+
+

एसईई वैशाख ९ गतेदेखि, जापानबाट १९ विद्यार्थी सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते १७:०४

४ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो शुक्रबारदेखि सञ्चालन गर्दैछ । ९ वैशाखदेखि सुरु हुने परीक्षका लागि बोर्डले २ हजार ७ परीक्षा केन्द्र र एक उपकेन्द्र तोकिएका छ । बोर्डले यो वर्ष नवलपुर जिल्लामा एक उपकेन्द्र तोकेको हो ।

विगत दुई वर्ष कोरोना महामारीका कारण आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणिकरण गरेको बोर्डले यो वर्ष भने भौतिक रुपमा परीक्षा गर्न लागेको हो । परीक्षाको लागि प्रश्नपत्र, उत्तरपुस्तिका लगायत परीक्षा सामग्री ७७ ओटै जिल्लामा पुगिसकेको एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।

जिल्ला परीक्षा व्यवस्थापन समितिले एसईईका लागि केन्द्राध्यक्ष तोक्ने तथा प्रशिक्षण दिने काम गरिरहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । उनले भने ‘केन्द्राध्यक्ष तोक्ने, प्रशिक्षण दिने काम जिल्ला परीक्षा व्यवस्थापन समितिले गर्छ, गरिरहेको छ ।’

एसईई परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०७८ को एसईईमा कुल ५ लाख १४ हजार ७६० परीक्षार्थी सहभागी हुनेछन् । यो वर्ष परीक्षामा नियमिततर्फ ४ लाख ८८ हजार ७४२, प्राविधिकतर्फ १४ हजार ५६४ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुने बोर्डले जनाएको छ ।

सामान्यतर्फ ११ हजार ६१५ विद्यालय र प्राविधिकतर्फ २९९ विद्यालयका विद्यार्थीहरु यो वर्ष एसईईमा सहभागी हुने छन् ।

दुई वर्षपछि ग्रेड वृद्धिका लागि परीक्षा दिँदै विद्यार्थी

कोरोना महामारीको कारण दुई वर्ष आन्तरिक मूल्याङ्कन आधारमा नतिजा प्रकाशित हुँदा ग्रेड वृद्धिका लागि परीक्षा दिने विद्यार्थी परीक्षा दिन वञ्चित थिए ।

त्यस्ता विद्यार्थीहरुले यस वर्ष ग्रेड वृद्धिको परीक्षा दिँदै छन् । र त्यस्तो परीक्षा दिने ११ हजार ४५४ विद्यार्थी रहेका बोर्डले जनाएको छ ।

जापानमा अनलाइनमार्फत प्रश्नपत्र पठाईने

यो वर्ष जापानमा सञ्चालित विद्यालयमा पनि एसईई हुने भएको छ । जापानको टोकियोस्थित नेपाली स्कुल एभरेष्ट इन्टरनेशनलमा पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुनेछ ।

परीक्षाको लागि प्रश्नपत्र अनलाईनमार्फत पठाउने तयारी रहेको र परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताए । केन्द्राध्यक्ष भने विद्यालय र बोर्डबीच छलफल गरेर तोकिएको छ । तोकिएको केन्द्राध्यक्षलाई भर्चुअल प्रशिक्षण दिइएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

विद्यालयमा एसईई गत वर्षदेखि सुरु भएको हो । गत वर्ष कोभिड–१९ का कारण आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो भने यो वर्ष राष्ट्रिय परीक्षा बोर्डको मापदण्ड अनुसार हुनेछ । एसईईमा १९ जना विद्यार्थी सहभागी हुने स्कुलका नेपाल संयोजक जयनन्द कपाडीले जानकारी दिए । गत वर्ष २४ जना विद्यार्थीले एसईई उत्तीर्ण गरेका थिए ।

विद्यार्थीको उत्तरपुस्तिका केन्द्राध्यक्षले रुजु गरेर सिलबन्दी गरी नेपाल पठाउने संयोजक कपाडीले बताए । ९० प्रतिशत विद्यार्थी नेपाली मुलका र बाँकी जापानिज, भारतीय तथा दक्षिण एसिया मुलका विद्यार्थी रहेको संयोजक कपाडीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?