+
+

सन् २०२५ सम्म नेपालबाट बालश्रम उन्मुलन हुन्छ : श्रममन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २४ गते २२:०८

२४ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले १ सय १०औं अन्तर्राष्ट्रिय श्रम सम्मेलन सम्वोधन गरेका छन् । स्विट्जरल्याण्डको जेनेभामा जारी सम्मेलनमा भर्चुअल सम्वोधन गर्दै मन्त्री श्रेष्ठले सवै प्रकारका बालश्रम, बाध्यात्मक श्रम, मानव बेचविखन तथा आधुनिक दासत्व पूर्ण रुपमा उन्मुलन गर्ने नेपालको प्रतिवद्धता रहेको बताए ।

सवै प्रकारका बालश्रम सन् २०२५ सम्ममा उन्मुलन गर्ने लक्ष्यका साथ नेपाल सरकारले काम गरिरहेको मन्त्री श्रेष्ठले जानकारी दिए ।

आप्रवासन सम्बन्धी विश्वव्यापी समझदारीपत्रको भावनाअनुसार नेपालले काम गरिरहेको बताउँदै उनले आप्रवासी कामदारले गन्तव्य तथा सम्वद्ध मुलुकमा मानवअधिकार तथा समानताको सुनिश्चितता हुनुपर्ने बताए ।

मन्त्री श्रेष्ठले नेपालले कोभिड विरुद्ध खोप अभियानलाई सफलतापुर्वक अघि बढाइरहेको बताए । महामारीका कारण परेको असर कम हुँदै जाँदा नेपालको अर्थव्यवस्था विस्तारै सुधार हुँदै जाने क्रममा रहेको तर उपभोग्य वस्तुहरुको मुल्य बढेकोले श्रमिकको जीवनस्तर तथा उद्योगहरुमा समेत यसबाट असर पुगेको मन्त्री श्रेष्ठले बताए ।

उनले नेपालले रोजगारी, सामाजिक सुरक्षा तथा औद्योगिक सुरक्षाको बारेमा गरिरहेको प्रयासबारे सम्मेलनलाई जानकारी गराए ।

नेपालले सन् २०१८ मा योगदानमा आधारित सामाजिक सुरक्षा योजना अगाडि बढाएको बताउँदै उनले श्रमिक तथा उनीहरुको परिवारको कामसँग सम्वन्धि जोखिम न्युनिकरण सम्वन्धमा सामाजिक सुरक्षा योजना महत्वपुर्ण कदम रहेको उल्लेख गरे ।

सीमान्तकृत तथा बेरोजगार नागरिकहरुलाई केन्द्रमा राखी सुरु गरिएको सय दिन रोजगार दिने प्रधानमन्त्री रोजगार कार्यक्रमले अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र महामारीमा रोजगारी गुमाएकाहरुलाई पनि केही मात्रामा सहयोग पुर्याएको मन्त्री श्रेष्ठले बताए ।

व्यवसायिक सीप विकास तालिम नीति तथा संरचनाहरु निर्माण गरी रोजगारका अवसरहरु उपलव्ध गराउन लागिपरेका उनको भनाइ छ । अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा आइएलओका सदस्य रहेका विभिन्न देशका सरकार तथा राज्य प्रमुख, श्रममन्त्री, उद्यमी तथा औद्योगिक क्षेत्रका अगुवा तथा श्रमिक नेताहरुले सम्बोधन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?