५ वैशाख, काठमाडौं । हङकङका बाबर हायत मंगलबारदेखि काठमाडौंमा सुरु भएको एसीसी प्रिमियर कप क्रिकेटमा शतक हान्ने पहिलो खेलाडी बनेका छन् ।
समूह बी अन्तर्गत मुलपानी क्रिकेट मैदानमा भएको खेलमा बाबरको शतक मदतमा हङकङले सिंगापुरमाथि ८ विकेटको शानदार जित निकालेको छ ।
सिंगापुरले दिएको १७५ रनको लक्ष्य बाबरले अविजित १०८ रन प्रहार गरेपछि हङकङले ३३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
बाबरले ९४ बल खेल्दा १० चौका र ६ छक्का प्रहार गरे ।
ओपनर अंशुमन रथ व्यक्तिगत ६ रनमा आउट भएपछि क्रिजमा पुगेका बाबरले कप्तान तथा ओपनर निजाकत खानसँग १३२ रनको साझेदारी गरे ।
८९ बल खेलेका निजाकातले ३ चौका र १ छक्का प्रहार गरी ५१ रन बनाए । किन्चित शाह १ रनमा अविजित रहे ।
सिंगापुरका रमेश कालिमुथु र अरित्रा दत्तले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२.१ ओभरमा सबै विकेट गुमाएर १७४ रन बनाएको थियो ।
सिंगापुरका कप्तान अरित्रा दत्तले सर्वाधिक ४९ रन बनाए । उनले ५७ बलमा ९ चौका प्रहार गरे । आर्यन मोदीले २१ र रमेश कालिमुथुले १८ रन बनाए ।
सिंगापुरलाई अलआउट गर्न हङकङका एहसान खानले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभरमा ३ मेडन राख्दै २४ रन मात्र खर्चिए ।
यासिम मुर्ताजाले १० ओभरमा १ मेडन राख्दै २५ रन खर्चेर ३ विकेट लिए । आयुश शुक्ला, बइजाज खान र मोहम्मद गाजानफरले समान १ विकेट लिए ।
प्रतिक्रिया 4