जनसहित आगन्तुकलाई सांगीतिक खुराक पनि पस्किन थाल्यो ।
सन् २००६ हार्ड रक सेमिनोल फ्लोरिडाको जनजातिलाई बेचियो र यसको मुख्यालय ओर्लाण्डो फ्लोरिडामा सारियो । यसैको फ्रेन्चाइज अहिले विश्वभर फैलिएको छ । विश्वका ५० बढी मुलुकमा दुई सयको हाराहारीमा हार्ड रकको शाखा विस्तार भएको छ ।
हार्ड रक ब्राण्डमा क्याफे, होटल र क्यासिनोहरु सञ्चालनमा छन् । जुन २०२१ मा कम्पनीले आफ्नो ५० औं वार्षिकोत्सव मनाइरहँदा विख्यात फुटबलर लियोनल मेस्सीलाई हार्ड रकले आफ्नो ब्राण्ड एम्बासडरको रुपमा घोषणा गर्यो ।
दरबारमार्गमा ‘हार्ड रक’
शेर्पा मलको दोस्रो तला उक्लिएपछि तपाईं हार्ड रकको सम्मुखमा पुग्नुहुनेछ । विश्वमै प्रसिद्ध हार्ड रकको यो फ्रेन्चाइज दुई महिनाअघि मात्र सञ्चालनमा आएको हो । कोभिड मत्थर भएसँगै दरबारमार्गमा हार्ड रक क्याफे शुरु गरिएका यसका सञ्चालकमध्येका एक सञ्जीव तुलाधार बताउँछन् ।
दिनभरको थकान मेट्न होस् वा आरामदायक खानपानका लागि हार्ड रकले तपाईंलाई स्वागत गर्नेछ । यहाँ तपाईं अनेकथरी पेयका साथमा कन्टिनेन्टल व्यञ्जन चाख्न सक्नुहुनेछ । यहाँ पुगेपछि तपाईंले बर्गरको स्वाद लिनैपर्छ, जो अन्यत्र भन्दा खास लाग्न सक्छ ।
तपाईं बारमा बसेर मधुरसको स्वादमा रमाउनुहुन्छ वा रक संगीतमा झुम्दै मीठा मसिना परिकार चाख्नुहुन्छ, मर्जी आफ्नो । किनभने यहाँ यी दुवै विकल्प खुला छ ।
हार्ड रकमा हरेक साँझबाट प्रत्यक्ष सांगीतिक प्रस्तुति सुन्न र हेर्न पाइन्छ । खासगरी रक संगीतका पारखीलाई यसले बढी आकर्षित गर्छ । यहाँको खान्की मात्र होइन, माहौलले पनि आगन्तुकलाई लोभ्याउँछ ।
भिडियो : गारव योञ्जन
प्रतिक्रिया 4