+
+

दैजी–छेला औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते २०:४६

८ फागुन, धनगढी । कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय स्थापना गरिएको छ । वेदकोट नगरपालिका–२ मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सम्पर्क कार्यालय स्थापना गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सोमबार कार्यालयको उद्घाटन गरेका छन् । उद्घाटनपछि भण्डारीले सुदूरपश्चिमबाट औद्योगिक विकासको थालनी भएको दाबी गरे । औद्योगिक क्षेत्रको विकास विना समृद्धिको यात्रा अगाडि बढ्न नसक्ने दाबी गर्दै भण्डारीले दैजी–छेला औद्योगिक क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कार्यालय स्थापना गरिएको उल्लेख गरे ।

‘अब हामी कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र र लुम्बिनीको नौवस्तामा औद्योगिक क्षेत्र बनाउने यात्रामा अघि बढिसकेका छौँ । सुदूरपश्चिमबाट सुरु भएको औद्योगिक क्षेत्र विकास पूर्वी नेपालसम्म विस्तार हुनेछ,’ भण्डारीले भने । कञ्चनपुरकै दोधाराचाँदनीमा सुक्खा बन्दरगाह तीन वर्षभित्र निर्माण गर्ने गरी काम अघि बढेको उनको भनाइ छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १० फागुन २०७७ मा दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए । १ चैत २०७२ मा मन्त्रिपरिषद् बैठकले दैजीमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको कार्यकालमा घोषणा गरिएको औद्योगिक क्षेत्रको २६ वर्षपछि शिलान्यास गरिएको थियो भने शिलान्यास गरिएको दुई वर्षपछि कार्यालय स्थापना गरिएको छ ।

औद्योगिक क्षेत्र निर्माण गर्न करीब २५ हजार रुख कटान गर्नुपर्ने वन मन्त्रालयले जनाएको छ । अहिले ती रुखमा टाँचा लगाउने काम अघि बढ्नुबाहेक अरु केही काम भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?