
काठमाडौं । हलिउड अभिनेता ड्वेन जोन्सन आगामी अमेरिकी राष्ट्रपतिय निर्वाचनमा उम्मेदवार बन्ने योजनाबाट पछि हटेका छन् । अमेरिकी टिभी सीबीएससँग भएको विशेष अन्तर्वार्तामार्फत उनले यस्तो जानकारी दिए ।
यसअघि राष्ट्रपतिय चुनावमा उम्मेदवार बन्ने योजना उनी आफैले घोषणा गरेका थिए ।
‘यो कुरा अब टेबुलबाट बाहिर छ’ राष्ट्रपतिय चुनावबारे सोधिएको जिज्ञासामा उनले भने, ‘यसका लागि प्लान बी चाहिन्छ । म हाम्रो देश र सबै नागरिकलाई माया गर्छु । मलाई पनि बाबा हुन मन लाग्छ । मेरो लागि सबैभन्दा महत्वपूर्ण कुरा ड्याडी हुनु हो । यतिबेलाको मेरो समय छोरीका लागि हुनेछ ।’
उनले अघि भने, ‘छोरी हुर्कने र धेरै कुरा सिक्ने समयमा म धेरै वर्ष उनीबाट टाढा भएँ अनि अनुपस्थित पनि । तर, राष्ट्रपति पदले के गर्छ ? यसकारण मेरो पहिलो प्राथमिकता नै छोरीको लागि हो ।’
सन् २०१७ मा भेराइटी म्यागजिनसँगको अन्तर्वार्तामा आफू राष्ट्रपतिय चुनाव लड्नेबारे शतप्रतिशत गम्भीर भएको उनले बताएका थिए । गतवर्ष केही राजनीतिज्ञसँग भेटेर चुनावबारे अध्ययन अनुसन्धान गरेको समेत उनले बताएका थिए ।
‘आजको दिनसम्म मलाई थाहा नभएको कुरा भनेकै राजनीति हो । मलाई पहिलो कुरा त नीतिबारे थाहा नै छैन । म देशलाई गहिरोरुपमा प्रेम गर्छु । म रातो रगत बगाउने हरेक अमेरिकीलाई ख्याल गर्छु । कुनै भ्रम छैन । मसँग सभ्य नेतृत्वमा हुनुपर्ने गुणहरु हुनसक्छ । तर, यसले मलाई राष्ट्रपतिको उत्कृष्ट उम्मेदवार बनाउँदैन । आज म त्यहीँ छु’ उनले भने ।
अभिनेता जोन्सन यतिबेला आफू अभिनित डीसी सुपरहिरो फिल्म ‘ब्ल्याक आडम’को प्रेस टुरमा व्यस्त छन् । यो फिल्म अक्टोबर २१ मा नेपालसहित विश्वभर प्रदर्शन तयारीमा छ ।
नोभेम्बर ८ मा अमेरिकामा राष्ट्रपतिको लागि मध्यावधी चुनाव हुँदैछ । यो चुनावमा वर्तमान राष्ट्रपति जो बाइडेनसँग अन्य उम्मेदवारहरु भिड्नेछन् ।
प्रतिक्रिया 4