
२६ पुस, काठमाडौं । संसदीय समितिले रासायनिक मलको अभावबारे पाँच दिनभित्र लिखित जानकारी पेश गर्न कृषि तथा पशुपन्छी मन्त्री र सचिवलाई निर्देशन दिएको छ ।
सोमबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले समितिमा उपस्थित भएर मलको उपलब्धताबारे लिखित जानाकारी दिन निर्देशन दिएको हो ।
देशभर रासायिनक मल अभाव हुँदा कृषि चक्र नै प्रभावित भएको भन्दै मल अभावमा प्रधानमन्त्री र मुख्यसचिवलाई नै जिम्मेवार बनाउनु पर्नेमा सांसदहरुले जोड दिएका थिए । बैठकमा सांसदहरुले मल अभाव हुनुमा सरकार नै मुख्य दोषी रहेको आरोप लगाए ।
मल अभावबारे जानकारी दिन दोस्रो चरणमा प्रधानमन्त्री र मुख्य सचिवलाई पनि समितिमा बोलाइने समिति सभापति बिमल श्रीवास्तवले बताए । ‘पहिलो चरणमा कृषिमनत्री र दोस्रो चरणमा प्रधानमन्त्री र मुख्य सचिवलाई मल अभावमा जिम्मेवार बनाउन पनि समितिमा बोलाएर छलफल गराउनु पर्ने निश्कर्षमा पुग्यौं’ समिति सभापति श्रीवास्तवले भने ।
समितिका सदस्यहरु सांसद एलपी साँवा, सन्तकुमार थारु र प्रकाश रसाइलीले मलको उपलब्धता, नेपालमा मल कारखाना खोल्ने प्रक्रिया र सरकारले यथेष्ट बजेट नछुट्याएर किसानले पाएको दुःखबारे छलफल अनिवार्य भएको उनीहरुले बताएका थिए ।
प्रतिक्रिया 4