+
+

सरकारले नेपालमा छायांकन हुने विदेशी फिल्मलाई छुट दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते ११:४१
नेपालमा छायांकन भएको हलिउड फिल्म डक्टर स्ट्रेन्जको एक दृश्य

काठमाडौं । सन् २०२३ देखि २०३३ सम्म नेपालमा छायांकन हुने विदेशी फिल्मले छुट पाउने भएका छन् । सरकारले यो अवधिलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने भएको छ ।

विदेशी मुद्राको आम्दानी बढाउने लक्ष्यसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोषणा गरेको ७४ वटा पुनरुत्थान कार्यक्रममा यो योजना उल्लेख छ ।

आइतबार कार्यक्रम घोषणा गर्दै पर्यटनमन्त्री जीवनराम श्रेष्ठले यसले नेपालको पर्यटन बजारमा सकारात्मक लहर ल्याउने दाबी गरे । चालु आर्थिक वर्षको बजेटमा पनि नेपाललाई अन्तर्राष्ट्रिय छायांकन गन्तव्य स्थलको रुपमा विकास गर्ने उल्लेख छ ।

नेपालमा छायांकन हुने विदेशी फिल्मले लोकेसनअनुसार न्यूनतम १५ हजार रुपैयाँदेखि १५ सय डलरसम्म तिर्छन् । छायांकन शुल्क नभनिए पनि सेन्सर शुल्क भनेर सरकारले पैसा लिन्छ ।

सार्क मुलुकबाहेकका फिल्ममेकरले कुनै एक राष्ट्रिय निकुञ्जमा छायांकन गर्नुपरे १५ सय डलर तिर्नुपर्छ । माथिल्लो मुस्ताङ र मनाङमा छायांकन गर्नुपरे ५ हजार डलर शुल्क तोकिएको छ । नगरपालिका र गाउँपालिकाले स्थानीय सरकारको कर नीतिअनुसार अलग्गै कर लिने गरेका छन् । काठमाडौं महानगर प्रमुख भएर आइसकेपछि बालेन साहले काठमाडौंलाई विदेशी फिल्मको छायांकन थलोको रुपमा विकास गर्ने बताएका थिए ।

नेपालमा सबैभन्दा धेरै समय रहेर छायांकन हुने विदेशी फिल्म क्याराभान हो । माथिल्लो डोल्पामा महिनौं रहेर एरिक भ्यालीले यो फिल्म छायांकन गरेका थिए । हलिउडको डक्टर स्ट्रेन्ज र बलिउडको उचाइ फिल्म पनि नेपालमा केही साता रहेर खिचिएको थियो ।

तर ‘डक्टर स्ट्रेन्ज २’ पुनः नेपाल फर्किएन । बरु उसले स्टुडियोबाटै नेपालको दृश्यलाई उतार्‍यो । विदेशी फिल्म छायांकन हेरिरहेका निर्माता रामकृष्ण पोखरेल नेपालमा प्रोत्साहन शुल्क नहुँदा विदेशी फिल्म छायांकनलाई आउन नमान्ने गरेको बताउँछन् ।

‘उनीहरुलाई नेपालमा भन्दा अन्यत्र सुटिङ गर्दा सस्तो पर्छ र त्यतै जान्छन् । नेपालमा खर्च गरेको पैसा पनि फिर्ता हुँदैन,’ उनी भन्छन्, ‘सरकारले यो गर्छु भनेर मात्र नीति ल्याएर भएन, बृहत रुपमै कुन–कुन कुरामा छुट ल्याउनुपर्छ त्यो खुलाउनुपर्छ ।’

सरकारले सेन्सर शुल्कको रुपमा विदेशी फिल्मबाट लिने शुल्क पनि अनावश्यक भएको उनले बताए । चलचित्र विकास बोर्डको आधिकारिक तथ्यांकअनुसार अहिलेसम्म नेपालमा छायांकन हुने विदेशी फिचर फिल्मको संख्या ३२ पुगेको छ । सन् १९८९ मा शत्रुघन सिन्हा स्टार ‘जखम’ छायांकन भएदेखि यस वर्ष बलिउडकै ‘उचाइ’ समेत नेपालमा सुटिङ भयो ।

नेपालमा फिचरभन्दा डकुमेन्ट्री छायांकन गर्न आउनेको संख्या उच्च छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?