
काठमाडौं । ७० औं विश्व सुन्दरी प्रतियोगितामा भाग लिएर मिस नेपाल नम्रता श्रेष्ठ सोमबार स्वदेश फर्किएकी छन् । अमेरिकाको पुएर्तोरिकोमा सम्पन्न फिनालेमा भाग लिन उनी फागुन २६ गते त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनलाइनखबरसँग कुरा गर्दै उनले हारजितभन्दा पनि नेपाललाई राम्रोसँग प्रतिनिधित्व गराउन सकेकोमा खुसी लागेको बताइन् । मुलुक चिनाउन आफूले कुनै ठाउँ खाली नराखेको उनको भनाइ छ ।
भविष्यमा नेपालले मिस वर्ल्डको ताज जित्न सक्ने आशा व्यक्त गर्दै नम्रताले भाग्य र मेहनत नै सफलताको मुख्य कारण रहेको बताइन् ।
विमानस्थलमा नम्रतासँग गरिएको संक्षिप्त संवादको सम्पादित अंश :
मिस वर्ल्ड ग्रान्ड फिनालेको अनुभव कस्तो रह्यो ?

निकै रमाइलो अनुभव भयो । दोस्रोपटक गएको त्यो पनि । सबैजनासँग फेरि भेट्न पाइयो । प्रतिस्पर्धामा धेरै आशा लिएर गएका थियौं, तर पनि अन्तिम ४० पुगेर स्टेजमा जानु भनेको ठूलै कुरा हो । सबै जनाले ‘हामी तिमीप्रति गर्व गर्छौं’ भनेर मेसेज पठाइरहनुभएको छ । त्यो शुभकामना देख्दा मलाई एकदमै खुसी लागेको छ ।
मिस वर्ल्डको फिनालेबाट कस्तो पाठ सिक्नुभयो ?
यो सबै अनुभवले एउटा मान्छेलाई बलियो बनाउँदो रहेछ । किनकि हामी त्यहाँ जाँदा एक्लै जान्छौं । फास्ट ट्रयाक इभेन्टदेखि लिएर एक्लै गएर सबै काम गर्नुपर्ने हुन्छ । कुनै विधामा आफू टप हुन्छु र जित्छु भन्ने अपेक्षा हुन्छ, तर त्यो अपेक्षा पूरा नहुँदा केही परिपक्वता महसुस हुँदो रहेछ । साथै कुनै पनि कुरालाई सन्तुलनको तहमा हेर्ने दृष्टिकोण पनि निर्माण हुने रहेछ ।
फिनालेमा नेपालले अझै कुन पक्षमा सुधार गर्नुपर्ने खाँचो महसुस गर्नुभयो ?
सुधारको अवसर सधैं रहन्छ । ठ्याक्कै यही चाहिं गर्नुपर्छ भनेर भन्न चाहन्नँ । त्यहाँ गइसकेपछि सबै कुरा निर्णायकको हातमा हुन्छ । किनभने एउटा विधामा पाँचजना मात्र छानिने मौका मिल्छ । निर्णायकको आँखामा पर्नु भाग्यको कुरा पनि हो जस्तो लाग्छ, किनकि विश्वभरबाट सबै ट्यालेन्टेड प्रतिस्पर्धी मात्र त्यहाँ पुग्नुहुन्छ । यसपटक कतिजना यति बलिया प्रतिस्पर्धी हुनुहुन्थ्यो जो अन्तिम १२ मा छानिनुभएन । हामीले उहाँहरु तयारी नै नगरिकन आउनुभएको थियो भनेर भन्न मिल्दैन ।
आगामी मिस नेपाललाई तपाईं मिस वर्ल्डलाई लिएर के सुझाव दिनुहुन्छ ?
आफूले मेहनत गर्न कहिल्यै छाड्नु हुँदैन । योबाहेक अरु जे हुन्छ हुन्छ भनेर अगाडि बढ्नुपर्छ । कसलाई के थाहा ? जित्ने भनेको एकजनाले हो । त्यो एकजना तपाईं पनि हुन सक्नुहुन्छ । हाम्रो नेपाल पनि पर्न सक्छ कुनै दिन । आफूले मेहनत गर्न छाड्नुहुन्न । मैले यो पनि गर्न पाएको भए हुन्थ्यो भन्ने ठाउँ चाहिं नराख्न म सुझाव दिन्छु ।
नेपाली शुभचिन्तकलाई के भन्न चाहनुहुन्छ ?

यसपटकको प्रोजेक्टदेखि नै मलाई शुभचिन्तकहरुबाट राम्रा राम्रा मेसेजहरु आइरहेका थिए । यो सबै देख्दा आफ्नो अपेक्षाअनुसार नहुँदा केही खल्लो चाहिं भएको थियो । यसपटक मैले त्यति धेरै देशलाई चिनाउन पाइनँ भन्छु, किनभने चार दिनको कार्यक्रम मात्र थियो । हामीले रिहर्सल मात्र गर्यौं । पहिला चाहिं मैले नेपाल चिनाउन कहीं पनि ठाउँ छाडिन । त्यो कुरामा म सन्तुष्ट छु ।
हारजितभन्दा पनि नेपाललाई राम्रोसँग प्रतिनिधित्व गराउन सकेको सन्तुष्टि र माया उहाँहरुले दिनुभएको छ । कुनै दिन क्राउन त आइहाल्ला । मैले नलिएपनि अरु कसैले ल्याउन सक्छ । त्यसैले इन्जोय गरेर आएँ, धेरै कुरा सिकेर आएँ । सबै नेपालीलाई धन्यवाद ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4