
१७ चैत, काठमाडौं । उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा महासंघ गण्डकी प्रदेशले वरिष्ठ उपाध्यक्षका प्रत्यासी अञ्जन श्रेष्ठलाई सघाउने भएको छ ।
शनिबार पोखरामा बसेको प्रदेश समितिको बैठकले वरिष्ठ उपाध्यक्ष उमेदवार श्रेष्ठसहित प्रदेशबाट कार्यसमितिमा उम्मेदवारी दिने सम्पूर्ण उम्मेदवारलाई सघाउने सर्वसम्मत निर्णय गरेको हो ।
पोखरा उद्योग बाणिज्य संघको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठलाई प्रदेशबाट सर्वसम्मतरुपमा जिताउने निर्णय भएको प्रदेश महासंघले जनाएको छ ।
महासंघका अध्यक्ष अमृत भट्टचनको अध्यक्षतमा बसेको पहिलो बैठकबाट उक्त निर्णय गरेको हो । बैठकमा गण्डकी प्रदेश समितिका सम्पूर्ण सदस्यहरु, पोखरा उद्योग बाणिज्य संघका साथै लुम्बिनी प्रदेश र बागमती प्रदेशका केहि जिल्ला नगरका अध्यक्षहरुको सहभागिता थियो ।
महासंघमा चैत २८ र २९ गते आयोजना हुने ५७ औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गर्दैछ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष चयन हुन्छन् । विधानअनुसार २९ चैतमा हालका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल स्वत अध्यक्ष हुँदैछन् ।
यो साधारणसभाले चयन गर्ने वरिष्ठ उपाध्यक्ष स्वत अर्को कार्यकालका लागि अध्यक्ष चुनिले भएकाले वरिष्ठ उपाध्यक्ष पदका लागि प्रतिस्पर्धा तिब्र छ । महासंघमा वरिष्ठ उपाध्यक्ष पदका लागि अञ्जन श्रेष्ठसहित पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ र हालका उपाध्यक्ष रामचन्द्र सांघाई प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया 4