+
+

भरतपुरमा कठिन देखिँदैछ विजयको कमब्याक

भरतपुरको मुख्य बजार क्षेत्रको मतगणना सकिएको छ । पश्चिम चितवनका वडाहरुमा मतगणना सुरु हुँदै गर्दा एमाले मेयर उम्मेदवार विजय सुवेदीलाई झनै कठिन हुने सम्भावना छ । वडा नं. १३ माओवादीको प्रभाव क्षेत्र हो ।

सुवास पण्डित सुवास पण्डित
२०७९ जेठ ६ गते १८:४६

६ जेठ, चितवन । भरतपुर महानगरपालिकामा ३० वैशाखमा खसेको एक लाख २७ हजारमध्ये ६० हजार मत गणना भइसकेको छ । अझै करिब ६७ हजार मत गणना गर्न बाँकी रहेकाले परिणामबारे अनुमान गर्न अहिले नै हतार हुनेछ ।

तर जतिजति मत गणना सकिँदै गएको छ, मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालमा जितको विश्वास बढ्दै गएको छ भने नेकपा एमालेका विजय सुवेदीको सम्भावना कमजोर बन्दै गएको छ । यो समाचार तयार पार्दासम्म सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहाल र राप्रपासँग तालमेल गरेको एमालेका उम्मेदवार सुवेदीको प्रतिस्पर्धा ३ हजार मतको अन्तर छ ।

५८ हजार १३४ मत गणना हुँदा रेनुले २१ हजार ९६४ मत पाएकी छन् भने सुवेदीले १८ हजार ७७९ मतका साथ उनलाई पछ्याइरहेका छन् । वडा नं. ९ को गणनासँगै कायम भएको सुवेदी र दाहालबीच मतान्तर वडा नं. १०, ११ र १२ को गणना सकिँदा उस्तै उस्तै अवस्थामा छ । मतदाता बढी भएको १०, ११ र १२ मा आफ्नो प्रभाव बढी भएकाले रेनुको मतान्तरलाई घटाउने एमालेको विश्वास थियो । तर त्यस्तो देखिएन ।

वडा नं. १० संघीय सांसद कृष्णभक्त पोखरेलको घर भएको क्षेत्र हो । वडा नं. ११ एमालेको सबैभन्दा बलियो किल्ला मानिन्छ । वडा नं. १२ एमाले मेयर उम्मेदवार विजय सुवेदीको घर भएको वडा हो । यी वडाहरुबाट एमालेले जति मतको अपेक्षा गरेको थियो, त्यसअनुसार मत नआएको मत गणना नियालिरहेका एमाले नेताहरु बताउँछन् ।

भरतपुरको मुख्य बजार क्षेत्रको मतगणना सकिएको छ । पश्चिम चितवनका वडाहरुमा मतगणना सुरु हुँदै गर्दा एमाले मेयर उम्मेदवार विजय सुवेदीलाई झनै कठिन हुने सम्भावना छ । वडा नं. १३ माओवादीको प्रभाव क्षेत्र हो ।

उनीहरुका अनुसार एमाले बलियो मानिएको कतिपय वडामा त रेनुले नै अग्रता कायम गरेकी छन् । वडा नं. १० र ११ मा एमाले वडाध्यक्ष उम्मेदवारलाई भन्दा कम भोट मेयरमा सुवेदीलाई आएको छ । वडा नं. १२ मा भने केही सुधार देखिएको गणनामा बसेका एमालेका प्रतिनिधिहरु बताउँछन् । ‘जहाँबाट धेरै भोट आउँछ भन्ने धेरै आशा थियो, त्यहीँबाट मत आएन’ एमालेका एक जिल्ला नेता भन्छन्, ‘यस्तो अवस्थामा चुनाव जित्ने आशा कमजोर बन्दै गएको देखियो ।’

वडा नं. ३ मा आश्चर्यजनक जित निकालेको एमालेले यसअघि जितेका वडा नं. २, ४, ५, ७, ९ र १० गुमाएको छ । वडा नं. ७ र ९ एमालेले जितेका वडा भएपनि उनीहरु एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा लागेका थिए । एकीकृत समाजवादीमा लागेका वडा नं. ७ का राजेन्द्रमणि काफ्ले र वडा नं. ९ का यम कँडेलले फेरि पनि गठबन्धनबाट वडाध्यक्ष जितेका छन् ।

वडा नंं ११ मा एमालेका कमल मल्ल र १२ मा लेखराज पन्तले वडाध्यक्ष जितेका छन् । वडा नं. १२ यसअघि एमालेले जितेपनि पार्टी विभाजनपछि वडाध्यक्ष नरेन्द्र कन्दङ्वा एकीकृत समाजवादीतिर लागेका थिए । उनै कन्दङ्वा यसपटक गठबन्धनमा रहेका दलको समर्थनमा उम्मेदवार भएपनि एमालेसँग पराजित भएका छन् ।

अब पश्चिम चितवन

भरतपुरको मुख्य बजार क्षेत्रको मतगणना सकिएको छ । पश्चिम चितवनका वडाहरुमा मतगणना सुरु हुँदै गर्दा एमाले मेयर उम्मेदवार विजय सुवेदीलाई झनै कठिन हुने सम्भावना छ । वडा नं. १३ माओवादीको प्रभाव क्षेत्र हो । २०७४ मा माओवादीले प्यानलसहित वडाध्यक्ष जितेको यही वडा हो । यो वडाबाट रेनुले प्रतिस्पर्धी विजयसँग मतान्तर अझै फराकिलो पार्ने सम्भावना छ ।

वडा नं. १४ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वडा हो । यहाँ वडाध्यक्ष कांग्रेसले पाएको छ ।

अघिल्लोपटकको चुनावमा पनि कांग्रेसले एक्लै जितेको थियो । वडा नं. १४ मा बागी उम्मेदवार जगन्नाथ पौडेलको समेत प्रभाव रहेको मानिएको छ । केही भोट उनले काट्ने सम्भावना छ । तर समग्रमा अहिलेको मतको ट्रेन्डलाई हेर्दा रेनुले मतान्तर बढाउँदै लैजाने देखिन्छ ।

वडा नं. १५, १६, १७, १८, १९, २० र २१ नम्बर वडा कांग्रेस बलियो भएको वडा हुन् । वडा नं. १६ मा एमालेको पनि प्रभाव छ । तर रेनुको बढ्दो अग्रतालाई रोक्न सक्ने मत छैन । एमालेले विजय सुवेदीले राजनीति सुरु गरेको तर कांग्रेसका बलियो प्रभाव भएका वडा नं. १८, १९, २० लगायतका स्थानबाट केही मत थपिनसक्ने अपेक्षा गरेको छ ।

‘जहाँबाट मत आउनुपर्ने हो त्यहीँबाट मत नआएपछि अरुको प्रभावबाट मत आउँछ भन्ने कुरा भएन’ एमालेका एक नेताले भने, ‘एमालेकै मत आएको देखिँदैन, अरुको मत आउँछ भन्ने आशा कसरी गर्ने ?’

वडा नं. २२, २३, २४,२५, २७ र २८ राप्रपाको पनि प्रभाव भएका वडा हुन् । राप्रपा कार्यकर्ताले इमान्दारीपूर्वक मेयरमा विजय सुवेदीलाई भोट दिएको भए रेनुलाई भेट्टाउने झिनो सम्भावना हुन्छ । तर अहिले रेनुको पक्षमा झरेको मत एमालेका लागि जोखिमपूर्ण बनेको छ ।

राप्रपा र एमालेकै समेत मत रेनुको पक्षमा गएको एमालेकै नेताहरुले बताइरहँदा एमालेको जित कठिन बन्दै गएको छ । एमालेकै मान्छे द्रब्यको पछि लागेको भन्दै पोलिट्ब्यूरो सदस्य देवी ज्ञवाली भन्छन्, ‘बितेको तीन बर्षमा पार्टी एकताका नाममा जेजे गतिविधि चितवनमा भए, त्यसको प्रभाव मतमा देखिएको छ ।’

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?