+
+

मुनव्वर फारुकी : कमेडीकै कारण जेलदेखि रियालिटी शो ‘लकअप’को विजेतासम्म

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते १५:४८

स्ट्यान्ड अप कमेडियन मुनव्वर फारुकी रियालिटी शो ‘लकअप’ को विजेता बनेका छन् । अभिनेत्री कंगना रनौतले सञ्चालन गरेको यो शोमा उनलाई नै विजेताको दाबेदार मानिएको थियो ।

शनिबार राति भएको ग्रान्ड फिनालेमा कंगनाले विजेताको नाम लिइन् । फाइनलमा मुनव्वरका साथ अञ्जली अरोडा, पायल रोहतगी र शिवम् थिए ।

मुनब्बरको यहाँसम्मको यात्रामा निकै उतारचढाव आए । उनको यात्राका उतारचढाव यस्ता छन् ।

१ जनवरी २०२१ मा संसारले नयाँ वर्ष मनाइरहेको थियो । तर लाखौंलाई हँसाउने एक गुजराती कमेडियनलाई जेल पठाउने काम भइरहेको थियो । तर उनलाई फेरि एक पटक लकअप यानी जेल पठाइएको छ । तर सन् २०२१ को लकअप भने होइन । उनलाई कंगनाको कमेडी शो ‘लकअप’मा । जसको होस्ट कंगना स्वयं छिन् ।

लकअप शोमा भित्रिएपछि मुनव्वर सधैं चर्चामा रहे । कहिले आफ्नी आमाको कथा सुनाएर त कहिले बाल्यकालमा भएको यौन शोषणको । उनका कथा सुनेर सामाजिक सञ्जालमा उनी नै विजेता बन्ने आँकलन गर्न थालिएको थियो ।

‘लकअप’ समाप्त हुनुभन्दा पहिले उनी ‘खतरोंका खेलाडी’मा समेत जान सक्ने आँकलन गरिएको थियो । युट्युब भिडियो र स्टेज शोमा कमेडी गरेर आफ्नो पहिचान बनाएका उनको जीवन यात्रा यस्तो छ ।

बाल्यकाल र परिवार

‘लकअप’ शोमा सहभागी हुनेले आफ्नो जिन्दगीसँग जोडिएका केही राज खुलाउनुपर्ने हुन्छ । यही राज खोल्ने क्रममा मुनव्वरले आफ्नो जिन्दगीबारे खुलेर कुरा गरे ।

‘म ६ वर्षको हुँदा चार-पाँच वर्षसम्म मेरो लगातार शारीरिक शोषण भयो । कुनै नजिकको नातेदार हुन्छ । उसलाई केही भन्न सकिंदैन । के कसो गर्ने केही मेसो पाइँदैन । लगातार चार वर्षसम्म शोषण गरेपछि उनलाई अब त अति भयो लागेको होला । त्यस दिनदेखि त्यो काम रोकियो । यसबारे मैले कहींकतै कसैलाई बताइन । एकपटक बुवालाई थाहा भयो भन्ने महसुस भयो र बुवाले मलाई हकार्नुभयो,’ मुनव्वरले भनेका छन् ।

उनले बाल्यकालमा भएको यौन शोषणका बारेमा कुरा गरेपछि कंगनाले समेत आफूमाथि भएको यौन शोषणबारे खुलेर कुरा गरेकी थिइन् । मुनव्वरले यौन शोषणका साथै आमाको जिन्दगीसँग जोडिएका अन्य कुरा समेत बोलेका थिए ।

उनले भनेका थिए, ‘मेरी आमाको स्वास्थ्य अवस्था ठीक नभएको थाहा पाएपछि म अस्पताल दौडिए । अस्पताल पुग्दा आमा कराइरहेकी थिइन् । आमालाई के भएको हो भन्दै मैले परिवारका अन्य सदस्यलाई भने । औषधिले केही असर गरेन । पछि ठूली आमा आएर भनिन् कि तेरी आमाले तेजाब पिएको छ । मैले यो कुरा नातेदार नर्सलाई बताए । डाक्टर आए । मलाई सबै ठीक हुन्छ भन्ने लागेको थियो । केही छिनपछि डाक्टर आए र भने हात छोड । मेरो हात आमाको हातबाट छुटाइयो । तब मात्रै मेरी आमा बितेको कुरा थाहा भयो ।’

आमाको मृत्युबारे अफसोस व्यक्त गर्दै मुनव्वर भन्छन्, ‘त्योे रात म आमासँग सुत्न पाएको भए उनी बाँच्न सक्थिन् । पोस्टमार्टम गर्दा आमाले सात-आठ दिनबाट केही नखाएको थाहा भयो । तब मैले थाहा पाए कि आमाको २२ वर्षको विवाहित जिन्दगी कति कठिन थियो । मैले बाल्यकालभर कि आमाले कुटाइ खाएको देखे कि अरुले झगडा गरेको ।’

यति मात्रै होइन उनले बुवासँगको दूरी र ऋणले दिएको बेचैनी र चुनौतीबारे समेत कुरा गरेका छन् ।

‘बहिनीले बिहे गर्दा सबै कसुर आमामाथि थोपरियो ।  सन् २००७ मेरो परिवारका लागि निकै खराब थियो । घरका भाँडाकुँडा बेचेर छाक टरिरहेको थियो । आमामाथि सबै बोझ थिए र ३ हजार ५०० रुपैयाँ ऋण थियो । आज पनि ती कुराले मलाई छोड्दैनन्,’ मुनव्वरले भनेका छन् ।

गुजरातको जुनागढबाट मुम्बईको डोंगोरीसम्म

मुनव्वर फारुकीको जन्म सन् १९९२ मा गुजरातको जुनागढमा भएको हो । सन् २००२ मा गुजरातमा भएको दंगामा उनको घर जल्यो । घर जलेपछि उनी मुम्बई आएर बस्न थाले । मुम्बईमा दाउद इब्राहिम पनि थिए । र, उनले इब्राहिमकोे मजाक उडाउँथे ।

गुजरातबाट मुम्बई सरेको केही समयपछि उनकी आमाले संसार छाडिन् । मुनव्वरले बाल्यकालमा भाँडा बेच्ने र ग्राफिक आर्टिस्टका रुपमा काम गरे ।

कमेडीको दुनियाँमा प्रवेश

भारतको द प्रिन्टमा छापिएको रिपोर्ट अनुसार मुनव्वरका साथी तथा कमेडी शो गराउने ‘द हेरिटेज’का संस्थापक बलराज सिंह घईले उनको बारेमा बताएका छन् ।

‘एकपटक मुनव्वर विज्ञापन सुटिङ स्थल नजिकै थिए । त्यहाँ कुनै कमेडियनले सिनका संवाद बोल्नु थियो । सुटिङ स्थलमा कमेडी गर्न सक्ने कोही थिएन । त्यसबेला निर्माताले मुनव्वरलाई स्टेजमा गई दुई लाइन बोलिदिन आग्रह गरे । मुनव्वरलाई ती लाइन निकै सशक्त लागे । उनले निकै कुशलतापूर्वक ती लाइन बोले । त्यसपछि उनी कैयौं शोका लागि आए र अचानक हिट भए,’ बलराज सिंहले भनेका छन् ।

सुरुमा उनको परिवारले स्ट्यान्ड अप कमेडीलाई टाइमपास बताएको थियो । पछि सर्वसाधारणले मुनव्वरसँग सेल्फी खिच्न थालेपछि र लोकप्रिय हुँदै गएपछि भने परिवारले गम्भीर रुपमा लिन थाल्यो ।

मुनव्वर विवाहित हुन् । शोमा ट्वीटरमा एक तस्वीर देखाइएको थियो । जसमा उनी श्रीमती र बच्चाको साथमा छन् । तर उनीहरु डेढ वर्षदेखि अलग-अलग बस्दै आइरेका छन् । उनले यो निजी मामिला भएकाले शोमा बोल्न नसकिने बताए ।

मुनव्वरको कमाइ

रियालिटी शो ‘लकअप’मा मुनव्वर फारुकी

५ मे २०२२ सम्म मुनव्वरको युट्युब च्यानललाई २६ लाख बढीले सब्सक्राइब गरेका छन् भने उनका भिडियोमा १६ करोड बढी भ्युज छन् । युट्युबबाट हुने कमाइका अतिरिक्त उनी एक शोको एकदेखि डेढ लाख भारुसम्म लिन्छन् ।

उनी कमेडीका अतिरिक्त र्‍याप संगीत पनि गाउँछन् ।

यस्ता छन् मुनव्वरका चर्चित लाइनहरु

– तपाईंले प्याड अखबारमा बेरेर दिएको देख्नुहुन्छ । किनकि भारतमा अखबार यही गर्छन्, साँचो कुरा लुकाउँछन् ।

– मलाई लाग्छ, ‘बोलो जुम्बा केसरी’ भारतीय जनता पार्टीको चुनावी नारा हुनुपर्छ । किनकि विमल होस् वा बीजेपी दुवै देशका लागि हानिकारक छन् ।

उनी समाजमा भएका विकृति, विसंगति र राजनीतिप्रति कटाक्ष गरिहन्छन् ।

धर्मको मजाक उडाएको भन्दै मुनव्वरको आलोचना हुने गरेको छ । साथै उनीमाथि हिन्दू देवीदेवताको मजाक उडाएको र गृहमन्त्री अमित शाहमाथि अभद्र टिप्पणी गरेको पनि आरोप छ । यसै आरोपका कारण १ जनवरी २०२१ मा इन्दौर प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

करिब एक महिनासम्म उनी जेल परेका थिए । जमानतमा छुट्नुपर्ने उनको मागलाई यस्ता मान्छेलाई छोड्न नपाइने’ भन्दै मध्य प्रदेशको उच्च अदालतले खारेज गरेको थियो । उनी फेब्रुअरी २०२१ मा रिहा भएका थिए ।

थुनाबाट रिहा भएपछि मुनव्वरले मिडियासँग दूरी बनाएका थिए । त्यसैबीच उनले ‘लिभिङ कमेडी’ भिडियो निर्माण गरे । जसलाई आफ्नै युट्युब च्यानलबाट प्रसारण गरेका थिए ।

बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?