
५ असोज, काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोध र समर्थनमा सडक प्रदर्शन सुरु भएको छ ।
सत्तारुढ गठबन्धन दलका कार्यकर्ता राष्ट्रपतिको कदमको विरोधमा सडकमा आएका छन् भने नेकपा एमालेका कार्यकर्ता समर्थनमा सडकमा उत्रिएका छन् ।
राष्ट्रपति भण्डारीको कदमको विरोधमा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको एउटा समूहले काठमाडौंमा प्रदर्शन गर्यो । त्यस्तै जनता समाजवादी पार्टीको विद्यार्थी र युवा संगठनले वीरगञ्जमा प्रदर्शन र राष्ट्रपतिविरुद्ध नाराबाजी गरेको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरमा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीले छुट्टाछुट्टै प्रदर्शन गरेका छन् ।
लोसपाको युवा संगठनले पिडारीचोकमा एक घण्टा चक्काजाम गर्यो भने जसपा र तमलोपाका कार्यकर्ताले राष्ट्रपति भण्डारीको पुत्ला नै जलाएका थिए ।
राष्ट्रपतिको कदमको विषयमा सत्तारुढ गठबन्धनले विज्ञप्ति जारी गरेर विरोध गरेको छ । नेकपा एमालेका शीर्ष नेताहरु मौन छन् । तर एमालेको भ्रातृ संगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघका कार्यकर्ताले राष्ट्रपतिको तस्वीर छातीमा टाँसेर काठमाडौंमा प्रदर्शन गरे ।
युवा संघले बानेश्वर–माइतीघर सडक खण्डमा गरेको प्रदर्शनमा पोलिटब्यूरो सदस्य महेश बस्नेतसहितका नेताहरु पनि सहभागी भएका थिए ।
प्रतिक्रिया 4