
८ असार, विराटनगर । सुनसरीको बर्जु गाउँपालिकाले किसानलाई वितरण गर्न ल्याएको पानी तान्ने मोटर कर्मचारीले लगेको खुलेपछि विवाद भएको छ ।
चालु आर्थिक वर्षमा वितरणका लागि ल्याएकामध्ये पाँच वटा मोटर पालिकाको गोदाममा थियो । तर गोदाम खाली गर्ने क्रममा कर्मचारीले मोटर लिएर घरतर्फ गएको भन्दै स्थानीयले विरोध गरेका थिए ।
सोमबार विहान साढे ८ बजे गोदामबाट अटोमा लोड गरेर पानी तान्ने तोटर लगेपछि स्थानीयले रोकेका थिए । को ३ ह ५९७९ नम्बरको टेम्पोमा मोटर लिएर गएपछि बर्जु गाउँपालिका–५ का बासिन्दाले टेम्पो र कर्मचारीलाई नियन्त्रणमा लिएका थिए । स्थानीयले सरकारी बजेटको मोटर कर्मचारीले चोरेको भन्दै विरोध गरेपछि विवाद बढेको थियो ।
विवादका क्रममा दुर्व्यवहार गरेको भन्दै कर्मचारीले बुधबार नगरपालिकाको कामकाज रोकेका छन् । शान्ति सुरक्षाको माग गर्दै बुधबार पेन डाउन गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले बताए । कर्मचारीले गल्ती गरेको भए कारवाही गर्ने कानुन हुँदा हँुदै कर्मचारीमाथि दुव्यर्वहार गर्नु गलत भएको उनी बताउँछन् ।
के हो घटना ?
पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीका अनुसार चालु आर्थिक वर्षका लागि किसानलाई वितरण गर्न यसअघिको नेतृत्वले पानी तान्ने मोटर खरिद गरेको थियो । खरिद भएकामध्ये अरु मोटर वितरण भए पनि पाँच वटा मोटर भने स्थानीय तहको निर्वाचन आचारसंहिता सुरु भएका कारण वितरण भएन ।
वितरण नभएको मोटर पालिकाको स्टोरमा राखिएको थियो । तर एनआईसी एसिया बैंकलाई भाडामा दिएको स्टोर खाली गर्ने क्रममा पालिकाका कार्यालय सहायक फिरोज अन्सारीले मोटर निकालेका थिए । उनले मोटर लिएर जादै गर्दा स्थानीयले रोकेका थिए । ‘बैंकलाई गत चैतमा नै भाडामा दिने सहमति अनुसार स्टोर कोठा खाली गरिएको थियो’, प्रशासकीय अधिकृत चौधरीले भने, ‘कामदार विहानै आएपछि कर्मचारीले मोटर निकालेर अन्यन्त्र लैजादा स्थानीयले रोकेपछि विवाद भयो ।’
उनका अनुसार गोदाम खाली गर्दा निकालिएको मोटर कहाँ राख्ने भनेर माथिल्लो निकायलाई जानकारी थिएन । ‘मैले पनि अफिस आएपछि मात्रै थाहा पाएँ’, उनले भने, ‘अफिस आएपछि स्टोरबाट निकालेर सामुदायिक भवनमा राख्नका लागि लगिएको जानकारी आयो ।’
स्थानीयले भने योजना शाखाका प्रमुख अरुणकुमार राय, जिन्सी शाखाका प्रमुख सन्तोष बञ्जरा र कार्यालय सहयोगी फिरोज अन्सारीले मिलेमतोमा चोरी गरेको दावी गरेका छन् ।
स्थानीयले चोरी गरेको दाबी गरेपछि सोमबार र मंगलबार पालिकामा विवाद भएको थियो । कार्यालयमा राख्नका लागि स्थान हुँदा हुँदै विक्री गर्ने उद्देश्यले बाहिर लगिएको भन्दै स्थानीयले विरोध जनाएका थिए ।
पालिका अध्यक्ष जिबच्छ गच्छदारले कार्यालयलाई जानकारी नदिई नै मोटर लगेका कारण घटना शंकास्पद रहेको बताए । उनले यो घटनाको छानबिन गरिने पनि बताए ।
तीन जनालाई स्पष्टीकरण
स्थानीय र जनप्रतिनिधिले मोटर चोरी भएको आशंका गरेपछि पालिकाका प्रमुख प्रशासकीय अधिकृत चौधरीले तीन जना कर्मचारीलाई स्पष्टीकरण सोधेका छन् ।
योजना शाखाका प्रमुख अरुणकुमार राय, जिन्सी शाखाका प्रमुख सन्तोष बञ्जरा र कार्यालय सहयोगी फिरोज अन्सारीलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । घटनाको विषयमा बास्तिकता बुझ्नका लागि स्पष्टीकरण सोधिएको उनले बताए ।
हेर्नुहोस् स्पष्टीकरण पत्र
प्रतिक्रिया 4