+
+

पोखरामा गठबन्धनलाई अन्तर्घातकै डर

कार्यकर्ता फकाउँदै नेताहरुले भने– सबैलाई फाइदा छ

अमृत सुवेदी अमृत सुवेदी
२०७९ वैशाख २५ गते २३:१२

२५ वैशाख, पोखरा । पोखरा महानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादीलाई छाडेपछि नेपाली कांग्रेस, कास्कीमा देखिएको चरम असन्तुष्टिको बाछिटा वडा तहमा देखिएका छन् । सत्तारुढ गठबन्धनमा आवद्ध माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) पनि मेयर, उपमेयर बाहेकका पदमा एकल प्रतिस्पर्धामा छ ।

गठबन्धनमा आवद्ध दलका कार्यकर्ताले अनुशासनपूर्वक मत हालिदिएनन् भने पोखरामा एमालेका सामुन्ने एकीकृत समाजवादीलाई चुनाव जित्न निकै कठिन छ । गठबन्धनको सबभन्दा ठूलो दल कांग्रेसका असन्तुष्ट केही प्रतिशत मतदाताले मात्रै अन्तर्घात गरिदिए भने नतिजा उल्टो आउन सक्ने डर पोखरामा छ । वडा तहमा आ–आफ्नै उम्मेदवार भएको र गठबन्धनमा असन्तुष्ट रहेका माओवादी, जसपाको एउटा समूह पनि असहयोग गर्ने त्रास छ ।

आइतबार पोखरामा चुनावी सभा गरेका गठबन्धनका शीर्ष नेताहरुले असन्तुष्ट कार्यकर्ता फकाउने प्रयास गरेका छन् । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी शीर्ष नेताहरुले पोखरामा एक स्वरले भनेका छन्, ‘गठबन्धनले सबै पार्टीलाई फाइदा छ, मेयरमा धनराज आचार्य लगायतलाई जिताउनै पर्छ ।’

एकीकृत समाजवादीलाई कम आँकिएको गुनासो गर्दै आएका अध्यक्ष माधवकुमार नेपालले कसैले दम्भ देखाए त्यसले बिनाश ल्याउने भन्दै घुर्की लगाए ।

गठबन्धनबाट पोखराको मेयरमा लडेका एकीकृत समाजवादीका धनराज र उपमेयरमा कांग्रेसकी कोपिला रानाभाटलाई जिताउन आह्वान गरेका नेताहरुले सिंगो पोखराकै ध्यान खिच्ने गरी मन्तव्य दिएनन् । बरु अन्तर्घात भए देशै दुर्घटनामा जाने संकेत गरे र एमालेकाविरुद्ध एक भएर लाग्न आह्वान गरे ।

पाँचदलीय सभा भनिए पनि सहभागिता उत्साहजनक हुन नसकेको गठबन्धनकै नेताहरुको भनाइ छ । पोखरामा धनराजले चुनाव जित्नुपर्ने एजेण्डातिर भन्दा पनि गठबन्धन हार्न नहुनेतिर सभामा नेताहरुको जोड थियो ।

सभामा देउवा, प्रचण्ड र नेपालमध्ये सबभन्दा धेरै समय नेपाल नै बोलेका थिए । गठबन्धनभित्र कसैले दम्भ देखाएर मत नहाले केपी ओलीजस्तै विनाशतिर जाने एकीकृत समाजवादीका नेता नेपालको भनाइ रह्यो । कांग्रेस र कम्युनिस्ट शक्ति मिलेर मात्र परिवर्तन सम्भव भएको बताउँदै नेता नेपालले कहिले कम्युनिस्टले त कहिले कांग्रेसले दम्भ देखाउने बताए । ‘दम्भले केपी ओलीको विनाश गरायो । तपाईंको पनि विनाश बाहेक केही हुने छैन,’ नेता नेपालको चेतावनी थियो ।

पोखरामा हुन सक्ने अन्तर्घाततिर संकेत गर्दै नेपालले कुनै पनि हालतमा धनराजले चुनाव जित्नुपर्ने बताए । एकीकृत समाजवादीले टिकट पाउने भएपछि कास्की कांग्रेसका नेताहरु देउवालाई भेट्न काठमाडौं पगेका थिए । गठबन्धन गर्नु बाध्यता भएकाले बुझिदिन आग्रह गरेका देउवाले पोखरामै आएर चाहिँ गठबन्धनले सबैभन्दा बढी फाइदा कांग्रेसलाई नै भएको बताए ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले नेता नेपाललाई ढाडस दिए भने कार्यकर्तालाई थुमथुम्याउँदै गठबन्धन कांग्रेसका लागि अझ फाइदाजनक रहेको बताए ।

देउवाले हिजो कांग्रेसको अवस्था के थियो र आज कुन अवस्थामा छ भन्ने बुझेर गठबन्धनलाई जिताउन आह्वान गरे । ओलीजस्तो अविश्वसनीय कोही नभएको बताउँदै देउवाले उनको विकल्पमा गठबन्धन चाहिएको बताए । गठबन्धन किन बनेको हो भन्ने प्रश्न गर्दै देउवाले भने, ‘ओलीको आतंकी शासन कस्तो भने संसद्‍को विरोध गर्‍यो भने संसद्‍ नै भंग गरिदिने । संसद्‍ चल्न नदिने । संसदीय व्यवस्था मान्नेखाले पनि होइनन् ओलीजी ।’ त्यसैले कांग्रेसकै लागि सबैभन्दा बढी गठबन्धन आवश्यक रहेको उनको भनाइ थियो ।

गठबन्धन सफल पार्ने कांग्रेसको कर्तव्य भएको देउवाले बताए । ‘कांग्रेसका साथीहरूले गठबन्धनमा शंका उपशंका गर्नु हुँदैन । यदि त्यो प्रमाणित भयो भने कारबाही पनि हुन्छ,’ प्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘प्रचण्ड र माधव नेपालजीले उदार भएर हामीलाई सहयोग गर्नुभएको छ । हामीलाई सरकारमा ल्याएको छ ।’

गठबन्धन बचाउने हो भने पोखरामा धनराजलाई जिताउनु पर्ने कांग्रेस सभापति देउवाको भनाइ थियो । ‘गठबन्धनलाई बचाउनु छ भने धनराज आचार्यलाई जिताउनु छ । गठबन्धनलाई बचाउनु छ भने कोपिला रानाभाटलाई पनि जिताउनु छ । त्यसैले गठबन्धन आवश्यक छ, कांग्रेसका लागि छ,’ उनले भने, ‘गठबन्धन बचाउन हरेक पालिकामा गठबन्धनको विजय हुन जरुरी छ ।’

चितवन पुगेर भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई जिताउन आह्वान गर्दै गठबन्धनले जितेन भने देश दुर्घटनामा जाने बताएका माओवादी अध्यक्ष प्रचण्डले पोखरामा पनि त्यस्तै अभिव्यक्ति दोहोर्‍याए ।

गठबन्धनबाट सबै दललाई फाइदैफाइदा भएको बताउँदै दाहालले कांग्रेस नेतृत्वको सरकारलाई सफल बनाउन अपिल गर्दा धम्क्यायो भनेर गलत अर्थ लगाइएको पनि बताए । ‘कांग्रेसको नेतृत्वको सरकारलाई सफल बनाउन अपिल गर्दा जनता धम्क्यायो भनेर गलत अर्थ लगाइएको छ,’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘म फेरि भन्छु, यो गठबन्धन राजनीतिक दुर्घटनाबाट बचाउन जन्मिएको हो । यसलाई दायाँबायाँ हुन दिनु हुँदैन ।’

गठबन्धनले ५० प्रतिशत कांग्रेसलाई फाइदा पुगेको बताउँदै उनले सबै दललाई गठबन्धन फाइदैफाइदा भएको बताए । ‘५० प्रतिशत नेपाली कांग्रेसलाई फाइदा छ । माओवादीलाई पनि फाइदा, जसपालाई पनि फाइदा, एकीकृत समाजवादी र जनमोर्चा सबैलाई फाइदा,’ प्रचण्डले भने, ‘एकातिर राजनीतिक मुद्धा मिल्ने, अर्कोतिर फाइदा मिल्ने भयो भने मात्रै गठबन्धन अगाडि जान्छ ।’

गठबन्धन नजन्मेको भए देश दुर्घटनामा जान्थ्यो भन्दै उनले भने, ‘दुर्घटनामा जानबाट बचाउन नै यो गठबन्धन बनेको हो । गठबन्धन बनेकै दिनदेखि यसलाई टुटाउने प्रयास भयो भइरहेको छ । कुनै पनि हालतमा गठबन्धन टुट्न हुँदैन, टुट्दैन ।’

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नै पार्टीले टिकट पाइदिए हुन्थ्यो भनेर हिजो दाबी गर्नु स्वभाविक भए पनि ओलीप्रवृत्तिका विरुद्ध अब गठबन्धन एक हुनुपर्ने बताए । माओवादी नेता देव गुरुङ, कांग्रेस सहमहामन्त्री जीवन परियार, राष्ट्रिय जनमोर्चाका प्रदेश अध्यक्ष शंकर बराल लगायतले ओलीले संविधान मास्न लागेपछि बनेको गठबन्धन टुट्न नहुने बताए ।

जसपाको बहिस्कार

पोखरामा आफूहरुलाई अपमान गरिएको भन्दै गठबन्धनबाट अलग भएको घोषणा गरेको सत्तारुढ दल जनता समाजवादी पार्टीले  आइतबारको चुनावी सभा पनि बहिस्कार गरेको छ ।

अन्य ४ दलका नेता सभामा सहभागी भए पनि जसपाका कुनै पनि नेता सभामा बहिस्कार भएनन् । गठबन्धनभित्र आफूहरुको अस्तित्वमाथि शंका गर्ने र अपमान गर्ने काम भएको भन्दै यसअघि नै गठबन्धनबाट अलग भएको जसपाले घोषणा गरेको थियो । जसपा महानगर कमिटी अध्यक्ष राजु क्षेत्रीले शनिबार विज्ञप्ति जारी गर्दै गठबन्धनबाट आफूहरु अलग भइसकेकाले पार्टीको नाम, झण्डा र चुनाव चिह्नको दुरुपयोग नगर्न आग्रह नै गरेका थिए ।

‘गठबन्धनको आवश्यकता र औचित्य हुँदाहुँदै नेपाली कांग्रेस कास्कीले अहंकार प्रस्तुत प्रदर्शन गर्दै गठबन्धन तोडिसकेको छ । व्यवहारतः यहाँ ५ दलीय कुनै गठबन्धन छैन,’ क्षेत्रीले भने, ‘तर, आइतबारको सभामा पार्टीको चुनाव चिह्न पनि दुरुपयोग गरिएको छ । यो प्रतिवाद गर्छौं । जसपाले संस्थागत रुपमा यो गठबन्धनलाई सहयोग गर्दैन ।’ जनता समाजवादीले पोखरामा सम्मानजनक मत रहेको र गठबन्धन टुटेकाले त्यो मत कहाँ सदुपयोग गर्ने भन्ने आफूहरु स्वतन्त्र रहेको बताएको छ ।

गठबन्धनका साना ठूला सबै दलमा असन्तुष्टी बढ्दा पोखराको सबैभन्दा ठूलो दल एमाले सामुन्ने गठबन्धनका उम्मेदवार धनराजलाई जीत निकाल्नु चुनौतीपूर्ण बनेको छ । पोखरामा पूर्वमेयर तथा सांसद कृष्ण थापा एमालेबाट मेयरका उम्मेदवार छन् ।

पोखरामा २०७४ मा १ लाख ६८ हजार ६८ मतदाता थिए । अहिले ३९ हजार ६ सय ४५ मतदाता थपिएर २ लाख ७ हजार ७ सय १२ पुगेका छन् । पोखराको बलियो पार्टी एमाले र गठबन्धन दुबैलाई जित्ने आधार र निर्णायक शक्तिका रुपमा थपिएका मतदातालाई मानेका छन् ।

थपिएका मतदातामध्ये आधा/आधा आफ्नो भएको एमाले कांग्रेसको दाबी छ भने नेकपा माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले पनि त्यसमा आफूहरुको राम्रै हिस्सा भएको दाबी गरिरहेका छन् । अघिल्लो निर्वाचनमा मेयर, उपमेयरसहित पोखराका ३३ वटा वडामध्ये २२ वडामा एमाले र ११ वटामा कांग्रेसले जितेको छ ।

एमाले उम्मेदवार मानबहादुर जिसीले ६० हजार ११८ मत ल्याउँदै विजयी भएका थिए । कांग्रेसका उम्मेदवार रामजी कुँवरले ४६ हजार ४१६ मत ल्याएका थिए । उपमेयरमा ५६ हजार ४५८ मत ल्याएर एमालेकै उम्मेदवार मञ्जुदेवी गुरुङले चुनाव जित्दा कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३३८ मत ल्याएकी थिइन् । मेयर कांग्रेसलाई सघाएर उपमेयरमा मात्र उम्मेदवारी दिएको माओवादी उम्मेदवार गोमा ढकालले ८ हजार ७९६ मत ल्याएकी थिइन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?