३ वैशाख, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं महानगरपालिकामा एक पटक आफूहरुलाई मौका दिन आग्रह गरेका छन् ।
पार्टीले आयोजना गरेको काठमाडौं महानगरपालिकाको घोषणापत्र सार्वजनिक कार्यक्रममा उनले अरु दलहरुलाई पटक पटक मौका दिएको भन्दै आफूहरुलाई मौका दिन आग्रह गरे ।
‘एक पटक मौका दिनुस्, हामी गरेर देखाउँछौं, अरुहरुलाई तपाईहरुले दशकौं दिँदा, फेरि फेरि मौका दिइराख्नुभएको छ । हामीले एक मौका खोजेका छौं’ उनले भने ।
उनले एक पटक आफ्नो दलका उम्मेदवारको इमान्दारी, परिपक्वता र क्षमताको परीक्षण गर्न काठमाडौंका मतदातालाई आग्रह गरे ।
‘उहाँहरुको इमान्दारी, उहाँहरुको परिपक्वता, उहाँहरुले गर्न सक्ने क्षमताको परीक्षण गर्न सक्नुहुन्छ’ मिश्रले भने, ‘गरेर देखाउन सकेनौं भने यो लोकतन्त्र हो, अर्को पटक तपाईहरु हामीलाई मौका नदिनुस् ।’

आफूहरुले अवसर पाएमा काठमाडौं महानगरपालिकाको रुपान्तरण गर्ने बताए ।
विवेकशील साझा पार्टीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार घोषणा गरेको छ ।
कार्यक्रममा विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरपालिकामा मेयरकी उम्मेदवार समीक्षा आफूले जितेमा काठमाडौं महानगरपालिकाको स्वरुप फेरिने बताएकी छन् ।
उनले आफूले जितेमा पद्धति, पारदर्शिता, इमान्दारिता र उत्कृष्टताको जगमा टेकेर काम गर्ने बताइन् ।
‘विवेकशील साझा पार्टीले पद्धति र पारदर्शिता इमान्दारिता र उत्कृष्टताको जगमा टेकेर काम गर्छ, मेयर र उपमेयर पदमा हामी दुईलाई जिताएको खण्डमा काठमाडौंबासीले न्याय पाउनुहुन्छ’ उनले भनिन् ।
मेयर र उपमेयर दुवै पदमा विवेकीशल साझा पार्टीले महिला उम्मेदवार खडा गरेको भन्दै उनले सक्षम महिलालाई जिताउने वा नजिताउने काठमाडौं महानगरबासीलाई चुनौती भएको टिप्पणी गरिन् ।
‘सक्षम महिला त्यो पदमा जाँदै गर्दा काठमाडौं बासिका लागि ठूलो चुनौती भएको छ’ उनले भनिन् । काठमाडौं महानगरपालिकामा आफूहरुले जित हासिल गरेमा विज्ञ टोलीको सहयोगमा महानगर विकासमा लाग्ने बास्कोटाले बताइन् । ‘हाम्रो पछाडि ठूलो जनशक्ति छ, ठूलो विज्ञहरुको टोली छ । जसले कस्तो महानगरपालिका बनाउने भन्ने परिकल्पना गरेको छ’ उनले भनिन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4