+

फिफा वरीयतामा नेपाल यथावत, विश्व विजेता अर्जेन्टिना दोस्रोमा

२०७९ पुष  ७ गते १६:१६ २०७९ पुष ७ गते १६:१६
फिफा वरीयतामा नेपाल यथावत, विश्व विजेता अर्जेन्टिना दोस्रोमा

७ पुस, काठमाडौं । विश्वकप विजेता अर्जेन्टिना विश्व फुटबल महासंघ (फिफा)को विश्व वरीयतामा दोस्रो स्थानमा उक्लिएको छ ।

विश्वकप सुरु हुनुअघि तेस्रो स्थानमा रहेको अर्जेन्टिनाले एक स्थान सुधार गरेको हो । क्वाटरफाइनलमा पराजित रहेको ब्राजिल वरीयताको शीर्ष स्थानमा यथावत छ ।

विश्वकप फाइनलिष्ट फ्रान्स एक स्थान सुधार गरी तेस्रो स्थानमा उक्लिएको छ भने यसअघि दोस्रो स्थानमा रहेको बेल्जियम चौथो स्थानमा झरेको छ । बेल्जियम विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो ।

आश्चर्यजनक नतिजा निकाल्दै विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्को वरीयताको ११औं स्थानमा पुगेको छ । विश्वकपमा बेल्जियम, स्पेन र पोर्चुगलजस्ता टिमलाई पराजित गरेको मोरक्कोले वरीयतामा ११ स्थान सुधार गरेको हो ।

विश्व वरीयताको पाँचौं स्थानमा इंग्ल्याण्ड यथावत रहँदा दुई स्थान सुधार गरी नेदरल्याड्स छैटौं र पाँच स्थान सुधार गरी क्रोएसिया सातौं स्थानमा पुगेको छ । इटली दुई स्थान खस्केर आठौं नम्बरमा पुगेको छ । नवौं स्थानको पोचुर्गल यथावत रहँदा तीन स्थान तल झरेको स्पेन वरीयताको दशौं नम्बरमा छ ।

यसैगरी नेपाल फिफा वरीयताको १७५औं स्थानमा यथावत छ । दक्षिण एसियाली टिममध्ये भारत सबैभन्दा माथि १०६ स्थानमा छ ।

फिफा वरीयतामा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय