+
+

गौतमश्री सहकारीविरुद्ध १,१४५ जना बचतकर्ताको उजुरी, डेढ अर्बको दाबी

सात ठाउँको सम्पत्ति र १५ जनाको बैंक खाता रोक्का

सहकारी विभागमा गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध १,१४५ जना बचतकर्ताले ठगीको उजुरी दिएका छन् ।

विजय पराजुली विजय पराजुली
२०७९ साउन १६ गते २०:१५

१६ साउन, काठमाडौं । सहकारी विभागमा गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध १,१४५ जना बचतकर्ताले ठगीको उजुरी दिएका छन् । सहकारीले करिब २५ हजार बचतकर्ताको करिब ७ अर्ब रुपैयाँ बचत परिचालन गरेको अनौपचारिक जानकारी आएको विभागका अधिकारीहरु बताउँछन् ।

बचतकर्ताहरुले करिब डेढ अर्ब रकम ठगी भएको दाबीसहित उजुरी दिएको विभागका सूचना अधिकारी टोलराज उपाध्यायले अनलाइनखबरलाई जानकारी दिए । सहकारीको सदस्य संख्या कति हो र कतिको कारोबार गर्दै आएको थियो भन्ने विवरण विभागसँगै छैन । सहकारीमा कारोबार गर्दै आएका बचकर्ताको उजुरीका आधारमा मात्रै विभागले विवरण संकलन गरीरहेको उनले बताए ।

काठमाडौं महानगरपालिका-१४ स्थित कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको सहकारीको सञ्चालक तथा व्यवस्थापक कार्यालयमा ताला लगाएर भागेपछि सहकारीका बचतकर्ता शुक्रबार विभागमा पुगेका थिए ।

बचतकर्ता विभागमा पुगेपछि शुक्रबार नै विभागले उक्त सहकारीको मुलुकका विभिन्न सात स्थानमा रहेको सम्पत्ति विभागको अनुमति बिना खोल्न, चलाउन, सरसामान बिक्री नगर्न पाउने गरी रोक्का राख्न प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागलाई पत्राचार गरेको थियो ।

सहकारीका अध्यक्ष रामबहादुर गौतम र उनकी पत्नी निर्मला खत्री गौतमसहित १५ जना सञ्चालक तथा कर्मचारीको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको उपाध्यायले बताए ।

विभागमा उजुरी दिन पुगेको पीडितहरुले दिएको जानकारीको आधारमा सहकारीको विभिन्न ७ ठाउँमा रहेको सम्पत्ति रोक्का राख्न प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोलाई पत्राचार गरेको उनले बताए ।

बचतकर्ताहरुले दिएको उजुरीको आधारमा नाम नै किटान गरेर सहकारीका अध्यक्ष, सञ्चालक, लेखासमितिका संयोजक लगायतको  बैंक खाता र सम्पत्ति रोक्का राख्न राष्ट्र बैंकमा पनि पत्राचार भएको उनले बताए ।

काभ्रेको धुलिखेल नगरपालिका स्थायी घर भएका संस्थाका अध्यक्ष गौतम र उनकी पत्नी निर्मला, सञ्चालक समितिकै राम गौतम, सदस्यहरू होमकुमारी खत्री, अर्जुन गोतामे, सन्तोषी केसी, सुमित्रा कार्की, भागवती थापा, लेखा समिति संयोजक सुनिता तिमल्सिना, लेखा समिति सदस्यद्वय पंकजकुमार झा र विकास चौधरी, व्यवस्थापक रवीन विष्ट, ऋण व्यवस्थापक अनिल गौतम, लेखापाल सुनिता सिंह लगायतको बैंक खाता रोक्का गर्न विभागले राष्ट्र बैंकलाई पत्राचार गरेको छ । विभागले गरेको पत्राचारका आधारमा विभिन्न बैंकमा रहेको उनीहरुको बैंक खाता रोक्का हुने उपाध्यायले बताए ।

यस्तै सहकारीको कुलेश्वरमा रहेको केन्द्रीय कार्यालय भवन तथा जग्गा, टेकुमा रहेको सेवा केन्द्र, पोखरामा रहेको सेवा केन्द्र, नारायणगढमा रहको सेवा केन्द्रहरुलाई सञ्चालन गर्न रोक लगाउँदै सम्पूर्ण सम्पत्ति विभागको अनुमति विना चलाउन नपाइने गरी सुरक्षा प्रदान गर्न पत्राचार गरेको उपाध्यायले बताए ।

सहकारीको कुलेश्वरमै रहेको मार्ट, तथा दुग्ध प्रशोधन केन्द्र, हेटौंडामा गोदाम र काभ्रेको पातलेखेतमा गाईफार्म समेत रहेको छ । सहकारीको अध्यक्ष गौतम चीनबाट विभिन कृषि औजार र मेसिनरी ल्याएर व्यापार गर्दै आएका थिए । उक्त व्यवसायको गोदाम समेत कुलेश्वरस्थित भवनमा नै रहेको छ ।

सीआईबी र राष्ट्र बैंकमा विभागले पत्राचार गरेपछि त्यसपछिको थप विवरण भने प्राप्त नभएको सहकारी विभागले बताएको छ । विभागले सहकारीको सम्पत्ति रोक्का राख्न सीआईबीलाई पत्राचार गरेपनि त्यसअघि नै सहकारीको केन्द्रीय कार्यालय रहेको भवन एभरेष्ट बैंकले सिल गरेको छ । गत बिहीबार नै सहकारीका बचतकर्ताले सहकारी कार्यालय घेराउ गरेपछि बैंकले भवन सिल गरेको हो ।

‘उजुरी आउने क्रम जारी छ, हामीले प्रारम्भिक कदम चालिसकेको छौं, अहिलेसम्म सहकारीको व्यवस्थापक कर्मचारी र सञ्चालक विभागको सम्पर्कमा आएका छैनन्,’ उपाध्याय भन्छन्, ‘११४५ जनाबाट करिब डेढ अर्ब ठगी भएको उजुरी विभागमा दर्ता भएको छ ।’ थप कारवाहीको प्रक्रिया चाल्न विभाग तयार रहेको उनले बताए ।

सहकारीलाई समस्याग्रस्त घोषाण गर्ने अथवा सहकारीकै अन्य सेयरधनीले सञ्चालन गर्ने भन्ने विषयमा थप छलफलपछि निर्णय हुने उनले बताए । उजुरी दिएकामध्ये एउटै परिवारको ७ करोड रुपैयाँसम्म सहकारीमा बचत रहेको पाइएको विभागले जनाएको छ ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?