+
+

सप्तकोशी बाढी प्रभावितका लागि सरकारले माग्यो राहत सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते ७:४३

१९ साउन, काठमाडौं । सप्तकोशीको बाढीबाट प्रभावित परिवारलाई राहत तथा व्यवस्थापनका लागि सरकारले सरकारी, गैरसरकारी र व्यवसायीहरूसँग सहयोग मागेको छ ।

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईका अनुसार प्राप्त राहत एकद्वार प्रणालीबाट संकलन गर्ने र एकद्वारबाटै वितरण गरिनेछ ।

प्राधिकरणले जारी गरेको प्रेस नोटमा लेखिएको छ, ‘उद्धार गरिएका नागरिकहरूको व्यवस्थापनका लागि टेन्ट तथा अन्य बन्दोबस्तीका सामान पठाउने क्रम जारी छ । राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्था र व्यवसायीलाई समेत सहयोगका लागि आह्वान गरिसकिएको छ ।’

संकलन गरिएका राहत उदयपुर र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी वा उनले तोकेको प्रतिनिधि तथा उदयपुरको बेलका र सुनसरीको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुखको संयोजनमा वितरण गरिने प्राधिकरणले जनाएको छ ।

सप्तकोशीको बाढी बुधबार बिहान करिब ४ बजेतिर उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ को डुम्रिबोटको बाँध भत्काउँदै बस्तीमा पसेको थियो । सो बाढीबाट उदयपुर र सुनसरीका २ हजार ३ सय घरधुरी प्रभावित भएको प्राधिकरणले जनाएको छ । बाढीबाट मानवीय क्षति भने भएको छैन । तर धान, मकै लगायतका खेतीबालीमा क्षति पुगेको छ ।

हालसम्म कति राहत संकलन भयो ?

प्राधिकरणका अनुसार नेपाल रेडक्रस सोसाइटीले १०० थान त्रिपाल, १ थान रबरबोट, ६ थान हेलमेट उपलब्ध गराएको छ । रेडक्रसले खाद्यान्न खरिदमा ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

यसैगरी बेलायत सरकार र केयर नेपालले विस्थापितहरुलाई खाद्यान्न खरिद गर्न ६ लाख रुपैयाँ तथा सरसफाइमा सामान, स्यानिटरी प्याड र आधारभूत सेल्टरका सामग्रीहरु खरिदका लागि ११ लाख रुपैयाँ राष्ट्रिय कृषक समूह महासंघमार्फत् उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

बुधबार बाढी बस्तीमा पसे लगत्तै गृहमन्त्री बालकृष्ण खाँणले प्रभावित नागरिकको स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।

आश्रयस्थल बनाउने निर्णय

बाढी प्रभावित २ हजार ३ सयभन्दा बढी घरधुरीलाई राख्न विभिन्न स्थानमा आश्रयस्थल बनाइने भएको छ । जिल्ला विपद व्यवस्थापन समितिको बैठकले वेलका नगरपालिका वडा नं. ३ का बुधबारे, जणना शुक्रबारे, बानडाँडा, रामनगर, नारायणपुर, शिवालय मन्दिर, लालभित्त र भागलपुरमा ८ सय घर परिवारलाई राख्न आश्रयस्थल बनाउने निर्णय गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराइका अनुसार वेलका नगरपालिका वडा नं. ९ को धौरीमा तथा वडा नं. ८ का एकता, चिलिया र दूर्गा मन्दिर टोलमा ५-५ सय घर परिवारका लागि आश्रयस्थल बनाइने छ ।

आवश्यकता अनुसार वडा नं. १ का पुरन्दह र गलफडिया आधारभूत मावि, वडा नं. २ का रेडक्रस भवन र जनता मावि, वडा नम्बर ८ को डुडखोला सामुदायिक भवन तथा वडा नं. ९ र ३ का खसीबोका संकलन केन्द्र, खानेपाली, क्याम्पस, मचुवा बजार र आदिवासी जनजाती भवनमा पनि आश्रयस्थलको रुपमा प्रयोग गरिने छ ।

बाँध मर्मत थालियो

बुधबार बिहान करिब ४ बजेतिर सप्तकोशी नदीको भंगालो दक्षिणपश्चिम क्षेत्रको वस्तीमा पसेको थियो । बाढीबाट प्रभावित करिब एक हजार परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

बाढीले भत्काएको बाँध पनि मर्मत गर्ने काम भइरहेको प्राधिकरणका प्रवक्ता भट्टराईले बताए ।

राहत वितरण तथा व्यवस्थापनको विषयमा छलफल गर्न बुधबार बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीको संयोजकत्वमा तीनै तहका सरकारका प्रतिनिधि, सुरक्षा निकाय र सरोकारवालाको बैठक बसेको थियो । बैठकले बेलका र बराहक्षेत्र नगरपालिकाका नगरप्रमुखको संयोजनकत्वमा रेडक्रस सोसाइटी, वडाअध्यक्ष लगायत आवश्यकता अनुसार पदाधिकारी सहभागी हुने गरी खोज, उद्धार, पुनर्स्थापना र विपद व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?