+
+

‘संक्रमितलाई संस्थागत आइसोलेसनमै राख्नुपर्छ’

विकास गौचन, निर्देशक, संक्रामक तथा सरुवा रोग अस्पताल, गण्डकी विकास गौचन, निर्देशक, संक्रामक तथा सरुवा रोग अस्पताल, गण्डकी
२०७८ माघ ३ गते १०:२०

कोरोना महामारीको दोस्रो लहरको तुलनामा अस्पताल भर्ना हुनेको संख्या कम नै छ, मृत्युदर पनि कम छ । तर, अहिले नै भयावह अवस्था आउँदैन भनेर ढुक्क हुन सकिँदैन ।

पछिल्ला दिनमा भर्ना भएका धेरैजसो बिरामी कोरोना भाइरसविरुद्धको खोप लगाएकाहरु नै छन् । खोप लगाएका पनि कतिपयमा गम्भीर समस्या देखिएको छ, अस्पतालमा हाइ फ्लो अक्सिजन दिनुपर्ने संक्रमित थपिँदै छन् ।

हाम्रो प्रदेशमा अहिले फैलिरहेको भेरियन्ट ओमिक्रोन हो कि डेल्टा हो भन्ने ठ्याक्कै पुष्टि हुन सकिएन । हाल जिन सिक्वेन्सिङ काठमाडौंमा मात्रै भइराखेको छ । यहाँबाट पठाएको नमुनाको जिन सिक्वेन्सिङको रिपोर्ट छिटो नआउँदा पनि भेरियन्ट पहिचानमा समस्या भएको छ । यो समस्याको समाधान भनेको प्रदेशको जनस्वास्थ्य प्रयोगशालालाई सुविधासम्पन्न बनाउनु नै हो ।

अहिले धेरैजसो सक्रिय संक्रमित होम आइसोलेसनमा छन्, होम आइसोलेसनमा संक्रमितको संख्या धेरै हुँदा त्यहाँबाट पनि संक्रमण फैलिने खतरा हुन्छ ।

सक्रिय संक्रमितलाई संस्थागत आइसोलेसनै राख्नुपर्छ, तर संस्थागत आइसोलेसन अझै पुगेको छैन । एक हप्ता, १० दिन आइसोलेसन बस्न पनि हामीलाई किन गाह्रो भइराखेको छ ? आइसोलेसनमा बस्न नसक्दा पनि महामारी नियन्त्रण गर्न कठिन हुन्छ ।

देशभरिको केस हेर्ने हो भने एक हजार जना संक्रमित मात्रै संस्थागत आइसोलेसनमा छन् । यो एकदमै कम संख्या हो, होम आइसोलेसनमा रहेका ठूलो संख्याका संक्रमितबाट पनि संक्रमण सर्ने डर हुन्छ ।

अहिले धेरै बालबालिका पनि सामान्य रुघाखोकीको समस्या लिएर अस्पताल आएका छन् । शुक्रबार मात्रै एउटा मन्टेश्वरी स्कुलका ३५ जना बालबालिका र शिक्षकमा गरिएको परीक्षणमा ८ जनामा संक्रमण देखियो । त्यो भनेको करिब २५ प्रतिशत संक्रमण दर हो । शनिबार बिहान ६ जनामा परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भयो ।

एन्टिजेन परीक्षणमै यति संक्रमण देखिनु भनेको डरलाग्दो स्थिति हो । किनभने एन्टिजेन परीक्षण गर्दा संक्रमित सबैमा संक्रमण नदेखिन पनि सक्छ । त्यसैले परीक्षणको दायरा बढाउन एकदमै आवश्यक छ । नत्र दोस्रो लहरझैं भयावह स्थिति नआउला भन्न सकिन्न ।

दोस्रो लहरको बेला अत्यन्तै भयावह स्थिति थियो । हाम्रो अस्पतालको खास क्षमता ५० जना हो । तर, त्यतिबेला ६० बेड भरिएर पनि बाँकी बिरामीलाई वेटिङ बेन्चमा राखेर उपचार गर्नुपरेको थियो । अक्सिजन पुर्‍याउन पनि एकदमै समस्या भएको थियो । एकैदिनमा ४/५ पटक सिलिन्डर भरेर ल्याउनुपरेको थियो ।

राम्रोसँग जनस्वास्थ्यको मापदण्ड पूरा गरेनौं भने अहिले पनि त्यस्तै अवस्था नआउला भन्न सकिँदैन । प्रदेशभरमै कतै बेड पाइँदैन भन्ने अवस्था आइसकेको थियो । त्यहीबेला संक्रमणदर ओरालो लागेर केही सहज भएको हो ।

अहिले दोस्रो लहरमा भन्दा तयारीका हिसाबले केही मजबुत छौं । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा पोखराभरिकै कोभिड अस्पतालमा बेड, अक्सिजनको अवस्था, जनशक्तिको अवस्था के छ, थप आवश्यक भयो भने कहाँकहाँ बेड थप्ने भनेर तयारी गरिरहेका छौं ।

कोरोना महामारी नियन्त्रणका लागि परीक्षण अझै बढाउनुपर्छ । परीक्षणको दायरा बढाइएन भने कसरी रोग पहिचान हुन्छ ? परीक्षणपछि मात्रै संक्रमण पत्ता लाग्ने हो । अर्को भनेको खोपमा पनि ध्यान दिनुपर्छ ।

सरकारले संक्रमितहरु संस्थागत आइसोलेसनमा बस्ने वातावरण बनाउनुपर्छ । किनकी संक्रमण फैलिन नदिन, रोक्न आइसोलेसन एकदमै उत्तम रणनीति हो । यसलाई कार्यान्वयन गर्न एउटा निर्देशिका जारी गर्नुपर्छ ।

अहिले अस्पतालमा एउटै बिरामीलाई भेट्न ८/९ जना आउँछन्, अनि कसरी हुन्छ महामारी नियन्त्रण ? संघ, प्रदेश र स्थानीय सरकारले आपसी समन्वय गरेर अगाडि बढ्नुपर्छ । स्वास्थ्यकर्मीलाई मास्क, पीपीई अहिलेदेखि नै पर्याप्त मात्रामा बन्दोबस्त गर्दै लैजानुपर्छ ।

(विकास रोकामगरसँग गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?