
२३ चैत, चितवन।गैंडाकोटमा स्थापित भएको गैंडाकोट बचाऊँ अभियान संघर्ष समितिले भरतपुरस्थित नारायणी नदी व्यवस्थापन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रमा नारायणी नदीमाथिको भागमा हाल नारायणगढतर्फ एक तर्फी रुपमा बनाउन लागिएको तटबन्ध निर्माणको काम तत्काल रोक्न माग गर्दै त्यसका लागि २४ घण्टे अल्टिमेटम दिइएको छ । त्यसो नभएमा संघर्षका कार्यक्रम सुरू गर्ने चेतावनी समेत संघर्ष समितिले दिएको छ ।
समितिका संयोजक गोकुल सापकोटाले व्यवस्थापन कार्यालयका कर्मचारलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै आउँदो बर्षायाममै गैंडाकोट तर्फ ठुलो डुबान तथा धनजनको क्षति हुने गरी एकतर्फी तटबन्ध बनाउन लागिएकाले त्यसलाई नरोकिए सिंगो गैंडाकोट वासीहरु आन्दोलित हुने चेतावनी दिए ।
भरतपुर महानगरले सी बिच मोडलमा विकास गर्ने भनिएको नदी किनारमा हाल झण्डै १७ करोडको लागतमा पुलको केही माथिपट्टि ६४० मिटर लम्बाइको किनारमा धमाधम तटबन्ध निर्माणको काम भइरहेको छ ।
कंक्रिटको त्यस्तो संरचनाले नदीको बहावलाई गैंडाकोट तर्फ फर्काउने र उता ठुलो क्षति हुने देखिन्छ । खास गरी तल्लो तटमा रहेको बोटे टोल सबैभन्दा बढी जोखिममा छ ।
गैंडाकोट क्षेत्रमा रहेका सबै राजनीतिक दलहरुका प्रतिनिधि सम्मिलित संघर्ष समितिको बैठकले नारायणगढतर्फको तटबन्ध निर्माण कार्य तत्काल रोकिनु पर्ने र यो बर्खायामपछि बृहत् अध्ययन र छलफलपछि दुवै पक्षको सहमतिमा मात्रै त्यस्तो निर्माण कार्य हुनुपर्नेमा जोड दिएको छ ।
प्रतिक्रिया 4