
१५ चैत, विराटनगर ।
घटना एक : विराटनगर महानगरपालिका– ८ की अन्जना कोइरालाले छोराको उपचारका लागि मंसिर तेस्रो साता छिमेकीसित २ लाख ऋण लिइन् । चार महिनामा उनले पटक पटक गरी ५ लाख ६० हजार बुझाइन् । तर ऋण दिनेले अझै ६ लाख माग्दै छन् ।
घटना दुई : विराटनगर – ८ कै सरिताकुमारी महतोले पनि २०७७ फागुन २१ गते जग्गा किन्न ७ लाख लिइन् । त्यसयता उनले ४० लाख फिर्ता गरिसकिन् । तर पनि ऋण दिनले अझै ३० लाख बाँकी रहेको भनेर पैसा माग्दै छन् ।
कोइराला र महतो दुवैले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफूहरुलाई वडा नं. ८ कै रुशी एल खानमले यसरी फसाएको गुनासो गरेका छन् । ‘छोराको उपचारका लागि दुई लाख लिएको थिए, तर पटक पटक गरी ५ लाख ६० हजार रुपैयाँ तिरिसिके,’ कोइरालाले भनिन्, ‘अझै ६ लाख सावा र र ब्याज तिर्नु भन्दैछन्, मैले लिएको २ लाख रुपैयाँ मात्रै हो ।’
६ लाख रुपैयाँ लिएको भन्दै खानमले गत पुस ९ गते आफूलाई जबरजस्ती कागजमा सही गर्न लगाएको उनले बताइन् । अहिले पैसा तिर्न भन्दै खानमले घरमै आएर धम्की दिने गरेको कोइरालाले बताइन् ।
महतोले पनि सात लाख ऋण लिएकोमा जवरजस्ती ३० लाख रुपैयाँको कागज गरेको गुनासो गरिन् । ‘सहकारी र व्यक्तीबाट ऋण लिएर ४० लाख भन्दा बढी बुझाइसकें, तर अझै ३० लाख तिर्नुपर्छ भन्दैछिन्,’ उनले भनिन्, ‘मलाई पैसा तिर्न धम्की दिइरहेका छन् ।’ पैसा माग गर्दै खानमले बारम्बार धम्की दिइरहेको उनले बताइन् ।
कोइराला र महतोले गाउँमा अरु पनि यस्तै समस्यामा रहेको बताए । ‘गाउँमा हामीजस्ता धेरैलाई थोरै ऋण दिएर धेरै पैसा लिएकी छन्,’ सरिताले भनिन्,‘मान्छेहरु बोल्न डराइरहेका छन् ।’
खानमले दुई जनाको कागज विराटनगर महानगरपालिका ८ बाट प्रमाणित गराएकी छन् । कोइरालालाई ६ लाख दिएको कागजमा सरिताकुमारी महतो र पुलुकी कामतलाई साक्षी राखिएको छ । महतोले आफूले कतै साक्षीका हस्ताक्षर नगरेको बताइन् । ‘म कतै साक्षी बसेको छैन, तर मेरो नाम साक्षीमा रहेछ,’ उनले भनिन्, ‘वडा कार्यालयमा कागजमा झुटो बनाएका छन् ।’
मिटरब्याजको आरोप लागेकी ४४ वर्षीय महिला खानम खानेपानी संस्थान विराटनगरको खरदार सरहको कर्मचारी हुन् । उनले भने यो आरोप ठाडै अस्वीकार गरेकी छिन् ।
अफ्ठयारो परेको बताएपछि आफूले ऋण दिएको उनले बताइन् । समस्यामा परेका बेलासहयोग गरेको बताउँदै उनले ऋण तिर्न ताकेता गर्दा झुटो आरोप लगाएको गुनासो गरिन् । ‘मैले जति दिएको छ, त्यती नै रकमको कागज गरेको हो,’ उनले भनिन्, ‘म आफैं उनीहरुबाट अन्यायमा परेको छु ।’
प्रतिक्रिया 4