+
+

मलको विषयमा सरकारसँग सत्तारुढ दलकै सांसदहरु रुष्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते १९:००
फाइल तस्वीर

७ असार, काठमाडौं । सत्तारुढ दलका सांसदहरुले नै सरकारको चर्को आलोचना गर्न सुरु गरेका छन् ।

सत्तारुढ नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतम, नेकपा (माओवादी केन्द्र)की सांसद धर्मशिला चापागाईँ र नेकपा (एकीकृत समाजवादी)की सांसद पार्वतीकुमारी बिसुन्केले जनतालाई अझै मलको व्यवस्था गर्न नसकेको, आगामी आर्थिक वर्षको बजेटमा आफ्ना निर्वाचन क्षेत्रका लागि कुनै पनि बजेट विनियोजन नगरेको, महंगीले जनता मारमा पर्दा पनि राहत दिने तयारी समेत नगरेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै काँग्रेस सांसद गौतमले असार १५ बित्न लाग्दा समेत मलको अझै व्यवस्था गर्न नसकेको उल्लेख गर्दै सरकारप्रति आक्रोश व्यक्त गरे । उनले महंगीको मारमा परेका जनतामा निराशा छाउन थालेको उल्लेख गर्दै त्यसतर्फ सचेत रहन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

आफ्नो निर्वाचन क्षेत्रमा आगामी आर्थिक वर्षका लागि एउटा पनि बजेट नपारेको भन्दै नेकपा (माओवादी केन्द्र)की सांसद धर्मशिला चापागाई आपत्ति जनाए ।

गत माघ महिनादेखि जनताका सरोकारका योजनाहरुमा बजेट हाल्नका लागि अर्थमन्त्री जनार्दन शर्मासँगै कुरा गरेको उल्लेख गर्दै उनले त्यहाँ किन बजेट नपारेको हो, जनतालाई तत्काल जवाफ दिन सरकारसँग माग गरे ।

अर्का सत्तारुढ दल नेकपा एकीकृत समाजवादीकी सांसद पार्वतीकुमारी बिसुन्केले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको नामै लिन सरकारले नचाहेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले सो जलविद्युत आयोजना नेपाली लगानीमै सम्पन्न गर्ने गरी अघि बढाउन पनि सरकारलाई दवाव दिए ।

सांसद बिसुन्केले नेपालको जलविद्युत निर्यात गरेर राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुर्‍याउन सक्ने सो आयोजनाको काम अघि बढाउन किन बिलम्व गर्नु परेको भनि सरकारसँग प्रश्न समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?