८ माघ, काठमाडौं । अर्जेन्टिनी फुटबलर पाउलो डिबलाको उपनाम ‘ला जोया’ अर्थात गहना हो । क्रिस्टियानो रोनाल्डोले युभेन्ट्स छाडेपछि डिबलाले आफ्नो उपनामलाई प्रमाणित गर्दै आएका छन् ।
उनले चोटका कारण पछिल्ला केही वर्ष धेरै खेल खेल्न पाएनन् । सिरी ए को गत सिजन उनले २० खेल मात्र खेलेका थिए ।
अब उनी लयमा फर्किएका छन् । ‘लिओनल मेस्सी र क्रिस्टियानो रोनाल्डो मात्र डिबलाभन्दा उत्कृष्ट छन् । उनीसँग बालोन डे ओर जित्ने क्षमता छ,’ टुरिनमा फर्किएपछि युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो अलेग्रीले भनेका थिए ।
युभेन्ट्सले यस सिजन सिरी ए को पाँचौ स्थानमा छ । सन् २०१०/११ पछि युभेन्ट्सको यो खराब प्रदर्शन हो ।
तर, डिबलाले यो सिजन २२ खेलमा ११ गोल गरेका छन् । अघिल्लो सिजन उनले ५ गोल गरेका थिए । ‘उनी एक असाधारण फुटबलर हुन्, अलेग्रीले भनेका छन्, सिजनको पहिलो हाफ चोटले उनलाई त्यति धेरै रमाउन दिएन । म उनीबाट धेरै आशा गर्छु र उनको मूल्यमा कुनै प्रश्न छैन ।’
डिबलाले युभेन्ट्सका लागि अहिलेसम्म १११ गोल गरेका छन् । उनी रोबर्टो बाजियोसँग बराबरी गर्नबाट मात्र ४ गोलले टाढा छन् ।
डिबलाको सम्झौता आगामी जुनमा सकिँदैछ । तर अहिलेसम्म सम्झौता नविकरण भएको छैन । उनीप्रति स्पेनिस क्लब बार्सिलोनादेखि इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडसम्मले चासो देखाएको समाचारहरू सार्वजनिक भएका छन् ।
पछिल्लो समय इटलीकै इन्टरसँग पनि जोडिएको छ । इन्टरका प्रमुख कार्यकारी अधिकृत बेप्पे मारोट्टाले कुनै खेलाडीको सम्झौता अन्त्यतिर पुग्दा ठूला क्लबले चाहना राख्नु स्वभाविक भएको प्रतिक्रिया दिएका छन् ।
युभेन्ट्सका प्रमुख कार्यकारी अधिकृत माउरिजियो अरिभाबेनले भने सम्झौता नविकरणबारे डिबलासँग फेब्रुअरीमा छलफल गर्ने बताएका छन् । -मार्काबाट
प्रतिक्रिया 4