+
+

रचना रिमाल : छोटो समयमै एक हजार बढी गीतमा गुञ्जिएको स्वर

‘स्टुडियोदेखि स्टेजसम्म व्यस्त, आफ्नै कमाइले झापामा ठडिँदैछ घर’

सुशील नेपाल सुशील नेपाल
२०७८ पुष १७ गते २०:०३

१७ पुस, काठमाडौं । ‘फोटो फिरिममा, कहिले मिलन कहिले बिछोड मया पिरिममा…।’

रचना रिमालको स्वरमा सार्वजनिक यो गीत निकै रुचाइयो । गीतसँगै गायिका रचनाको स्वरको पनि उत्तिकै प्रशंसा भयो । उनलाई एकपछि अर्को गीतको अफर आउन थाल्यो । एउटा होइन, दुइटा होइन । पाँच, दश हुँदै गीत अफरको संख्या ३५ पुगिसक्यो । तर, गीत रेकर्डिङ गर्नका लागि रचना काठमाडौंमा थिइनन् ।

यो २१ महिना अगाडिको कुरा थियो । ‘फोटो फिरिममा’ गीत सार्वजनिकसँगै उनी आफ्नो घर झापा चन्द्रगढी फर्किएकी थिइन् । कोरोना महामारीका कारण लकडाउन जारी भएको केही समय भइसकेको थियो । ‘केही दिनमा आइहाल्छु, अनि गाउँछु ल !’ अफर गर्नेहरु सबैलाई यसै भनिरहेकी थिइन् रचना ।

जसोतसो बन्दोबस्त मिलाएर उनी केही दिनमा काठमाडौं आइन् । तय भएकामध्ये अधिकांश गीत पालैपालो रेकर्डिङ गर्न थालिन् । जति-जति गीत रेकर्डिङ गराउँदै गइन्, नयाँ गीतका अफरहरु अझ बढ्न थाले ।

तीज नजिकियो । ‘आयौं चेली’ बोलको तीज गीतमा स्वरसँगै अभिनय गरिन् । गीत रुचाइयो, रचनाको व्यस्तता झन्-झन् बढ्यो । यस्तो समय आयो, एकैदिन ३-४ वटा गीत रेकर्डिङ गर्नुपर्ने ।

उनका गीतको संख्या बढ्यो, धमाधम सार्वजनिक हुन पनि थाले । एकपछि अर्को गीत स्रोता-दर्शकले रुचाउँदै गए ।

‘मिनरल वाटर’, ‘पहिलो पल्ट भेट हुँदा’ जस्ता गीतहरु रुचाइए । राष्ट्रकवि माधवप्रसाद घिमिरेको रचना र नारायण रायमाझीको संगीतमा प्रविन बेडवालसँग गाएको ‘उनको प्रीति’ बोलको गीत त निक्कै चर्चित भयो ।

‘नमुछे आमा दहीमा टीका’को नयाँ भर्सन, ‘सुनन पियारी’ ‘चाहन्छु’, ‘सम्झिनी पानी छम्किनी’, ‘भन साइँला’ जस्ता उनका थुप्रै गीतहरु पनि रुचाइएका छन् ।

त्यसो त, रचनाले सांगीतिक करिअर शुरु गरेको लामो समय पनि भएको छैन । आफ्नो पहिलो चर्चित गीत ‘फोटो फिरिममा’ सार्वजनिक भएको दुई वर्ष नहुँदै उनको स्वर एक हजारभन्दा बढी गीतमा गुञ्जिइसकेको छ । १८ वर्षको सानो उमेरमै र छोटो अवधिमै रचनाले पाएको सफलता साँच्चिकै लोभलाग्दो छ ।

स्टेजमा पनि उत्तिकै व्यस्त

कोरोना महामारीका कारण गत वर्ष मेला-महोत्सव तथा स्टेज कार्यक्रम खासै भएनन् । त्यसैले हिजोका दिनमा रचनाको व्यस्तता स्टुडियोमा केन्द्रित थियो । अहिले स्टेजतिर पनि उत्तिकै छाएकी छन् ।

‘महोत्सवबाट हिजो साँझ काठमाडौं फर्किएकी हुँ । हिजो साँझ नै एउटा गीत रेकर्डिङ गरें । आज दुईवटा गीतको रेकर्डिङ सकेर आएकी हुँ,’ व्यस्त दैनिकीकै बाबजुद केही दिनअघिको भेटमा रचनाले भनिन्, ‘दुई/तीन दिनमा केही गीतको रेकर्डिङ सकेर फेरि मेला-महोत्सवतिरै जानुछ । अंग्रेजी नयाँ वर्षको दिन दार्जिलिङमा सांगीतिक प्रस्तुति दिँदैछु ।  त्यसपछि पुस अन्त्यसम्मै नियमितजसो मेला-महोत्सवको सेड्युल छ । माघका लागि पनि थुप्रै जिल्लाबाट मेला महोत्सवको लागि कुरा भएको छ ।’ यतिबेला उनी सांगीतिक प्रस्तुतिका लागि दार्जिलिङ पुगिसकेकी छिन् ।

आफ्ना गीतलाई जस्तै स्टेजमा पनि आफूले स्रोता-दर्शकबाट एकदमै माया पाउने गरेको  रचना बताउँछिन् । स्टेज कार्यक्रममा जाँदा उनी अनेकथरी फ्यान भेट्छिन्, कोही टाढाटाढादेखि भेट्न आएको बताउँदै फोटो खिच्छन् । कोही विभिन्न उपहारहरु ल्याएर दिन्छन् ।

‘अस्ति भर्खरै ताप्लेजुङमा एक जना दिदी म तपाईंलाई भेट्न पाँच घण्टा हिँडेर आएकी हुँ भन्नुभयो । ताप्लेजुङमा एउटा होटलको दाइले किवी लगायत फलफूलहरु कोसेली भनेर पठाउनुभएको छ,’ रचनाले उत्साहित भावमा फ्यानका केही किस्सा सुनाउँदै भनिन्, ‘सिमरामा पनि एक जना महिलाले कार्टुन ल्याएर दिनुभयो । पछि होटल गएर हेर्दा कार्टुनभरि चाउचाउ थियो ।’ सांगीतिक प्रस्तुतिकै लागि दुईपटक दुबई समेत पुगेकी रचनालाई त्यहाँ फ्यानले लकेटदेखि ब्याग, परफ्युमसम्म उपहार दिएका थिए । फ्यानहरुबाट यस किसिमको माया पाउँदा एकदमै खुशी लाग्ने र आगामी दिनमा सांगीतिक क्षेत्रमा अझै राम्रो काम गर्न हौसला मिल्ने उनी बताउँछिन् ।

सानैदेखि भजन गाउँथिन्

झापाको चन्द्रगढीमा सामान्य परिवारमा जन्मिएकी हुन् रचना । आमाले दुई वर्ष अगाडिसम्म घरछेउमै घुम्ती पसलमा चटपटे बेच्थिन् । बुवा पहिले वैदेशिक रोजगारीमा थिए । अहिले घर फर्किएर अटो चलाउँछन् । तीन दिदी-बहिनीमा माइली रचना सानैदेखि भजन गाउँथिन् । भजन गाएको मन पराएर कतिले उनलाई पैसा समेत दिन्थे ।

रचना सुनाउँछिन्, ‘म भर्खरै नेपाल आइडलबाट आउट भएकी थिएँ । शिशिर दाइको त्यो स्टाटसमा धेरैले मेरो नाम लिनुभएको थियो । धेरै जनाले गर्नुभएको तिनै कमेन्टले मैले ‘फोटो फिरिममा’ गीत गाउन पाएँ ।’

कक्षा ४ देखि प्राइभेट विद्यालय पढेकी रचना सोही वर्ष विद्यालयको प्रतियोगितामा गीत गाएर प्रथम भइन् । त्यसपछि शिक्षकहरुले सिकाएर बाहिरको प्रतियोगिताहरुमा समेत लैजान थाले । कक्षा ५ मा पढ्दा रचना विद्यालयस्तरीय प्रतियोगितामा गाएकी थिइन् । सो प्रतियोगितामा उनले तारादेवीको गीत ‘उकाली ओरालीहरुमा’ गाएकी थिइन्, प्रथम भइन् । ‘पुरस्कारस्वरुप डायरी र पाँच सय रुपैयाँ पुरस्कार पाएकी थिएँ,’ उनले त्यो दिन सम्झिँदै भनिन्, ‘त्यहाँबाट बल्ल गाउन सक्छु जस्तो भयो । गायनमा एकदमै प्रोत्साहित भएँ ।’

बाल्यकालमा उनको लगाव भजनमा थियो । जब गीत गाएर पुरस्कार पाउन थालिन्, बुबाले ल्याएको स्क्रिनटच मोबाइल लिएर वाइफाइ भएको छिमेकीका घरमा पुग्थिन् । अनि आफूलाई मन परेका गीतहरु डाउनलोड गर्थिन् । तिनै गीत सुनेर सिक्न थालिन् । त्यसो समय तारादेवी, अरुणा लामा, भक्तराज आचार्य लगायतका गीतहरु बढी सुन्ने गरेको रचना बताउँछिन् ।

विद्यालयमा नृत्य सिकाउने एक जना शिक्षिका थिइन्, जसले गीत एकदमै रुचाउँथिन् । उनले रचनालाई गीत गुनगुनाउन लगाइरहन्थिन् । गुनगुनाउन लगाउने मात्र होइन, गाउँदै गरेको भिडियो मोबाइलले खिचेर आफ्नै अकाउण्टबाट एउटा ग्रुपमा समेत पोष्ट गरिदिन्थिन् । सो गु्रपमा जसले पनि गीत गाएर पोष्ट गर्न मिल्थ्यो । त्यतिबेला रचना कक्षा ९ मा पढ्दैथिइन् । गु्रपमा पोष्ट गरिएका भिडियोमा एकदमै राम्रो प्रतिक्रिया आउँथ्यो । शिक्षिकाले ती प्रतिक्रियाहरु देखाउँदा फुरुङ्ग हुन्थिन् रचना ।

सोही गु्रपमा प्रतियोगिता समेत राखिएको थियो, जसको धेरै लाइक कमेन्ट आउँछ ऊ विजेता हुने । तिनै शिक्षिकाले रचनाको भिडियो पोष्ट गरिदिइन् । रचना विजेता बनिन् अनि हार्मोनियम जितिन् । त्यसपछि आफूमा संगीतको नसा एकदमै बढेर गएको रचना सुनाउँछिन् । उनी सोही हार्मोनियममा ‘सारेगमप…’ आलाप्न थालिन् । आमा-बुबाबाट भने गायनमा सधैं साथ र सपोर्ट रहेको उनले सुनाइन् ।

घरछेउमै रहेको चटपटे पसलमा साँझ-बिहान र बिदाको समयमा रचनाले पालो दिन्थिन् । पसलमा गीत गुनगुनाउँदै बस्थिन्, चटपटे खान आएका ग्राहकलाई बनाएर दिन्थिन् । चटपटे बनाउने क्रममा केही युट्युबर त्यहाँ पुगेर रचनाको अन्तवार्ता लिए । र, युट्युबमा ‘चटपटेवाली गायिका’का रुपमा प्रस्तुत गरे । जुन भिडियो स्रोता-दर्शकले निकै रुचाए । सोही भिडियोबाट रचनालाई ‘चटपटेवाली गायिका’ भनेर चिन्नेहरु प्रशस्त भइसकेका थिए ।

वसन्तले दिए पहिलो गीतनेपाल आइडल बन्यो ‘टर्निङ प्वाइन्ट’

रचना ‘चटपटेवाली गायिका’ भनेर भाइरल भएकी थिइन् । त्यतिबेला उनी बेलाबेला गीत गाएर भिडियोहरु फेसबुकमा पोष्ट समेत गर्थिन् । संगीतकार वसन्त सापकोटालाई आफैंले रिक्वेस्ट पठाएर फेसबुकमा साथी बनाइसकेकी थिइन् । रचनाले फेसबुकमा गीत गाएर पोष्ट गरेको ‘क्लिप’ सापकोटालाई मन परेको रहेछ ।

एक दिन संगीतकार सापकोटाको रचनालाई म्यासेज आयो, ‘नानी तिम्रो स्वर एकदमै राम्रो लाग्यो । काम गर्नुपर्छ ल ।’ सापकोटाको म्यासेजले रचनामा खुशीको सीमा रहेन ।

सापकोटाले गीत रेकर्डिङका लागि काठमाडौं बोलाए । बुबालाई लिएर काठमाडौं आइन्, वसन्तको शब्द तथा संगीतमा रचनाको पहिलो गीत रेकर्ड भयो, ‘रुमाल चिनो’ । जतिबेला रचना कक्षा १० मा पढ्दै थिइन् ।

रचना आफ्नो भिडियोमा आउने कमेन्ट पढिरहन्थिन् । ‘नेपाल आइडलमा जाऊ’ भन्ने कमेन्टहरु थुप्रै आउँथे उनलाई । रचना आफैं पनि नेपाल आइडलको नियमित दर्शक थिइन्, उनलाई त्यहाँ गएर गाउने धोको थियो । अडिसनबारे जानकारी पाएपछि नेपाल आइडलमा जाने आँट गरिन् । सयौंबाट छानिइन्, प्रस्तुति दिँदै गइन् । स्रोता-दर्शकबाट तारिफ बटुल्दै उत्कृष्ट आठसम्म पुगिन् । उनले तीन पटकसम्म सबैभन्दा बढी भोट पाएकी थिइन् । उत्कृष्ठ ८ बाट भने उनी बाहिरिइन्, तर त्यसपछि उनको सांगीतिक यात्राको वेग तीव्र हुँदै गयो ।

स्रोताको कमेन्टले पाएको ‘फोटो फिरिममा’

छरछिमेकका दाइहरु विदेश गएर पैसा कमाएर नयाँ घर ठ्डयाइरहेका हुन्थे । ‘गाउँमा त्यस्तो देखेर पनि होला, म पनि विदेश गएर पैसा कमाएर घर बनाउँछु भन्ने सोच्थें,’ रचना भन्छिन्, ‘तर गीत गाएर घर बनाउँछु भनेर कहिल्यै सोचेकी थिइनँ ।’

नेपाल आइडलमा गएपछि आफूलाई चिन्ने र माया गर्नेहरु ह्वात्तै बढेको रचना बताउँछिन् । त्यही मायाले नै आफूले ‘फोटो फिरिममा’ गाउने अवसर पाएको उनले खुलाइन् ।

कलाकार शिशिर भण्डारी नयाँ गीत ल्याउने तयारीमा थिए । आफ्नो शब्द तथा संगीत रहेको ‘फोटो फिरिममा’ गीत कुन गायिकालाई गाउन दिँदा ठीक होला ? भनेर शिशिरले फेसबुकमा प्रश्नसहितको स्टाटस राखेका थिए ।

रचना सुनाउँछिन्, ‘म भर्खरै नेपाल आइडलबाट आउट भएकी थिएँ । शिशिर दाइको त्यो स्टाटसमा धेरैले मेरो नाम लिनुभएको थियो । धेरै जनाले गर्नुभएको तिनै कमेन्टले मैले ‘फोटो फिरिममा’ गीत गाउन पाएँ ।’

कल्पना बाहिरको माया

रचना आफू यो स्थानसम्म आउँछु भनेर कहिल्यै नसोचेको बताउँछिन् । ‘एउटा-दुइटा गीत रेकर्ड गर्न पाए हुन्थ्यो भन्ने चाहिं पहिल्यैदेखि थियो । नेपाल आइडलमा जाँदा पनि दुई तीनवटा गीत पाउँछु होला भन्ने लाग्थ्यो । यसरी व्यस्त हुन्छु, स्रोता दर्शकहरुको यति धेरै माया पाउँछु होला भन्ने सोचेकै थिइनँ,’ उनी भन्छिन् ।

साँघुरो घर भत्काएर पक्की घर बनाउने रचनाको सानैदेखिको धोको थियो । छरछिमेकका दाइहरु अष्टे«लिया, अमेरिका गएर पैसा कमाएर नयाँ घर ठ्डयाइरहेका हुन्थे ।

‘गाउँमा त्यस्तो देखेर पनि होला, मलाई पनि विदेश गएर पैसा कमाएर घर बनाउँछु भन्ने सोच्थें,’ रचना भन्छिन्, ‘तर गीत गाएर घर बनाउँछु भनेर कहिल्यै सोचेकी थिइनँ ।’ यति भनिरहँदा रचनाले सांगीतिक क्षेत्रकै कमाइले झापामा पक्की घर ठड्याउँदैछिन् ।

उनको गायकीलाई मात्र होइन, उनले गर्ने रमाइला जवाफलाई रुचाउनेहरु पनि प्रशस्त भेटिन्छन् । उमेर सुहाउँदो उनको निर्दोषपन अनि रमाइला खालका कुरालाई लिएर कति ‘ट्रोल’ समेत बन्ने गरेका छन् ।

‘बाँचुन्जेल कति सकिन्छ गीत गाउने हो । स्रोता-दर्शकलाई राम्रा-राम्रा गीत दिने हो,’ संगीत कक्षामा जान हतार गरिरहेकी रचनाले कुराकानीको वीट मार्ने क्रममा भनिन्, ‘महोत्सवतिर व्यस्त हुँदा संगीत कक्षा छुटिरहेको छ । काठमाडौंमै हुँदा चाहिं छुटाउनु हुँदैन ।’

उनी भन्छिन्, ‘मैले बोलेको कुरालाई लिएर कतिपय हाँस्नुहुन्छ । ती कुरा कतिलाई राम्रो लाग्ला, कतिपयलाई नाटकजस्तो पनि लाग्ला । तर, मलाई सोचेर बोल्न आउँदैन । जे मनमा लाग्यो त्यो भनिहाल्छु ।’ सांगीतिक क्षेत्रमा आएपछि स्रोता-दर्शकले दिएका कतिपय कमेन्टहरुलाई भने मनन् गर्दै लगेको समेत रचनाले बताइन् ।

संगीत पढ्नेचलचित्रमा गाउने

रचना सानैदेखि पढाइमा अब्बल छिन् । एसईईमा ‘ए ग्रेड’ ल्याएकी उनले यसै वर्ष ‘ए ग्रेड’मै कक्षा १२ उत्तीर्ण गरेकी छन् । झापा भद्रपुरको प्रज्ञा एकेडेमीबाट कक्षा १२ उत्तीर्ण गरेकी रचना अब काठमाडौंमा संगीत विषय लिएर स्नातक तह अध्ययन गर्ने तयारीमा छिन् ।

‘ललितकला क्याम्पसमा संगीत पढने सोचेकी छु । केही दिनमा भर्ना हुन्छु,’ उनले सुनाइन् । करिअरको जति महत्व छ, त्यति नै औपचारिक अध्ययनको महत्व रहेको रचनाको बुझाइ छ । रचनाले कक्षा ९ मा पढ्दै गर्दा झापामा केही समय संगीत प्रशिक्षण पनि लिएकी थिइन् ।

अहिले फेरि उनी धेरै गायक÷गायिकाका गुरु एवं संगीतकार चण्डीप्रसाद काफ्लेसँग संगीत शिक्षा प्रारम्भ गरेकी छन् ।

रचनाले ‘धुर्मुस-सुन्तली’को ‘म त मर्छु कि क्या हो’ चलचित्रमा पनि गीत गाइसकेकी छिन् । जुन चलचित्र ओटीटी प्लेटफर्ममा सार्वजनिक भइसकेको छ । अन्य चलचित्रहरुमा पनि गीत गाउने रहर रहेको उनले सुनाइन् । रचनाको जीवनको सम्पूर्ण चाहना र सपना सांगीतिक क्षेत्रमै छ । ‘बाँचुन्जेल कति सकिन्छ गीत गाउने हो । स्रोता-दर्शकलाई राम्रा-राम्रा गीत दिने हो,’ संगीत कक्षामा जान हतार गरिरहेकी रचनाले कुराकानीको वीट मार्ने क्रममा भनिन्, ‘महोत्सवतिर व्यस्त हुँदा संगीत कक्षा छुटिरहेको छ । काठमाडौंमै हुँदा चाहिं छुटाउनु हुँदैन ।’ त्यसपछि रचना लागिन् संगीत गुरु चण्डीप्रसाद काफ्लेकहाँ ।

तस्वीर : आर्यन धिमाल

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?