+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

८ महिनामा विकास बजेट खर्च ७७ अर्ब मात्र 

विकासे मन्त्रालय नै कमजोर, अब हरेक महिना ६५ अर्ब खर्च गर्नुपर्ने

अर्थमन्त्री जनार्दन शर्माले कार्यकाल सम्हालेलगत्तै प्रतिबद्धता व्यक्त गरेको प्रत्येक महिना १० प्रतिशत पूँजीगत खर्च गर्ने घोषणा असफल भएको छ । अहिले उनी आर्थिक वर्षको अन्त्यसम्म कम्तीमा ९० प्रतिशतसम्म पूँजीगत खर्च प्रगति पुर्‍याउन विकासे मन्त्रालयहरुलाई दबाब दिइरहेका छन् ।

अच्युत पुरी अच्युत पुरी
२०७८ चैत १ गते १८:५५
मकवानपुरको भीमफेदी–कुलेखानी सडक/फाइल तस्वीर

१ चैत, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ८ महिनामा (साउन–फागुन) पूँजीगत खर्च २० प्रतिशत मात्रै भएको छ । फागुन मसान्तसम्म पूँजीगत खर्च मात्र ७७ अर्ब १४ करोड रुपैयाँ भएको छ । यो कुल लक्ष्यको २०.४ प्रतिशत मात्र हो । चालु आर्थिक वर्षमा सरकारले ३ खर्ब ७८ अर्ब ९ करोड रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो ।

विनियोजन भएको खर्चले गति लिन नसकेपछि अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षामार्फत पूँजीगत खर्चको लक्ष्य संशोधन गरी ३ खर्ब ४० अर्ब ३२ करोड रुपैयाँ तोकिएको छ ।

यस अनुसार नयाँ लक्ष्य पूरा गर्न समेत चालु आवमा बाँकी रहेको चार महिनाको अवधिमा मासिक ६५ अर्ब ७५ करोड रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

अर्थमन्त्री जनार्दन शर्माले कार्यकाल सम्हालेलगत्तै प्रतिबद्धता व्यक्त गरेको प्रत्येक महिना १० प्रतिशत पूँजीगत खर्च गर्ने घोषणा असफल भएको छ । अहिले उनी आर्थिक वर्षको अन्त्यसम्म कम्तीमा ९० प्रतिशतसम्म पूँजीगत खर्च प्रगति पुर्‍याउन विकासे मन्त्रालयहरुलाई दबाब दिइरहेका छन् ।

माघको तुलनामा फागुनमा खर्चले लियो गति

अर्थ मन्त्रालयको तथ्यांक अनुसार माघ महिनापछि भने पूँजीगत खर्चले केही रफ्तार लिएको छ । २४ फागुनसम्मको तथ्यांक अनुसार २०७८ माघ मसान्तको तुलनामा ३ प्रतिशत हाराहारी खर्च बढी भएको छ ।

२४ फागुनसम्म लक्ष्यको १९.१५ प्रतिशत पूँजीगत खर्च भएको छ । तथ्यांक अनुसार माघ मसान्तसम्म पूँजीगत खर्च मात्र १६.०८ प्रतिशत रहेको थियो । फागुन मसान्तसम्म पूँजीगत खर्च २०.४ प्रतिशत पुगेको हो ।

विकास खर्चमा विकासे मन्त्रालय नै कमजोर

पूँजीगत बजेटको ठूलो हिस्सा ओगटेका मन्त्रालयहरुले नै यस वर्ष कमजोर प्रदर्शन गर्दा त्यसको असर समग्र विकास खर्चमा परेको छ ।

अर्थ मन्त्रालयको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ को फागुन २४ को तुलनामा चालु आवको २४ फागुनसम्म समग्र पूँजीगत खर्च २१ प्रतिशत बढी भएको छ । तर, विकासे मन्त्रालयहरुको प्रदर्शन भने कमजोर छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको भने खर्च अघिल्लो वर्षको यसै अवधिको तुलनामा ५.७३ प्रतिशतले मात्र बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको भने खर्च भने ११.८७ प्रतिशतले घटेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पूँजीगत खर्च १६.४४ प्रतिशत कम भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पूँजीगत खर्च गत आवको यसै अवधिको तुलनामा २२.८५ प्रतिशत कम छ । सहरी विकासले पनि गत आव भन्दा यो वर्ष २६.८८ प्रतिशत कम पूँजीगत खर्च कम भएको तथ्यांक छ ।

विकासे मन्त्रालयको २०७७, २४ फागुन र २०७८, २४ फागुनसम्मको विकास खर्च तुलना

  • उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय : ५ प्रतिशत कम
  • कृषि तथा पशपन्छी विकास मन्त्रालय : ११.८७ प्रतिशत कम
  • खानेपानी मन्त्रालय : २६.४३ प्रतिशत बढी
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय : १६.४४ प्रतिशत कम
  • वन तथा वातावरण मन्त्रालय : ५.८२ प्रतिशत बढी
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय : २२.८५ प्रतिशत कम
  • सहरी विकास मन्त्रालय : २६.८८ प्रतिशत कम
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय : ७३.६४ प्रतिशत कम
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय : २२.५९ प्रतिशत बढी
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालय : २५३.४९ प्रतिशत बढी

आम्दानी ७ खर्ब ३६ अर्ब, खर्च ६ खर्ब ७२ अर्ब

चालु आर्थिक वर्षको ८ औं महिनासम्म सरकारको कुल आम्दानी ७ खर्ब ३६ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।

यसमा राजस्वबाट ६ खर्ब ८४ अर्ब ६९ करोड रुपैयाँ प्राप्ती भएको छ । यो कुल लक्ष्यको ५८ प्रतिशत हो । यस अवधिमा अनुदानबाट १३ अर्ब ८८ करोड रुपैयाँ प्राप्ती भएको छ । अन्य प्राप्ती भने ३८ अर्ब रुपैयाँ रहेको छ ।

आम्दानी

  • राजस्व : ६ खर्ब ८४ अर्ब ६९ करोड
  • अनुदान : १३ अर्ब ८८ करोड
  • अन्य प्राप्ती : ३८ अर्ब
  • कुल : ७ खर्ब ३६ अर्ब ६२ करोड

खर्चतर्फ ८ औं महिनामा ६ खर्ब ७५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । यसमा पूँजीगत खर्च ७७ अर्ब मात्र हुँदा चालु खर्च भने ५ खर्ब ३८ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।

पूँजीगत खर्च लक्ष्यको २०.४ प्रतिशत मात्र हुँदा चालु खर्च भने ५० प्रतिशत भन्दा माथि पुगेको छ । यसअवधिमा चालु खर्च लक्ष्यको ५०.५४ प्रतिशत भएको छ । ८ औं महिनाको अन्त्यसम्म वित्तीय व्यवस्थामा ५९ अर्ब ७१ करोड रुपैयाँ खचए भएको छ । यो लक्ष्यको ३१.५२ प्रतिशत हो ।

खर्च

  • चालु खर्च : ५ खर्ब ३८ अर्ब ४३ करोड
  • पूँजीगत खर्च : ७७ अर्ब १४ करोड
  • वित्तीय व्यवस्था : ५९ अर्ब ७१ करोड
  • कुल : ६ खर्ब ७५ अर्ब २९ करोड
लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?