काठमाडौं । नेपालीमा एउटा उखान छ, ‘विष बिनाको सर्प सर्प हुँदैन र इख बिनाको मानिस मानिस हुँदैन ।’ तर यसो भन्दैमा इख हरेक समय सकारात्मक मात्रै हुन्छ भन्ने हुँदैन । ठूलो इख राख्दा बदलाको भावना आउँछ र अप्रिय घटना समेत हुन सक्छ ।
कुनै घटना हुँदा, कसैले आफूलाई होच्याउँदा, कामका बेला तुच्छ गाली गर्दा मानिसमा बदलाको भावना आउन सक्छ । बदलाको भावनाले मनमा नकारात्मक कुरा मात्रै खेलिरहन्छ । विश्वमा हुने २० प्रतिशत हत्याका घटनाको पछाडि बदलाको भावना हुने गरेको अनुसन्धानहरुले समेत देखाएका छन् ।
बदलाको भावना आउने अवस्था
मानिसमा नकारात्मक भावना हावी हुँदै गएपछि बदलाको भावना जागृत हुने पद्मकन्या क्याम्पसको मनोविज्ञान विभागकी प्रमुख डा. कविता कँडेल बताउँछिन् ।
‘व्यक्तिमा सकारात्मक र नकारात्मक भावना हुन्छ । मनभित्र नकारात्मक सोच हाबी हुँदै व्यक्तिको उसको व्यवहारमा देखिन्छ र नकारात्मक प्रवृत्तिको रुपमा विकास हुन्छ,’ उनी भन्छिन्, ‘फलस्वरूप अरुप्रति इर्ष््या गर्ने, आफ्नो मनोबल कमजोर हुँदै सोच्न सक्ने शक्ति कम हुन्छ र स-साना कुरामा बदलाको भावना पनि उत्तिकै हुन्छ ।’
उनका अनुसार बदलाको भावना सिर्जना हुने अवस्था जुनसुकै उमेरमा हुनसक्छ । कहिले मदिरापानका कारण उब्झिएको विवादपछिको बदला, कसैले गालीगलौच गर्यो, त्यसको बदला । कहिले आफन्तजन वा साथीभाइबाट अपमानित अनुभव हुँदा त कहिले अपहेलित हुँदा व्यक्तिमा बदलाको भावना जाग्न सक्छ ।
स-साना कुरामा पनि बदलाको भावना आउनु वा आइराख्नु भनेको व्यक्ति किसिमको वातावरणमा हुर्किएको छ, त्यसमा पनि भर पर्छ । ‘यदि सानैदेखि समयमा नै राम्रो नराम्रो छुट्याउने बानी विकास हुँदै गएमा बदला लिने भावना विकास हुँदैन । तर बाल्यावस्थादेखि नै सकारात्मकभन्दा बढी नकारात्मक पक्षहरुको सामना गरिरहेका बालबालिकामा पछिसम्म पनि क्रोध र आक्रोशसँगै बदलाको भावना पनि आउने गर्छ,’ कँडेल भन्छिन् ।
मनोवैज्ञानिक कारण
डा. कँडेलका अनुसार मानव मस्तिष्कमा कुनै पनि समस्या आएमा लड्न तयार गर्ने साइक्लोजोकिल स्रोत हुन्छन् । त्यसको अभाव हुँदा व्यक्तिमा तुरुन्त बदलाको भावना आउँछ । यस्तोमा कसैप्रति नकारात्मक सोच छ वा त्यस व्यक्तिबाट आफूलाई असर परेको अनुभव भएमा मस्तिष्कलाई निर्देशित गर्ने रसायनको कमीले व्यक्तिमा प्रतिसोधको भावना ल्याउँछ ।
तर यसको साइक्लोजोकिल स्रोत बढी भएमा भने व्यक्ति अरुको प्रगतिमा रमाउँछ । उसले कसैले हानि गरेको छ भने केही क्षण आक्रोश पोख्न सक्छ, तर बदला लिन नसक्ने डा. कँडेल बताउँछिन् ।
बदलापछि शान्ति मिल्ने भ्रम
बदलाको आफूमाथि भएको क्षतिको पूर्ति हुने र मनमा शान्ति मिल्ने धेरैमा भ्रम रहेको डा. कँडेल बताउँछिन् ।
‘रिस उठेपछि बदला लिन खोज्नु कतिपय मानिसको स्वभाव हुन्छ । हामी धेरैलाई लाग्न सक्छ कसैले हामीमाथि आक्रमण गर्छ वा केही भन्छ भने त्यसमाथि तत्कालै आक्रमण गरिहालौं,’ उनी भन्छिन्, ‘जसकारण मानिस प्रत्याक्रमणमा उत्रिहाल्छ र तातो रिसले हिंस्रक घटना निम्त्याउन सक्छ ।’
बदला लिएपछि कतिपयलाई क्षणिक सन्तुष्टि मिलेको महसुस हुन सक्छ । तर त्यसको दीर्घकालीन प्रभाव राम्रो हुँदैन ।
‘बदलाकै कारण कुटपिट, हत्या, बलात्कार, लुटपाट जस्ता अप्रिय घटना हुन्छन् । जसले न त बदला लिनेलाई फाइदा गर्छ न त भोग्नेलाई,’ कँडेल भन्छिन्, ‘तातो रिसले धेरैको जिन्दगी नै बर्बाद बन्न सक्छ ।’
सकारात्मक बदलाको भावना
कसैबाट अपमानजनक व्यवहार हुँदा आफूमा भएको कमी कमजोरी सुधार गरेर अघि बढ्ने व्यक्तिले निकै प्रगति गरिरहेका हुन्छन् । यस्तो अवस्थामा बदलाले हानि गर्नुको साटो आफ्नै व्यक्तित्व विकास गर्न सहयोग पुर्याउने डा. कँडेल बताउँछिन् ।
कसैसँग बदला लिनु भन्दा पनि गल्तीमा माफी दिंदा आफूलाई शान्ति मिल्ने उनी बताउँछिन् । डा. कँडेल भन्छिन्, ‘यसो गर्दा शत्रु ठानिएका व्यक्ति पनि मित्रवत् व्यवहार गर्छन् ।’
बदलाले निम्त्याउने तनाव
विश्वप्रसिद्ध साहित्यकार विलियम शेक्सपियरले भनेका थिए, ‘आफ्नो शत्रुको लागि घृणाको भट्टीलाई तातो बनाउँदा बनाउँदै तपाईं आफैं जल्नुहुनेछ ।’ यसको अर्थ जब शत्रुलाई घृणा गरिन्छ र प्रतिशोधको भावनाले उनीहरूलाई आफूमाथि प्रभुत्व जमाउने शक्ति दिन्छौं । हाम्रो निद्रा, स्वास्थ्य, शान्ति, भोक, रक्तचाप र हाम्रो खुसी नै प्रतिशोधको भावनाले लैजान सक्छ । घृणाले शत्रुलाई कुनै हानि गर्दैन तर आफ्नो भने दिनचर्यामा नै उथलपुथल ल्याउँछ ।
डा. कँडेलका अनुसार कुनै व्यक्तिले व्यक्तिगत स्वार्थका लागि फाइदा उठाउन खोज्छ भने तुरुन्तै उनीहरुबाट आफूलाई टाढा राख्नुपर्छ । तर बदलाको भावना लिइयो भने त्यो भन्दा बढी आफैंलाई हानि हुने सम्भावना हुन्छ ।
‘बदला लिने कोसिसले स्वास्थ्य खराब हुन सक्छ । उच्च रक्तचाप भएका व्यक्तिमा मुख्य लक्षण नै रिस, क्रोध र चिन्ता हो । जुन बदला पुरा नहुँदा वा गर्न नसक्दा यी लक्षण स्थायी हुन जान्छन्,’ उनी भन्छिन्, ‘कालान्तारमा गएर हृदयघातसम्म हुने जोखिम आइलाग्न सक्छ ।’
बदलाको भावना पैदा हुने बित्तिकै व्यक्तिको भावना असन्तुलन हुन्छ, जसले उनीहरु मानसिक रुपमा अस्वस्थ हुन्छन् । बदलाले जानाजान वा अञ्जानमा अपराधको बाटोतर्फ लैजान सक्ने कँडेल बताउँछिन् ।
बदलाकाको भावना आउन नदिन के गर्ने ?
बदलाको भावना नियन्त्रण गर्न आफूमै भर पर्छ । यसका लागि कँडेलका तीन सुझाव छन् ।
१. कसैप्रति रिस, आवेग आएमा त्यसलाई प्रकट गर्न आफूलाई अन्य काममा व्यस्त राख्न सकिन्छ ।
२. ध्यान, योगजस्ता अभ्यासमा लाग्नु राम्रो विकल्प हुन सक्छ । यसले शारीरिकदेखि मानसिक रुपमा व्यक्तिलाई स्वस्थ राख्छ । जसले बदलाको भावना हत्पत्त आउन दिंदैन ।
३. सिर्जनशील काममा व्यस्त गराउने, पारिवारिक जमघट वा घुमफिर गर्ने जस्ता गतिविधिले पनि व्यक्तिलाई धैर्यवान बनाउँछ । जसले कोहीमाथि रिस, राग हुँदैन । र, मनमा अनेक कुरा खेलाउने समय हुँदैन ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4