+
+

भारतबाट आउने र नेपालबाट जाने तरकारी र खाद्यवस्तुको परीक्षण विहारमा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते २१:४८

२२ जेठ, काठमाडौं । नेपालबाट भारततर्फ निर्यात र भारतबाट नेपालमा आयात हुने तरकारी तथा खाद्य पदार्थको जाँच अब बिहारमै हुने भएको छ । यसअघि नेपालबाट जाने र नेपालमा पठाउने व्यापारीहरूलाई खाद्य पदार्थ जाँच गर्न पश्चिम बंगाल जानुपर्ने बाध्यता थियो ।

भारतीय खाद्य सुरक्षा र मानक प्राधिकरणको चौंथो फूड ल्याब आइतबारदेखि बिहारको रक्सौलमा खुलेको छ । यसको उद्घाटन केन्द्रीय मन्त्री मनसुख मण्डावियाले गरेका थिए । बिहारभन्दा पहिले कोलकाता, गाजियाबाद र मुम्बइमा तीनवटा यस्ता प्रयोगशाला खुलिसकेका छन् ।

नेपालबाट जाने र नेपालका लागि निर्यात हुने खाद्यवस्तु नमूना मापदण्डअनुसार परीक्षण गरिने प्रयोगशाला अधिकारीले बताए । ल्याबमा तरकारी, फलफूल, गहुँ, चामल, तेल र अन्य पेय पदार्थको पनि परीक्षण हुनेछ । प्रारम्भिक रुपमा बिहारबाट नेपाल जाने पदार्थको अनुसन्धान गरिने छ । यसपछि राज्यभरबाट नमूना परीक्षण गरिने जानकारी बिहार सरकारले दिएको छ ।

प्रयोगशालामा सबै प्रकारका खाद्यवस्तु परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । अहिलेसम्म बिहारबाट बाहिरिने खाद्य वस्तुको नमूना परीक्षणका लागि कोलकाता पठाउनुपर्ने थियो । यसको अनुसन्धान प्रक्रियामा १५ दिनदेखि एक महिनासम्म लाग्थ्यो ।

भारतबाट नेपाल जाने वा आउने खाद्यान्न बोकेका ट्रक परीक्षण प्रमाणपत्र नहुँदा केही दिनसम्म सीमामा उभिने गरेका छन् । कहिलेकाहीँ नमूना बाटोमा बिग्रिने समस्या पनि थियो ।

यो प्रयोगशाला खुल्दा यस क्षेत्रमा खाद्यान्न तथा पेय पदार्थको औद्योगिकीकरणमा टेवा पुग्ने भारतीय व्यवसायीहरुको विश्वास छ । चाँडै प्रमाणपत्र प्राप्त गर्नाले व्यवसायमा पनि सुधार हुने उनीहरुले बताएका छन् ।
भारतबाट नेपालमा चामल, गहुँ, दाल, तेल, सेव, तरकारी, चिनी, सिमेन्ट, कपडा र तयारी कपडा आयात हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?