+
+

‘दिदीलाई पछ्याउँदै खेलाडी बनें’

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ फागुन २८ गते १९:३४

२७ फागुन, काठमाडौं । घरको माहोलबाटै मान्छेको लक्ष्य निर्धारण हुन्छ । भविष्य निर्देशित हुन्छ । बुझ्ने भएदेखि नै घरको माहोलअनुसार अनुशा मल्ल ठकुरीले बास्केटबल बाहेक केही सोचिनन् । दिदी एलिशा मल्लको पाइला पछ्याउँदै बास्केटबलमा लागेको डेढ दशक हुन लागेको छ ।

अनुशाले खेल्न सुरु गर्ने समयमा शहरी क्षेत्रमा बास्केटबलको लोकप्रियता उच्च थियो । अहिलेको फुटसल जस्तै । हरेक कलेजमा बास्केटबलको माहोल थियो । स्कुल र कलेजस्तरीय प्रतियोगिता नियमित हुने गर्थ्यो ।

खेलकुदको पारिवारिक माहोलले उनलाई खेल र अध्ययनसँगै अगाडि बढाउन सहयोग ग¥यो । दिदी एलिशाले बास्केटबल खेलाडी विनोद श्रेष्ठसँगै बिहे गरेपछि थप मार्गनिर्देशन मिल्यो ।

दिदी र भिनाजु दुवै राष्ट्रिय खेलाडी भएपछि अनुशाले करिअरमा धेरै संघर्षको सामना गर्नुपरेन । सुरुमा रुचि भन्दा पनि दिदीको सिको गरेर बास्केटबल खेल्न थालेकी अनुशाले विस्तारै करिअरको रुपमा विकास गरिन् । अन्तर्राष्ट्रियस्तरमै पुगिन् ।

‘मैले ९ कक्षामा पढ्दादेखि नै क्लबबाट खेल्न सुरु गरेकी थिएँ,’ अनुशाले अनलाइनखबरसँग भनिन्, ‘सुरुमा दिदी बास्केटबल टिममा भाको भएर मलाई खेल्न मन लागेको हो । मलाई मन लागेको भन्दा पनि दिदीको पछि–पछि लागेर मैले खेल्न सुरु गरें ।’

अनुशाको पारिवारिक भेटघाटमा पनि बास्केटबलकै कुरा धेरै हुन्छ । ‘तीन जना भेट हुँदा अरु कुरा भन्दा पनि बास्केटबलको धेरै कुरा हुन्छ । अफ द कोर्ट पनि अरु कुरा नै हुँदैन,’ उनले थपिन्, ‘केही समस्या हुँदा पनि मैले सेयर गर्न पाएँ ।’

एउटै टिमबाट खेल्दा सहज भए पनि राष्ट्रिय टोलीको प्रशिक्षणमा भने दिदी–बहिनीबीच चर्को प्रतिस्पर्धा हुने उनी बताउँछिन् । ‘खेलेपछि राम्रो प्रदर्शन गर्ने सोच जसको पनि हुन्छ । ट्रेनिङमा दिदी–बहिनी भन्ने कुरा नै भएन,’ उनले भनिन् ।

सुस्ताएको नेपाल बास्केटबल संघले फागुन २ देखि १२ सम्म निवर्तमान अध्यक्ष लामा टेण्डी शेर्पाको स्मृतिमा खुल्ला बास्केटबल प्रतियोगिता आयोजना गरेको थियो । तीन वर्षपछि आयोजित राष्ट्रियस्तरको प्रतियोगितामा अनुशा सर्वोत्कृष्ट बनिन् । उनकै प्रेरणादायी प्रदर्शनमा नेपाल पुलिस क्लबले उपाधि जित्यो ।

उपाधिसँगै व्यक्तिगत रुपमा सर्वोत्कृष्ट अवार्ड पाउनु उनका लागि दोहोरो खुसी थियो । पुलिसले रोयल एकेडेमीविरुद्ध लिग चरणमा व्यहोरेको हारको बदला फाइनलमा लिएका थिए । त्यसबाहेक लामो समयपछि कोर्टमा फर्कन पाउँदाको आनन्द अन्य खेलाडीजस्तै अनुशालाई पनि थियो ।

झण्डै तीन कार्यकाल नेपाल बास्केटबल संघको नेतृत्व गरेका लामा टेण्डी शेर्पाको यही वर्ष निधन भयो । अनुशाले आफ्नो सफलता उनैलाई समर्पण गरेकी छन् । ‘टेण्डी सरले स्कुलस्तरको प्रतियोगितादेखि नै मलाई विशेष ख्याल गर्नुभएको थियो । जुनियरदेखि राष्ट्रिय टोलीसम्म आउँदा उहाँको मार्गनिर्देशलाई सम्झिएको छु,’ अनुशाले भनिन्, ‘मैले यो सफलता उहाँलाई नै समर्पित गरेको छु । उहाँ मेरो फादर फिगर हुनुहुन्थ्यो ।’

कोरोना महामारीका कारण लामो अन्य खेलजस्तै बास्केटबल पनि मर्कामा परेको थियो । त्यसैले लामो समयपछि खेल्दा सुरुमा खेलाडीहरुलाई केही असहज भयो । खेल्दै गएपछि टिम सेट भएकाले जित्न सफल भएको उनको बुझाइ छ । ‘१२ जनाले खेल्ने खेलमा झण्डै आधा खेलाडी पूर्णरुपमा फिट थिएनन् । तै पनि सबैले राम्रो खेले । सामूहिक भावनाले जित्यौं,’ उनले भनिन् ।

त्रिपुरेश्वरको कभर्डहलमा अनुशा सम्मिलित पुलिस टिमले यसअघि क्विक्स कप जितेको थियो । अनि राष्ट्रिय टिमले २०१९ मा १३औं सागमा रजत पदक जितेको थियो । भन्छिन्, ‘यो मेरा लागि लक्की कोर्ट हो ।’

आगामी बैशाखमा संघले पहिलोपटक फ्रेन्चाइज लिग गर्ने तयारी गरेको छ । यो प्रतियोगिताले बास्केटबलको लोकप्रियता फर्काउने विश्वास संघको छ । पुरुषकै मात्र भए पनि सकारात्मक कामको सुरुआत हुन लागेकोमा अनुशा पनि दंग छिन् । ‘यो हाम्रो लागि सकारात्मक कुरा हो । पछि महिलाहरुको पनि हुनेछ भन्नेमा आशावादी छु । यसले नेपाली बास्केटबल विकासमा कोशेढुंगा बनोस्,’ अनुशा भन्छिन् ।

दिदी–बहिनीको एकसाथ डेब्यू

क्लबबाट खेल्न थालेको दुई वर्षपछि उनी पहिलो पटक राष्ट्रिय टिमको क्याम्पमा परिन् । सन् २०११ मा श्रीलंकामा भएको थ्री बाई थ्री बीच गेम्सको लागि क्याम्पमा परे पनि छनोट भइनन् । तर अर्को वर्ष भने उनी राष्ट्रिय टिमबाट डेब्यु गर्न सफल भइन् । दिदी र बहिनीले एउटै वर्ष राष्ट्रिय टिममा डेब्यू गरे । तर, फरक विधामा ।

‘२०१२ मा चीनमा भएको एसियन बीच गेममा थाइल्याण्डसँगको खेलबाट डेब्यु गरें,’ त्यसयता उनी निरन्तर राष्ट्रिय टिमबाट खेल्दै आएकी छन् । सन् २०१३ मा पहिलो यू–१३ एसियन गेम्स थ्री बाई थ्री र २०१४ कै एसियन बीच गेम थ्री बाई थ्रीसमेत खेलिन् ।

सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको एसियन गेम्सको समेत अनुभव लिइकी अनुशाले २०१८ मा इन्डोनेसियाको जाकार्तामा भएको यू–२३ थ्री बाई थ्री तर्फ नेपाली टोलीको कप्तानी नै गरेकी थिइन् । इन्चोनमा भने उनले फूल कोर्ट विधाको बास्केटबल खेलेकी थिइन् ।

२०१९ मा नेपालमै भएको १३औं सागमा रजत जित्दा अनुशासँगै नेपाली बास्केटबलको लागि नै खुशीको क्षण थियो । अन्तर्राष्ट्रिय रुपमा नेपालको बास्केटबलले हासिल गरेको सबैभन्दा ठूलो सफलता थियो त्यो । अनुशाका लागि करिअरको अविष्मरणीय क्षण पनि त्यही हो । ‘१३औं सागको सेमिफाइनलमा माल्दिभ्सलाई जितेर फाइनल पुग्नु ऐतिहासिक क्षण हो । त्यो खेलमा कडा प्रतिस्पर्धा भइरहेको थियो । जित्दा हामी खुशी भयौं,’ अहिले पनि त्यो क्षण सम्झँदा उनी रोमाञ्चित हुन्छिन् ।

‘सबैको टिमवर्क चाहिन्छ । एक जनाले जिताउँछु भन्ने हुँदैन । माल्दिभ्स अघि भएको थियो होला तर पनि हामीले हरेश खाएनौं । हामीले अन्तिमसम्म फाइट गरिरहेका थियौं,’ माल्दिभ्सविरुद्ध अन्तिम क्वाटरमा उत्कृष्ट प्रदर्शन गरेकी उनले भनिन्, ‘हामीले माल्दिभ्सलाई लास्ट क्वाटरमा राम्रो अग्रता गरी जित्न सक्यौं । लास्ट क्वाटरमा मैले राम्रो गरें तर, टिमले विश्वास गरेर नै त्यो सम्भव भयो ।’

सागमा स्वर्ण सपना

१३औं सागमा भारतविरुद्ध फाइनलमा नेपाल पराजित भयो । भारतजस्तो माथिल्लो स्तरको टोलीलाई हराउन अझै मिहिनेत गर्नुपर्ने अनुशाको बुझाइ छ । ‘भारत हामीभन्दा दुई÷तीन स्तर माथि छ । उसलाई हराउन धेरै मिहिनेत गर्नुपर्छ,’ अनुशाले भारतसँग प्रतिस्पर्धामा उत्रिन वर्षभरि नै नियमित प्रशिक्षण र स्तरीय तयारी गर्नुपर्ने बताइन् । अनुशाले पनि भारतलाई हराएर सागमा स्वर्ण जित्ने सपना देखेकी छन् ।

बल ह्याण्डलिङ राम्रो भएकाले अनुशाले ‘ड्रिब्लिङ क्वीन’ उपमा पनि पाएकी छन् । त्यो सुन्दा उनलाई खुशी मिल्छ । तर अझै सुधार गर्नुपर्ने धेरै ठाउँ रहेको उनले बताइन् । ‘म पर्फेक्ट छु भन्दिनँ । सिक्ने प्रक्रिया हो । खेल्दा खेल्दै झट्ट सुधार गर्नुपर्ने हुन्छ । हरेक खेलमा त्यस्तो भइरहेको हुन्छ ।’

नेपालमा खेलेर पुग्दैन, भविष्य छैन भन्ने गरिन्छ । २६ वर्षीया अनुशालाई पनि खेलेर पुग्दैन भन्ने त लाग्छ तर अहिले भने उनी यसमै रमाइरहेकी छिन् । भविष्यबारे सोचेकी छैनन् । ‘अहिले म बास्केटबल नै केन्द्रित छु र यसमै रमाइरहेकी छु । खेलेर आर्थिक रुपमा सम्पन्न हुन नसके पनि मनलाई खुसी मिलेको छ । परिवारबाट राम्रो सहयोग पाएकी छु,’ एक निजी विद्यालयमा बास्केटबल प्रशिक्षक रहेकी उनले थपिन्, ‘स्कुलका बच्चालाई आफ्नो अनुभव बाँडिरहेकी छु । भविष्यमा उनीहरु पनि बास्केटबलमा प्रेरित होउन भन्ने आशा छ ।’

आफ्नो बेलामा कलेजस्तरीय प्रतियोगिता थुप्रै हुन्थे । अहिले नगण्य प्रतियोगिताले बास्केटबलको लोकप्रियता र खेलाडी उत्पादनमै असर परेको अनुशाले पनि बुझेकी छन् । ‘कलेजस्तरको प्रतियोगिता नहुँदा राम्रा खेलाडी उत्पादनमा समस्या देखिन्छ । विद्यालयबाट बास्केटबल सिकेका विद्यार्थीले कलेजमा खेल्न पाएनन् भने निरन्तरता दिन पाउँदैन,’ उनले भनिन् ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?