
२५ वैशाख, विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका अध्यक्षमा ७६ वर्षीय वृद्ध सूर्यबहादुर धिमाल उम्मेदवार बनेका छन् ।
माओवादी केन्द्रबाट अध्यक्षको उम्मेदवार बनेका धिमाल पूर्व फुटबल खेलाडी हुन् । उनलाई स्थानीयले ‘खरायो बाबै’ भनेर सम्बोधन गर्छन् । पाँच वर्षयता वृद्धभत्ता पाइरहेका उनी आफूलाई खरायो बाबै भन्न रुचाउँछन् ।
जनप्रतिनिधिमा ह्याट्रिक गर्ने दाउमा रहेका उनी पालिका चलाउने भिजन भएकाले उम्मेदवार बनेको दाबी गर्छन् । ‘त्यहाँ (पालिकामा) फुटबल खेल्न जाने होइन, ज्ञान र योजना लिएर जाने हो,’उनी भन्छन्, ‘सक्रियताको हिसाबले म एभरग्रिन हो ।’
२०७४ सालको स्थानीय तह निर्वाचनमा उनी माओवादी केन्द्रबाट कानेपोखरी गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका थिए । एमाले उम्मेदवार ताराबहादुर काफ्ले निर्वाचित हुँदा उनी दोस्रो बनेका थिए ।
वैशाख ३० गते हुने निर्वाचनका लागि उनी घरदैलोमा छन् । उनीसँगै नेकपा एमालेबाट राजमती इङ्नाम र नेपाली काङ्ग्रेसबाट सञ्जय भट्टराई उम्मेदवार छन् ।
एमाले उम्मेदवार इङ्नाम निवर्तमान कानेपोखरी गाउँपालिका उपाध्यक्ष हुन् । विराटनगर स्थायी बसोबास भएका भट्टराई कानेपोखरीका लागि नयाँ उम्मेदवार हुन् । एमालेले उपाध्यक्षमा भोला अधिकारी, नेपाली कांग्रेसले मनु गुरुङ र माओवादी केन्द्रले तारा ओझालाई उम्मेदवार बनाएको छ ।
पेसाले अमिन धिमाल २०३८ सालमा तत्कालिन मोरङको बयरवन गाबिस- ७ को निर्वाचित वडाध्यक्ष हुन् । त्यसपछि उनी तत्कालिन बयरवन गाउँ पञ्चायतको उपप्रधानपञ्च निर्वाचित भए ।
२०४३ सालमा उपप्रधानपञ्च उठ्दा उनले खरायो चुनाव चिह्न पाएका थिए । खरायो चुनाव चिह्न लिएर निर्वाचित भएका कारण उनलाई स्थानीयले ‘खरायो बाबै’ भन्छन् ।
२०४३ सालको चुनावमा सोमनाथ बाँस्तोलालगायत ४ जना प्रतिस्पर्धीको मत जोड्दा पनि नपुग्ने गरी मत ल्याएको उनी दाबी गर्छन् । ‘त्यसबेला ३ हजार ७ सय हाराहारी मत ल्याएको थिएँ,’उनी भन्छन्,‘ खरायो चुनाव चिह्न लिएर जितेका कारण अहिले पनि खरायो बाबैं भन्छन् ।’
उनी चुनाव जिते भ्रष्ट्राचार नगर्ने र अध्यक्षले प्रयोग गर्ने गाडीलाई एम्बुलेन्स बनाउने बताउँछन् ।
प्रतिक्रिया 4