 
																			३० कात्तिक, बैतडी । बैतडी प्रदेशसभा १ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वीरबहादुर विष्ट र नेकपा एमालेका सुरेन्द्रबहादुर पालसहित ६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
कांग्रेस उम्मेदवार विष्टलाई एमालेका पालले मात्र होइन, आफ्नै सहकर्मी तथा कांग्रेस नेता हरिमोहन भण्डारीले चुनौती थपेका छन् ।
टिकटको दाबेदार रहे पनि अन्तिममा टिकट नपाएपछि भण्डारी स्वतन्त्र उम्मेदवार बनेर चुनावी मैदानमा छन् । पालिकास्तरसम्म राम्रै छाप राख्दै आएका नेता कार्यकर्ताहरु भण्डारीको पक्षमा उभिएपछि गठबन्धन र विष्टलाई अप्ठ्यारो भएको हो ।
नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि एवं दलित संघ बैतडीका अध्यक्ष रमेश कोली, पाटन नगरपालिकाका निवर्तमान उपप्रमुख सरस्वती कोली, पाटन नगरपालिकाका नगर सभापति मानबहादुर ऐर, सिगास गाउँपालिकाका उपसभापति, धनबहादुर साउद लगायतका नेता कार्यकर्ताहरु भण्डारीको पक्षमा छन् ।
यो प्रदेश सभा क्षेत्रमा पर्ने पाँच वटै पालिकाका पार्टी सभापति र मातहतका वडा सभापति आफ्नो पक्षमा रहँदारहँदै पार्टीले टिकट नदिएको भन्दै भण्डारीले बागी उम्मेदवारी दिएका थिए ।
कार्यकर्ताको भावना विपरीत पहुँचकै आधारमा टिकट दिएकाले आफू उठ्नु परेको भण्डारी बताउँछन् । ‘यस क्षेत्रका सबै पालिका सभापति र ३६ वटै वडा सभापतिको हस्ताक्षरसहितको सहमतिमा उम्मेदवार सिफारिस भएको नेता हुँ,’ उनले भने, ‘पार्टीले माथिबाट टिकट मलाई दिएन, त्यसैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ।’
आफ्नो जीत सुनिश्चित रहेको समेत भण्डारीको दाबी छ । ‘पालिका र वडा तहका अधिकांश नेता कार्यकर्ता मेरो पक्षमा छन्, मेरो जित सुनिश्चित हो,’ उनले भने ।
धेरै कार्यकर्ताहरु पार्टीले कारबाही गर्ने डरले खुलेर आउन नसकेको भए पनि उनीहरुले भित्र भित्रै सहयोग गरिरहेको दावी भण्डारीको छ ।
बागी उमेदवारले आफूहरुलाई कुनै फरक नपर्ने र आफ्नो जित निश्चित रहेको कांग्रेस उम्मेदवार विष्टले बताए । ‘आफूले टिकट पाउँदा ठिक र अरुले पाउादा बेठिक भन्ने हुँदैन,’ उनले भने, ‘सबै कार्यकर्ताको पार्टीसँग भविष्य जोडिएको छ, त्यसैले उनीहरुले बागीलाई कुनै सहयोग गर्दैनन् ।’ बागी उम्मेदवार दिनेसहित उनका पक्षमा उभिएकाहरुलाई करबाही समेत भइरहेको उनले बताए ।
सत्ता गठबन्धनकै अर्को दल नेकपा एकीकृत समाजवादीले पनि यो प्रदेश सभामा आफ्नै नेता नरेन्द्र विष्टलाई उम्मेदवार बनाएको छ ।
आफूहरुके स्थिति बलियो हुँदा हुँदै पनि गठबन्धनले कांग्रेसलाई सिट दिएकाले मित्रवत प्रतिस्पर्धाको आधारमा आफू उम्मेदवार भएको विष्टले बताए । उनले प्रतिनिधि सभामा भने गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका नरेन्द्र कुँवर विजयसुन्दरलाई नै समर्थन रहेको पनि बताए ।
यो क्षेत्रमा कांग्रेसकै बागी र एकीकृत समाजवादीका पनि छुट्टै उम्मेदवार रहेपछि नेकपा एमाले भने उत्साहित छ । गठबन्धनका दलको भोट ३ तिर बाँडिने भएकाले यसको फाइदा आफूहरलाई हुने एमाले बैतडी जिल्ला उपसचिव लोकेन्द्र भण्डारीले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4